जीतलाल श्रेष्ठ, निजगढ, २१ असोज/
हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको वाग्मती प्रदेश ०६–००१ ख ०११० नम्बरको यात्रुवाहक बस बाराको अमलेखगंजस्थित तीन र चार नम्बर पुलबीचको मोडमा पल्टिंदा हिजो बिहीवार बिहान करीब १०ः३० बजे १० जना पुरुष र आठजना महिला गरी १८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
हिजो घटनास्थलमा आठजना र साँझसम्म आठजना र आज शुक्रवार दिउँसो २ बजेसम्म मृत्यु हुनेको सङ्ख्या १८ जना रहेको छ । घाइतेहरूको मकवानपुर र बाराका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाउँदै ट्राफिक प्रहरी, सुरक्षाकर्मी घटनास्थल पुगी घाइतेहरूको उद्धारमा खटिएका थिए ।
दु्रतगतिमा आएको सो यात्रुवाहक बसका चालकले नियन्त्रण गुमाउँदा चुरे तीन र चार नम्बर पुलको मोडबाट करीब ३० मिटर तल खस्दा त्यहाँ रहेको विद्युतीय हाइटेन्सन टावरमा ठोक्किंदा उक्त मानवीय क्षति भएको घटनास्थल पुगेका सुरक्षाकर्मीहरूले बताएका छन् ।
केही घाइतेहरू अझै गम्भीर प्रकृतिका रहेकाले मृत्यु हुनेहरूको सङ्ख्या अझै बढ्न सक्ने मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय, पथलैयाले जनाएको छ । सो दुर्घटनास्थल बाराको जीतपुरसिमरा उमनपा–२२ स्थित अमलेखगंज क्षेत्रमा पर्दछ ।
मृत्यु हुनेमा बारा जिल्ला कलैया उपमहानगरपालिका–२ का ४० वर्षीय लीलाराज चौधरी, चितवन जिल्ला खैरहनी नगरपालिका–५ बुडौलीकी ६३ वर्षीया नन्दकुमारी पुडासैनी, कालिका नगरपालिका रमाइलो चोकका १४ वर्षीय सफल कँडेल, पर्सा जिल्ला वीरगंज महानगरपालिका–१६ का ६५ वर्षीय सोमप्रसाद चौरसिया, वीरगंज–१६ की ३५ वर्षीया मुन्नीदेवी चौरसिया, मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका–७ की ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, हेटौंडा–७ की १९ वर्षीया स्वस्तिका श्रेष्ठ, कलैया–१० की ३५ वर्षीया नाजलिन खातुन, जीतपुरसिमरा उपमहानगरपालिका–२२ का २७ वर्षीय सुरेश विक, कलैया–१० का २५ वर्षीय इताजत अन्सारी, ओखलढुङ्गाका लालबहादुर बोगटी, खैरहनी नगरपालिका–५ का ३५ वर्षीय मनोरथ पुडासैनी, गोर्खाकी ३५ वर्षीया अम्बिका कँडेल, धनुषा जनकपुर उपमहानगरपालिका–५ का ५० वर्षीय सन्तोषकुमार राय, बारा करैयामाई गाउँपालिका–२ घर भई हाल चितवन भरतपुर महानगरपालिका–१२ बस्ने १६ वर्षीया प्रीतिका चौधरी, बारा स्वर्ण गाउँपालिका–७ का ५५ वर्षीय रामआश्रय राय यादव, पर्सा सखुवाप्रसौनी गाउँपालिका–६ लखनपुरका ५५ वर्षीय गया राउत, वीरगंज–१६ नगवाकी ६० वर्षीया मालतीदेवी चौरसिया रहेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
दुर्घटनाग्रस्त बसका चालक स्याङ्जा जिल्ला आदिखोला गापा–६ बस्ने ४० वर्षीय कोदिश्रीनारायण ढकाल घाइते भई चुरेहिल अस्पताल, हेटौंडामा उपचाररत छन् ।
पर्साका मृतकहरूको अन्तिम संस्कार
दुर्घटनामा ज्यान गुमाएका वीरगंजका बासिन्दाहरूको शुक्रवार दाहसंस्कार गरिएको छ । वीरगंज–१६ नगवाका सोमप्रसाद चौरसिया र निजकी पत्नी मालतीदेवी चौरसियाको नगवानजीकको श्मशानघाटमा दाहसंस्कार गरिएको हो । चुरियामाईको दर्शन गर्न नगवाका सोमप्रसादको परिवारबाट चारजना र उनका छिमेकी दशरथ चौरसियाको परिवारबाट छजना गएका थिए । मन्दिरमा दर्शन गरेर फर्किने क्रममा चुरियामाईनजीकैबाट उनीहरू बसमा चढे ।
नगवाका कुल १० जनामध्ये दशरथ चौरसियाकी छोरी मुन्नी चौरसिया, सोमप्रसाद र मालती गरी तीनजनाको निधन भइसकेको छ भने सात जना घाइते भएका छन् । जसमध्ये सोमप्रसादकी नातिनी दिव्यानी चौरसिया सामान्य घाइते भएकी छन् र नाति दीपिकेश चौरसिया र दशरथका छोरा सन्दीप चौरसिया, दुईजना बुहारी र नाति र नातिनी गरी छजना अहिले मेडिकल कलेज चितवनमा उपचार गराइरहेका छन् ।
नगवावासीले चालकको लापरवाहीले दुर्घटना भएको र यसको जिम्मेवार ट्राफिक प्रहरी भएकोले मृतक र घाइतेको क्षतिपूर्तिको माग गरेका छन् ।