प्रस, निजगढ, ६ कात्तिक/

पूर्व–पश्चिम राजमार्गमा दैनिक गुड्ने लामो तथा छोटो दूरीका सवारीसाधनहरूको दुर्घटना बढ्न थालेपछि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया, बाराको सक्रियतामा सवारीसाधनहरूका चालकको स्वास्थ्य परीक्षण र सवारीसाधनको पनि चेकजाँच शनिवारदेखि शुरू गरिएको छ ।

चाडपर्वका बेलामा सडकमा सवारीसाधनहरूको चाप बढ्ने हुँदा मर्मतसम्भार नगरी सञ्चालनमा ल्याउने र अनिद्रा जस्ता धपेडी र चालकहरूको स्वास्थ्यमा समस्या आउन सक्ने सम्भावना अधिक हुन जाँदा सवारीसाधनहरू दुर्घटना हुन सक्ने र जीउधनको समेत क्षति हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै २४ घण्टे राजमार्ग चेकजाँच शुरू गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाका ट्राफिक प्रहरी उपरीक्षक नान्तिराज गुरुङले बताए ।

राजमार्गको जीतपुरसिमरा उपमहा नगरपालिकास्थित अमलेखगंजमा चालकहरूको स्वास्थ्य परीक्षणका लागि नेपाल मेडिसिटी वयोधा हस्पिटल, वीरगंजको चिकित्सकसहितको टोली, नेपाल आँखा अस्पताल, औराहा, बारा र सवारीसाधनको चेकजाँचका लागि विवेक अटोमोबाइल्स प्रालि, बाराको मेकानिक्स टोलीको क्याम्प सडकमा नै खडा गरी चेकजाँच गरिएको थियो । २४ घण्टे चेकजाँचको अवधिमा दुई हजारभन्दा बढी साना र ठूला सवारीसाधनका चालकहरू र सवारीसाधनको चेकजाँच गर्ने मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय, पथलैयाले जनाएको छ ।

राजमार्गमा चालकको स्वास्थ्य परीक्षण र सवारीसाधनको पनि चेकजाँच कार्यको चालक र यात्रुहरूले सकारात्मकरूपमा लिएका छन् । यस्तो कार्यक्रम कम्तीमा पनि महीनामा एकपटक गर्नुपर्ने जसले गर्दा चालकहरूको स्वास्थ्य अवस्था र सवारीसाधनहरूको यान्त्रिक अवस्थाको प्रत्यक्ष जानकारी भइरहने बसचालक कृष्ण चौधरी र अर्का बसचालक फक्रुद्दीन अन्सारीले बताए ।

चालकहरूले मादक पदार्थ र अन्य लागूपदार्थ प्रयोग गरेर सवारीसाधन चलाउँदा प्रायः दुर्घटना हुने गरेको अर्का बसचालक नेत्रबहादुर बुढाथोकीले बताए । “ट्राफिक प्रहरीको यो स्वागतयोग्य कार्य हो । यसलाई निरन्तरता र कडाइका साथ चेकजाँच भइरहोस्,” बसमा सवार अधिकांश यात्रुले भने, “गन्तव्यमा केही बेर ढिलो पुगेर केही हुन्न । सुरक्षित त पुगिन्छ नि !”

चालक, सहचालकले यात्रुहरूलाई गर्नुपर्ने उचित व्यवहार र यात्रुहरूले पालना गर्नुपर्ने जानकारीहरू उल्लेख गरिएका स्टीकर सो कार्यक्रमका प्रमुख अतिथि एवं जीतपुरसिमरा उपमहा नगरपालिकाका प्रमुख राजन पौडेल र कार्यक्रमका विशिष्ट अतिथि बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले संयुक्तरूपमा सवारीसाधनमा टाँसेका थिए ।

यस कार्यले सवारीसाधन दुर्घटनामा कमी आउने आफूले अपेक्षा लिएको नगरप्रमुख पौडेलले
बताए ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका ट्राफिक प्रहरी उपरीक्षक नान्तीराज गुरुङ, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख होबिन्द्र बोगटीलगायत सहभागी थिए । सो चेकजाँचलाई प्रभावकारी बनाउन र चालक, सहचालक र यात्रुहरूलाई कार्यक्रमका बारेमा सहज ढङ्गले जानकारी दिन ट्राफिक प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले मातहतका ट्राफिक प्रहरीहरूलाई निर्देशन दिएका थिए ।

 “रातिको समयमा पनि चालकहरूको स्वास्थ्य परीक्षण र सवारीसाधनहरूको चेकजाँचको उचित व्यवस्थापन गरेका छौं । चालक र यात्रुहरूको गुनासो आउन नदिने गरी कार्यक्रमको व्यवस्थापन गरेका छौं,” प्रवक्ता भण्डारीले भने ।

दुई साताअघि सोही राजमार्गको अमलेखगंज तीन र चार नम्बर पुलको मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा घटनास्थलमा आठजना र उपचारको क्रममा १० जना गरी १८ जनाको ज्यान गएको थियो भने सातजना गम्भीर घाइते र २० जना सामान्य घाइते भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here