प्रस, परवानीपुर, २८ असोज/
नेपाल आयात हुने डस्टी कार्गो रक्सौल रेलवे साइडिङबाट मितेरी पुल हुँदै वीरगंज भित्रिंदै गरेको डस्टी कार्गोलाई व्यवस्थितरूपमा वीरगंज भन्सार मातहतकै आइसिपी–अलौं नाका भएर भिœयाउन भारतीय पक्षले निर्देशन दिएको छ ।
कमिश्नर अफ कस्टम पटनाले असोज २१ गते जारी गरेको विज्ञप्ति अनुसार आइसिपी भएर नेपाल लैजान निर्देशन दिएको हो ।
यसअघि, विज्ञप्तिमा भदौ ३० गतेदेखि सो बाटो भएर डस्टी कार्गो लैजान प्रथम विज्ञप्ति जारी गरेको थियो । तर रक्सौल रेलवे यार्डदेखि सात सय मिटर पश्चिम आइसिपी एप्रोच सडकको निर्माण पूर्ण नभएको कारण देखाउँदै सो बाटो भएर मालवस्तु लैजान नसक्ने अवस्था नभएपछि एक महीनाको समयावधि बढाइएको थियो । एप्रोच र आइसिपी सडकबीचको पुल अहिले पनि पूर्णरूपमा निर्माण नभएको अवस्थामा भारतीय पक्षको निर्देशन थप संशोधन हुनुपर्ने वीरगंजका व्यवसायीहरूले बताएका छन् ।
वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष माधव राजपालका अनुसार भौतिक पूर्वाधारविना नै भारतीय पक्षले यस्तो निर्देशन दिनु दुःखद भएको बताए । उनले रक्सौल रेलवे यार्डबाट आइसिपी सडकसम्म आउने एप्रोच सडक एक लेनको भएको र बजार भएर निस्किने हुँदा सो बाटो भएर मालवस्तु ढुवानी गर्न निकै समस्या हुने चिन्ता व्यक्त गरे । साथै उनले रक्सौल रेलवे यार्डबाट पुरानै बाटो भएर मालवस्तु ढुवानी गर्न पाउनुपर्ने नेपाल र भारतका सरोकारवाला निकायसँग अपील गरेका छन् । यसै सन्दर्भमा वीरगंजका उद्योगी व्यवसायीहरूले बिहीवार वाणिज्य तथा आपूर्ति सचिव एवं भन्सार विभागका महानिर्देशकलाई भेटेर समस्याबारे अवगत गराएका छन् ।
माथिल्लो निकायले भारतीय दूतावासमार्फत यसबारेमा भारतीय विदेश मन्त्रालय र अन्य निकायसँग पहल गर्ने आश्वासन दिएको उनले जानकारी गराए ।
यदि रक्सौल यार्डबाट एप्रोच सडक हुँदै रक्सौल आइसिपी भएर वीरगंज आइसिपीमा गाडीहरू भित्रियो भने करीब १५ किलोमिटर दूरी बढ्ने र साबिकभन्दा आधा मात्र मालवस्तु ढुवानी हुने सम्भावना छ । साथै अहिले वीरगंजका नेपाली गाडीहरूले रक्सौलबाट कोइला, जिप्सन, फ्लायर्स, क्लिङ्कर ढुवानी गरेर कमाइरहेका छन् । तिनीहरूको पनि व्यापार खोसिने व्यवसायीहरूको चिन्ता छ ।
आइसिपीको बाटोबाट डस्टी कार्गो लैजाने निर्देशनमा संशोधन नभए व्यवसायीहरूले हल्दियालगायतका बन्दरगाहबाट सडकमार्ग हुँदै ती डस्टी कार्गोहरू ल्याउन बाध्य हुनेछन् । र यसमा भारतीय गाडीहरूले चर्को भाडा असुल्ने हुँदा नेपाली व्यवसायीहरूलाई थप आर्थिक भार पर्ने बुझिएको छ । अहिले रक्सौलबाट प्रतिटन भारु एक हजारको दरमा डस्टी कार्गो नेपाल ढुवानी हुन्छ भने पश्चिम बङ्गाल तथा अन्य राज्यबाट ट्रक, टिपरमा सडकमार्ग हुँदै वीरगंज ल्याउँदा करीब दोब्बरी ढुवानी भाडा बढ्ने हुँदा व्यवसायीहरू मर्कामा पर्ने व्यवसायीहरूको विश्लेषण छ ।
अहिले नेपालका लागि रक्सौलमा महीनामा ३५ देखि ४० ¥याक अर्थात् मासिक डेढ लाख मेट्रिक टन डस्टी कार्गो आउने गर्दछ ।