- डा शिवशङ्कर यादव
आज म त्यस संवेदनाबारे बताउन चाहन्छु, जुन सबै संवेदनाभन्दा शक्तिशाली मानिन्छ । त्यो हो दृश्यको संवेदना, जुन आँखा भन्ने जैविक उपकरणबाट प्राप्त हुन्छ । आँखाबाट हामीले वस्तुको ९० प्रतिशत संवेदना प्राप्त गर्छौं, त्यसैले यो सबैभन्दा शक्तिशाली संवेदना हो । १० प्रतिशत मात्र अरू संवेदनाका लागि बाँकी रहन्छ । हामीलाई गन्धले मासु पाकिरहेको थाहा हुन्छ । तर भाँडोमा पाक्ने मासु कति छ, त्यो आँखाबाट नै थाहा हुन्छ । काउली कस्तो हुन्छ भन्ने कुरा जिब्रोबाट होइन, आँखाबाट मात्र थाहा हुन्छ । काउलीको बारी जिब्रोले होइन आँखाले मात्र ठम्याउन सक्छ । स्पर्शबारे त उखानै छ–अन्धाहरूले हात्तीको खुट्टा छाम्दा हात्ती खामोजस्तो, पुच्छर छाम्नेले लठ्ठीजस्तो र कान छाम्नेले सुपाजस्तो हुन्छ भन्ने बयान गर्छन् । तर आँखाले हात्तीको सम्पूर्ण अस्तित्व देखेपछि हात्ती अरू देखिन्छ । यो यथार्थ दृश्य संवेदना आँखाबाटै प्राप्त हुन्छ । तर आँखाले हेरेर मात्र थाहा हुँदैन, भातको स्वाद कस्तो हुन्छ ? स्याल कराएको आवाज आँखाले हेर्न सकिंदैन । त्यसैले बाँकी १० प्रतिशत अरूको भागमा पर्छ । आँखा वा अरू कुनै संवेदनशील अङ्गको सीमा हुन्छ । त्यसैले मानिस त्यसलाई बढाउने प्रयत्नमा रहन्छ । लाउडस्पीकर हाम्रो विस्तृत कान हो । यस अर्थमा टिभी आँखाको विस्तारित रूप हो । तारामण्डलमा ग्रहहरूलाई हेर्ने टेलिस्कोप आँखाको विस्तारित रूप हो । तर आँखा छैन भने न टिभी काम लाग्छ, न टेलिस्कोप नै । दिव्यदृष्टिबाट अर्जुनले जुन विराट् रूप देखे वा सञ्जयले दरबारमा बसीबसी महाभारतको कथा धृतराष्ट्रलाई सुनाए त्यो बेग्लै कुरा हो । तर आँखाको आधारभूत प्रस्तुति निम्न प्रकार छ–
घाँटी, नाक र कान यी तीनवटै मिलाएर मेडिकलमा एउटा विभाग बनाइएको छ । तर आँखाको काम यति विस्तृत छ कि यसको लागि अलगै अFँखा विभाग छुट्याइएको हुन्छ । त्यसैले मैले आँखा, यसको रचना र काम छोटकरीमा लेख्छु, जसले सर्वसाधारणले पनि बुझ्न सकून् र मुख्य कुरा छुट्न पनि नपाओस् । आँखा अरू केही होइन, एउटा जीवित कैमरा हो । सम्भवतः कैमराको ब्लैक एन्ड ह्वाइट वा कलर रूप आँखा हेरेर नै बनाइएको हो । आँखा दुइटा हुन्छ, जुन टाउकोको अगाडिको भागमा निधारमुनि नाकको दुवैतिर बनेको खाल्टोमा फिट हुन्छ, जसलाई आर्बिटल कैभिटी भनिन्छ । आँखामा सेतो देखिने भागलाई स्क्लेरा भनिन्छ जसमा रक्त प्रवाह र नली हुँदैन । यसमा एउटा धेरै पातलो खोल हुन्छ जस्तो कुनै मोबाइलको स्क्रीनमा हालिन्छ । यसलाई कन्जक्टाइभा भनिन्छ । यसले आइ–लिडको भीत्री भागलाई पनि छोप्छ । यसले आँखामा पाइने द्रवबाट