तेहरान, २२ असोज/सिन्ह्वा
इरानले रूसलाई हतियार नपठाएको स्पष्ट गरेको छ । इरानका विदेशमन्त्रीले सो कुरा बताएका हुन् ।
रूस–युक्रेन द्वन्द्वको सङ्कटका बेला इरानले रूसलाई हतियार सहयोग गरेको सूचना आएको थियो । सो सूचनाको खण्डन गर्दै इरानले रूसलाई हतियार नपठाएको स्पष्ट गरेको हो ।
इरानका विदेशमन्त्री अमीर अब्दुल्लाहिनले उनका फिनिस समकक्षीसँग गरेको फोन वार्ताका क्रममा सो कुराको जानकारी गराएका हुन् ।
अब्दुल्लाहले आफ्ना फिनिस समकक्षी पेका हाभिस्तोसँग रूस–युक्रेन युद्धका क्रममा इरानले रूसलाई हतियार दिएको छैन र आगामी दिनमा पनि हतियार पठाउने कुनै योजना छैन भनेको इरानी विदेश मन्त्रालयले जनाएको छ ।
युक्रेनले यस अघि पनि रूसलाई इरानले हतियार पठाएको बताउँदै आएको थियो । हालै युक्रेनका विदेशमन्त्रीले इरानको यो व्यवहार युक्रेनसँग शत्रुतापूर्ण रहेको बताएका थिए ।
यस वर्षको शुरूआतदेखि रूसले युक्रेनमाथि हमला गर्दै आएको छ । सो हमलाको पश्चिमा देशले कडा विरोध गरेका छन् । अमेरिका, बेलायत, फ्रान्स लगायत देशले रूसको सो कार्यको विरोध गरेका छन् । रासस