अमासरा, टर्की, २९ असोज/एएफपी
उद्धारकर्ताहरूले शनिवार उत्तरी टर्कीमा कोइलाको खाडलमा फसेका एक दर्जनभन्दा बढी खानी कामदारको उद्धार गरेका छन् । खानीमा मिथेन विस्फोटमा परी कम्तिमा २८ जनाको मृत्यु भएको थियो ।
“हाम्रा ५८ खानी कामदार सकुशल बाहिर निस्कन सफल भएका छन् भने १५ जना अझै फसिरहेको अनुमान छ । उनीहरूलाई बचाउने प्रयास गरिरहेका छौं”–आन्तरिकमन्त्री सुलेमान सोयलुले जानकारी दिएका छन् ।
सोइलुले यस अघि टर्कीको सबैभन्दा घातक औद्योगिक दुर्घटनामध्ये एक सो दुर्घटनामा करीब ११० कामदार काम गरिरहेका थिए ।
ऊर्जामन्त्री फातिह डोनमेजका अनुसार विस्फोटपछि एउटा सुरुङमा आगो लागेको थियो । विस्फोटबाट प्रभावित सुरुङहरू जमीनबाट करीब ३०० र ३५० मिटर तल रहेको अनुमान गरिएको छ ।
स्वास्थ्यमन्त्री फहरेटिन कोकाले यस अघि सकुशल बाहिर निकालिएका ११ जनाको अस्पतालमा उपचार भइरहेको ट्वीट गरेका थिए । केही कामदार विस्फोटपछि आफैं बाहिर निस्कन सफल भएका थिए भने केहीको उद्धार गरिएको थियो । घटनापछि टेलिभिजनमा हृदयविदारक तस्वीरहरू देखाइएका थिए जसले घटनालाई नजीकबाट नियाल्न सहयोग पुगेको थियो । रासस