पोषण प्राप्त गर्छ । रक्त आपूर्ति नहुनाले कुनै रोग लाग्दा औषधि नखाएर सीधै थोपा हालिन्छ । स्क्लेराको बीचमा जुन कालो रचना देखिन्छ त्यसलाई कोर्निया भनिन्छ । आँखालाई छोप्ने दुईटा खोल हुन्छ, जसलाई आइलीड भनिन्छ । माथिल्लोलाई अपर र तल्लोलाई लोअर आइलीड भनिन्छ । माथिल्लोमा १५० रौं र तल्लोमा ७५ रौं हुन्छ । आइलीड सधैं प्रतिमिनट १०० को दरले झम्किरहन्छ र धूलकणलाई भित्र जान दिंदैन । यसरी यो घण्टामा १००० र दिनमा २०००० पटक झम्किन्छ । कोर्नियाको पनि बीचमा एउटा सानो प्वाल स्पष्ट देखिन्छ जसलाई पुपिल भनिन्छ । कोर्नियाको पछाडि दुवैतिर एउटा रचना हुन्छ जसलाई आइरिस भनिन्छ । कोर्नियाको बीचको प्वाल वास्तवमा यी दुवै आइरिसको बीचको ठाउँ हो, जसरी कैमरामा पनि एउटा छिद्र बनाइएको हुन्छ । कैमरामा त्यस छिद्रलाई प्रकाशको अनुसार हातले कम वा ठूलो गर्छाैं । तर आइरिस आफैं प्रकाशको मान अनुसार सानो वा ठूलो भइरहन्छ र प्वाल आफंै ठूलो वा सानो हुन्छ । जब प्रकाश बढी हुन्छ, तब आइरिस फैलिन्छ र बीचको प्वाल सानो हुन्छ । जब प्रकाश कम हुन्छ, तब आइरिसमा सङ्कुचन हुन्छ र प्वाल बढी प्रकाश आउन दिनको लागि ठूलो हुन्छ । कोर्निया र आइरिसको पछाडि एउटा लेन्स हुन्छ । हामीलाई थाहा छ कि लेन्स कन्केभ, कन्भेक्स वा स्फेरिकल तीन थरीको हुन्छ, जसको चित्र बनाउने भिन्नाभिन्नै प्रकृति हुन्छ । तर आँखाको लेन्स जिउँदो हुन्छ र यसकारण आफ्नो स्वरूप बदलेर कन्केभ, कन्भेक्स र स्फेरिकल सबैको भूमिका निर्वाह गर्न सक्छ । आँखामा लेन्सको अगाडि एक किसिमको द्रव र पछाडि पनि अर्को किसिमको द्रव हुन्छ । अगाडिकोलाई एक्वस ह्युमर र पछाडिकोलाई भिट्रियस ह्युमर भनिन्छ । एक्वस ह्युमर हरदम निर्माण भइरहन्छ र अवशोषित भइरहन्छ । तर भिट्रियस ह्युमर धेरै बाक्लो हुन्छ र नित्य बन्दैन । यी दुवै द्रवले चित्र बनाउन मात्र मदत गर्दैनन्, बरु आँखाको आकारलाई पनि व्यवस्थित राख्छन् । यसै द्रवको मात्रा कम भएर आँखा धसेको देखिन्छ । आँखाको सबैभन्दा पछाडिपिट्ट रेटिना हुन्छ, जसरी कुनै कैमरामा फिल्म हुन्छ । जसरी कैमराको फिल्ममा फोटो बन्छ, त्यस्तै रेटिनामा विम्ब बन्छ । कैमरामा बनेको फिल्म हामी डार्करूममा प्रेसेसिङ र डेभलप गर्छाैं । तर यहाँ अप्टिक नर्भले दिमागको आक्सिपिटल लोबको एरिया १७, १८ र १९ मा फोटो रिसेप्टरबाट प्राप्त प्रकाश इनर्जीलाई विद्युत् इनर्जीमा बदलेर दिमागमा पु¥याउँछ । यसको खोज रेग्नार ग्रेनाइट, हाल्डेन केफर हर्टलाइन र जार्ज वाल्डले गरेबापत संयुक्तरूपले १९६७ को नोबेल पुरस्कार पाएका थिए । रेटिनाको मध्यमा आप्टिक नर्भको बन्डल प्रवेश