राधेश्याम पटेल, वीरगंज, २ कात्तिक/
सिमेन्ट उद्योग र फलाम उद्योगका लागि ४० अर्बको कच्चा पदार्थ आयात हुने वीरगंज नाकामा सरकारी पक्षले ध्यान दिएको छैन ।
डस्टी कार्गो आयातमा नेपाल सरकार गम्भीर नबन्दा कहिले कुन रूटबाट त कहिले कुनबाट डस्टी कार्गो आउने गरेकोले नेपाली व्यवसायीहरू हैरानीमा परेका छन् ।
बितेको असोज २१ गते भारतीय भन्सार पक्षले जारी गरेको विज्ञप्तिमा असोज ३० गतेदेखि डस्टी कार्गो रक्सौल रेलवे साइडिङबाट मितेरी पुल भएर वीरगंज भिœयाउन नपाइने निर्देशन थियो ।
कमिश्नर अफ पटना कस्टमले जारी गरेको सूचनामा पुरानो रूटको सट्टा रक्सौल रेलवे साइडिङबाट ७५० मिटर लम्बाइ र एक लेनको रक्सौलको आइसिपी सडक जोड्ने एप्रोच सडक हुँदै आइसिपी नाकाबाट डस्टी कार्गो भिœयाउन निर्देशन आएको थियो ।
त्यो पत्रले वीरगंजलगायत नेपालका आयातकर्ता हैरानीमा परेका थिए । नेपालको माथिल्लो सरकारी निकाय र भारतीय दूतावासमा समेत डेलिगेशन लिएर जाँदा यो वर्षको डिसेम्बरसम्म पुरानै रूटबाट डस्टी कार्गो ल्याउन थमौती भएको छ ।
तर यो निर्णयबाट नेपाली व्यवसायी धेरै खुशी छैनन् । उनीहरूले अल्पकालीनभन्दा दीर्घकालीन समस्या समाधानको लागि नेपाल सरकारसँग माग गरेका छन् । यदि त्यो विकल्पमा नेपाल सरकार गम्भीर बनेन भने डस्टी कार्गोको आयात प्रभावित हुने र आयातमा थप आर्थिक भार बढ्ने व्यवसायीहरूको चिन्ता छ । यसो भए देशमा महँगी पनि बढ्ने निश्चित छ ।
वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष माधव राजपालले सरकारले तीन विकल्पमा यथाशीघ्र काम गर्नु आवश्यक रहेको सुझाव दिए । पहिलो श्रीसिया सुक्खा बन्दरगाहले अधिग्रहण गरिरहेको ६२ बिघा जग्गाको मुआवजा चाँडै छिनोफानो गरी वीरगंजकै बन्दरगाहमा डस्टी कार्गो रेलमार्गबाट थुपार्न भौतिक पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनुपर्ने जरुरी रहेको उनले बताए ।
दोस्रो, रक्सौल रेलवे स्टेशनदेखि भारतीय आइसिपी यार्डसम्म रेलमार्ग विस्तार गरी डस्टी कार्गोको लागि यार्ड निर्माण गर्नुपर्छ । तेस्रो, रक्सौल रेलवे यार्डदेखि आइसिपी सडक जोड्ने ७५० मिटर लम्बाइको एप्रोच सडकलाई एक लेनको सट्टा चार लेनमा विस्तार गरी निर्माण गर्नुपर्ने उनको तर्क छ ।
एक लेनको सडक भएर हाललाई सवारीसाधन गुडाउन निकै समस्या छ । उक्त सडकमा हाटबजार पनि लाग्छ, स्कूल बस, टाँगा, रिक्सा पनि गुड्ने गर्छन् । रक्सौलबाट डस्टी कार्गो ढुवानी गर्न करीब ४१० वटा गाडी दैनिक ओहोरदोहोर गर्छन् । त्यस कारण उक्त सडकबाट मालसामान ढुवानी गरेर नेपाल भिœयाउन सकिंदैन । यी तीनवटै विकल्पमा सरकारले काम गर्न सक्दैन भने पुरानै रूट मितेरी पुलबाट नै लामो समयसम्म डस्टी कार्गो आयात गर्न पाओस् भनी भारतीय पक्षसँग पहल गर्न गर्नुपर्ने उनको भनाइ छ ।
वार्षिक ४० अर्बको कच्चा पदार्थ आयात
रक्सौल रेलवे साइडिङबाट भारतीय मालवाहक सवारीसाधनमा वार्षिक भ्याटबाहेक ४० अर्ब मूल्य बराबरभन्दा बढीको डस्टी कार्गो आयात हुने गरेको छ । वीउवासङ्घका उपाध्यक्ष राजपालले दिएको जानकारी अनुसार मासिक ३५ ¥याक अर्थात् वर्षमा १४ लाख ७० हजार टन डस्टी कार्गो वीरगंज नाकाबाट भित्रिने गरेको बताए ।
एक ¥याकमा करीब १७५ गाडी माल आउँछ । रक्सौलबाट ठूलो मात्रामा सबैभन्दा बढी कोइला, जिप्सम, स्लेग, आइरन ओर र साल्ट ट्रेडिड्ढो नूनसमेत आउने गरेको छ । ७० प्रतिशत कोइला र ३० प्रतिशत बाँकी कच्चा पदार्थ भित्रिने गरेको छ । नेपालका प्रायः सबै सिमेन्ट उद्योगका कोइला, जिप्सम, स्लेग यही नाकाबाट आउने गरेको छ भने वीरगंज कोरिडोरका फलाम उद्योगका आइरन ओरसमेत यही नाकाबाट आउने गरेको छ ।
कहाँबाट माल आउँदा कति ढुवानी खर्च पर्छ ?
रक्सौल रेलवे साइडिङबाट डस्टी कार्गो मितेरी पुलबाट भिœयाउँदा ढुवानी खर्च प्रतिटन करीब भारु चार सय पर्छ । एप्रोच सडक चार लेन गरी ल्याउँदा प्रतिटन करीब भारु ८५० पर्न जान्छ । किनभने बाटोको दूरी बढी छ ।
अर्कोतर्फ भारतीय रक्सौल आइसिपीमा रेलबाट माल झारेर आइसिपीको नाकाबाट र ड्राइपोर्टमा डस्टी यार्ड बनाएर ल्याउँदा प्रतिटन करीब रु ६०० पर्न जाने उनले बताए । किनभने यहाँ माल झारेर ल्याउँदा ग्राउन्ड चार्ज बढ्छ । जुन रक्सौल यार्डमा एउटा निश्चित समयमा माल उठाउँदा शुल्क कम लाग्छ ।