प्रस, वीरगंज, २९ असोज/
६७ औं प्रहरी दिवसको उपलक्ष्यमा शनिवार वीरगंजका मठमन्दिरहरूमा सफाइ गरिएको छ ।
प्रहरीले वीरगंज महानगरको वारुणयन्त्रको सहयोगमा बिर्तामाई, अलखियामठ, गहवामाई मन्दिरलगायतको सफाइ गरेको थियो ।
प्रस, ठोरी/
६७ औं प्रहरी दिवस २०७९ को उपलक्ष्यमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शनिवार पर्सा जिल्लाको विभिन्न पालिकाहरूमा प्रहरीले सरसफाइ कार्यक्रम गरेको छ ।
इलाका प्रहरी कार्यालय, ठोरीले वडा नं २ को टाउनप्लानस्थित वनशक्ति मन्दिर परिसरमा सरसफाइ गरेको कार्यालय प्रमुख प्रहरी निरीक्षक श्रीशङ्कर श्रेष्ठले बताए । प्रहरी, स्थानीय जनप्रतिनिधि र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरू र गाउँलेको सहभागितामा सो कार्यक्रम गरिएको उनले बताए ।
प्रमोद यादव, पचगावाँ/
पटेर्वासुगौली गाउँपालिकामा प्रहरी दिवसको उपलक्ष्यमा सरसफाइ गरिएको छ ।
इलाका प्रहरी कार्यालय, पटेर्वासुगौली र प्रहरी रङ्गपुरटाँडीको संयुक्त आयोजनामा पटेर्वासुगौली गापा–३ हनुमान मन्दिर, शिव मन्दिर र सार्वजनिक चौतरामा सरसफाइ गरिएको वडाध्यक्ष माधवराउत थारूले बताए । इलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीका प्रहरी निरीक्षक किशोर आचार्यले ६७ औं राष्ट्रिय प्रहरी दिवसको अवसरमा सरसफाइ एवं सामाजिक कार्य गरी शान्ति सुव्यवस्था कायम गर्न जन समुदायसँग सद्भाव कायम गर्न आग्रह गरे । उनले जनसमुदायको सहयोगमा शान्ति सुरक्षा कायम गर्न सहज हुने बताए ।
धमेन्द्र चौरसिया, पोखरिया/
इलाका प्रहरी कार्यालय, पोखरियाले ६७ औं प्रहरी दिवसको उपलक्ष्यमा पोखरियामा सरसफाइ गरेको छ ।
इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्षक आयुष जोशीको नेतृत्वमा पोखरियास्थित शिव मन्दिर, हनुमान मन्दिर, पोखरिया अस्पताललगायत सार्वजनिक स्थलमा सरसफाइ गरिएको थियो । कार्यक्रममा वडाध्यक्ष लक्ष्मणसाह कानू, नेपाल रेडक्रस सोसाइटी पोखरियाका सभापति भगवान कुर्मी, एमालेका नेता योगेन्द्र रौनियार, कृष्ण गुप्ता, रामनरेश कलवार, आफताब आलम, नन्दकिशोर यादवलगायत स्थानीय बासिन्दाको सहभागिता थियो ।