गर्छ जसमा एक मिलियनभन्दा बढी फाइबर हुन्छ । जहाँ यो नर्भ रेटिनामा प्रवेश गर्छ, त्यस ठाउँलाई ब्लाइन्ड स्पट भनिन्छ किनभने यस प्वाइन्टमा कुनै चित्र बन्दैन । यहाँबाट अलि पर एउटा अर्को स्पट हुन्छ, जसलाई फोबिया सेन्ट्रलीस भनिन्छ । चित्र यहाँ बन्छ । गिद्धको आँखा उसको टाउकोको अनुपातमा ठूलो र उसको ब्लाइन्ड स्पट यति ठूलो हुन्छ कि उसले ४ माइल टाढैबाट तीन फिटको मांसपिण्ड देख्न सके पनि सामुन्नेको वस्तु देख्न सक्दैन र दुश्मनको फन्दामा फस्न पुग्छ । चीलको हेर्ने शक्ति सबैभन्दा बढी हुन्छ किनभने उसको रेटिनामा दुईटा फोबिया हुन्छ र नर्भसेल मान्छेभन्दा ५ गुणा बढी हुन्छ । कैमराको फिल्मजस्तै आँखाको रेटिनामा उल्टो चित्र बन्छ जुन भौतिक विज्ञानको नियमानुसार नै हुन्छ । दुईटा आँखा किन हुन्छ भने एउटा आँखाले सीधा जति देखिए पनि नाकले छेकेर दायाँले बायाँतिर र बायाँले दायाँतिर देख्न सक्दैन । अतः बराबर र स्पष्ट हेर्नका लागि दुईटा आँखा चाहिन्छ । आँखाले जति स्पष्ट हेर्न सक्छ त्यसलाई आँखाको एक्विटी भनिन्छ । यसरी आँखाको दुईटा काम भयो । एउटा सोझो हेर्ने जसलाई टेम्पोर फिल्ड र अर्को दायाँबायाँ हेर्ने जसलाई नेजल फिल्ड भनिन्छ । यी दुवै फिल्डबाट आFप्टिक नर्भ छुट्टाछुट्टै यात्रा गर्छ । केही यात्रा गरेपछि नेजल फिल्डको फाइबर क्रस गरेर अर्कोतिर जान्छ अथवा दायाँ आँखाको बFयाँतिर र दायाँ आँखाको फाइबर बायाँतिर । त्यस्तै टेम्पोरल फिल्डका फाइबरहरू पनि त्यही प्वाइन्टमा अर्कोतिर क्रस गर्छ । यसरी हामीले हेर्छाैं भने दिमागमा एकातिरको टेम्पोरल फाइबर र अर्कोतिरको नेजल फाइबर एक ठाउँमा र अर्को ठाउँमा यसरी नै टेम्पोरल र भिन्न साइडको नेजल फाइबर अर्को ठाउँमा जान्छ । अथवा यसरी भनौं– दायाँ आँखाको टेम्पोरल फाइबर र बायाँ आँखाको नेजल फाइबर बायाँ अक्सिपिटल लोबमा र बायाँतर्फको टेम्पोरल फाइबर र दायाँको नेजल फाइबर दायाँ अक्सिपिटल लोबमा जान्छ । अर्थात् एउटा सेन्टरमा दुवै आँखाको सेन्टर हुन्छ । त्यसैले रेटिनाको अप्टिक नर्भ डैमेज भयो भने भिजन पूर्णतः समाप्त हुन्छ । तर बीचमा वा कुनै एक सेन्टरमा डैमेज भयो भने भिजन आंशिक मात्र समाप्त हुन्छ । रेटिनामा बनेको उल्टो तस्वीर सेन्टरमा सुल्टोगरी रिडिङ हुन्छ र हामी सुल्टो चित्र देख्छौं ।
रेटिनामा रोड्स र कोन्स भिजुअल रिसेप्टर हुन्छ । रोड्सले अँध्यारोमा ब्लैक एन्ड ह्वाइट तस्वीर बनाउँछ र कोन्सले उज्यालोमा रङ्गीन तस्वीर बनाउँछ । रोड्सको सङ्ख्या ९१ मिलियन र कोन्सको सङ्ख्या ४.५ मिलियन हुन्छ । जब हामी कुनै अँध्यारो कोठामा जान्छौं, तब केही बेर केही देखिंदैन, पछि देखिन थाल्छ । वास्तवमा यो रोड्सबाट रोडोप्सिन बन्ने समय हो जुन अँध्यारोमा देखाउने तŒव हो । यो भिटामिन एको उपस्थितिमा मात्र हुन्छ । जब हामी अँध्यारो कोठाबाट फेरि बाहिर आउँछौं तब प्रकाशले गर्दा त्यो रोडोप्सिन बिलाएर जान्छ । तब प्रकाशमा कोन्सहरू सक्रिय हुन्छन् ।
उल्लूको आँखामा आइवाल हुँदैन । त्यसको ठाउँमा एउटा गोलाकार ट्युब हुन्छ र उल्लूले आँखा चलाउन सक्दैन । घाँटी छिटोछिटो चलाउँछ । एक्विटी अफ भिजन सबैभन्दा बढी चीलको हुन्छ । एक्विटी अफ भिजनको मतलब हुन्छ– कति दूरीमा आँखाले कुनै चीज कति स्पष्ट देख्न सक्छ । मानिसको यो अधिकतम २० फिट हुन्छ । कुकुरको भिजन क्षमता मानिसभन्दा १० गुणा र मुसाको भन्दा १०० गुणा बढी हुन्छ । बिरालोको आँखामा टेपिडम ल्युसिडम नामक एउटा तŒव हुन्छ, जुन अँध्यारोमा चम्किरहन्छ । बाघले आफ्नो क्षेत्रमा कसैलाई आउन दिंदैन धपाइदिन्छ । त्यस क्षेत्रमा यदि मानिससँग जम्काभेट भयो भने त्यसको आँखामा एकोहोरो हेर्दै बिस्तारै पछाडि हट्दा बाघले केही गर्दैन । किनभने उसले यो नोटिस गर्छ कि तपाईं उसको क्षेत्र छाडिरहनुभएको छ । तर भाग्यो वा दौड्यो भने झम्टन पुग्छ । सबैभन्दा ठूलो आँखा अस्ट्रिचको हुन्छ ।
आँखाका मुख्य बिमारी वा गडबडी :
प्रेसवायोपिया : प्रेसवायोपोस मतलब ओल्ड र ओपस मतलब आइ हुन्छ । अर्थात् बुढेसकालमा हुने आँखाको कमजोरी । यसमा मान्छेले टाढाको कुरा त देख्न सक्छ तर नजीकको सक्दैन । यसमा लेन्सको अगाडिको भागले काम गर्दैन ।
मायोपिया : यो पनि नजीकको कुरा हेर्न कठिनाई हुने रोग हो । यसमा नजीकको वस्तुबाट जुन प्रकाश जान्छ, त्यो रेटिनामा नपुगेर त्यसको अगाडि समाप्त हुन्छ । तस्वीर त रेटिनामा परे पो देखिन्छ । पहिले नै समाप्त भयो भने कसरी देखिने ? यो अक्सर ४० वर्षपछि करीब सबै मान्छेमा देखिन्छ । सौभाग्यवश यसको उपचार सजिलै चश्माले प्राप्त गर्न सकिन्छ । यहाँ चश्मामा कन्केभ लेन्स प्रयोग गरिन्छ ।
हाइपरमेट्रोपिया : यसमा मायोपियाको उल्टो क्रिया हुन्छ । वस्तुबाट गएको प्रकाश रेटिना छिचोलेर बाहिर जान्छ । रेटिनामा तस्वीर पर्दैन र आँखाले त्यो वस्तु देख्दैन । अतः यसको करेक्शन कन्भेक्स लेन्सबाट गरिन्छ ।
ग्लोकोमा : यो आँखाको धेरै खतरनाक रोग हो । यसमा आँखामा दबाब निरन्तर बढिरह्यो भने अप्टिक नर्भ नष्ट हुन सक्छ र मान्छे सदाको लागि अन्धो हुन सक्छ, जसको कुनै उपचार छैन । आँखाको प्रेसर त्यसमा उपस्थित एक्वस र भिट्रियस ह्युमरको मात्रामा निर्भर गर्छ । यसको अलावा भिटामिन एको कमीले हुने रतन्धोबारे सबैलाई थाहा होला । गर्भवती अवस्थामा यो बढी देखिन्छ । अस्तु !