- उमाशङ्कर द्विवेदी
त्यो भल्ल दु्रपदको छातीलाई छेडेर पृथ्वीभित्र छि¥यो र राजा दु्रपद मूर्छित भए । यो हेरेर सारथिले आफ्नो कर्तव्यको विचार गरेर उनलाई तत्कालै त्यहाँबाट टाढा लगिहाल्यो । अनि त त्यस भयङ्कर रात्रिमा दु्रपदको सेना रणभूमिबाट भागिहाले । वृषसेनको त्रासको कारणले सोमक क्षत्रिय पनि त्यहाँ टिक्न सकेनन् । प्रतापी वृषसेन सोमकहरूका अनेकौं शूरवीर महारथीहरूलाई परास्त गरी तत्काल राजा युधिष्ठिरको छेउमा पुगे ।
अर्कोतिर प्रतिविन्ध्य क्रोधित भएर कौरवसेनालाई दग्ध पार्दै थिए, उनको सामना गर्नको लागि तपाईंको पुत्र महारथी दुश्शासन पुगे । उनले प्रतिविन्ध्यको निधारमा तीनवटा बाण हानेर उनलाई घाइते पारिदिए । प्रतिविन्ध्यले पनि अनेकौं बाण हानेर दुश्शासनलाई घाइते पारिदिए । अनि दुश्शासनले आफ्ना उग्र सायकहरूबाट प्रतिविन्ध्यका घोडाहरूलाई मारेर एउटा भल्ल हानी उनको सारथिलाई मारेर यमलोक पठाइदिए । यसपछि उनको रथलाई पनि टुक्रा–टुक्रा पारिदिए । फेरि एउटा क्षुरप्र हानेर उनको धनुषलाई पनि काटिदिए । प्रतिविन्ध्य सुतसोमको रथमाथि गएर बसे र हातमा धनुष लिई तपाईंका पुत्रहरूलाई बाणबाट व्यथित पार्न थाले । तदन्तर तपाईंका योद्धाहरू विकट रथसेना लिएर आई तपाईंका पुत्रहरूलाई चारैतिरबाट घेरामा लिई भयङ्कर युद्ध गर्न थाले । त्यति बेला दुईटै सेनाहरूको बीचमा महान् हारकारी युद्ध मच्चियो ।
यसै प्रकार एकातिर नकुलले पनि तपाईंको सेनाको संहार गरिरहेका थिए । उनको सामना गर्नको निम्ति क्रोधले भरिएका शकुनि आइपुगे । ती दुवै एकापस्तमा बैरभाव राख्दथे र दुवै शूरवीर थिए, दुवैले एकअर्काको वध गर्नको निम्ति परस्पर बाणको आघात गर्न थाले । जसरी नकुलले बाणको झरी लगाउँदै थिए, त्यसै प्रकार शकुनि पनि । शरीरमा बाण रोपिएका कारणले ती दुवै कुनै काँढादार रूखझैं देखिइरहेका थिए । यतिकैमा शकुनिले नकुलको छाती ताकेर कर्णी नामक एउटा बाण हाने । त्यसको आघातबाट व्यथित भएर नकुल मूर्छित भई रथको पछिल्लो भागमा गई बसे । अलिकबेरमैं होश खुलेपछि नकुलले शकुनिमाथि साठीवटा बाण हाने । त्यसपछि उनको छाती ताकी सयवटा नाराच नामक बाण हाने र उनले हातमा उचालेको धनुषलाई पनि काटिदिए । तत्पश्चात् ध्वजालाई काटेर भुइँमा खसालिदिए र एउटा अर्को बाण हानेर उनको दुईटै तिघ्रालाई च्यातिदिए । यस चोटलाई शकुनिले सम्हाल्न सकेनन् र बेहोश भई रथको पछिल्लो भागमा गई पछारिए । अनि सारथिले उनलाई रणभूमिबाट बाहिर लिएर गए तथा नकुलको सारथि आफ्नो रथलाई आचार्य द्रोणको छेउमा लगे ।
अर्कोतिर कृपाचार्यले शिखण्डीमाथि धावा गरे । उनलाई नजीक आइरहेको हेरेर शिखण्डीले नौवटा बाण हानेर उनलाई घाइते पारिदिए । कृपाचार्यले पनि शिखण्डीमाथि अनेकौं बाणको प्रहार गरे । अनि त ती दुईबीच भयङ्कर संग्राम हुन थाल्यो । शिखण्डीले एउटा अद्र्धचन्द्रकार बाण हानेर कृपाचार्यको धनुषलाई काटिदिए । यो हेरेर कृपाचार्यले शिखण्डीमाथि शक्ति प्रहार गरे । शिखण्डीले अनेकौं बाण हानेर त्यस शक्तिलाई टुक्राटुक्रा पारिदिए । अनि कृपाचार्यले अर्को धनुष लिएर शिखण्डीमाथि बाणको झरी लगाइदिए । यसबाट शिथिल भएर शिखण्डी रथको पछिल्लो भागमा गई बसे । र शिखण्डीलाई यस अवस्थामा पुगेको हेरेर कृपाचार्यले उनीमाथि झन् बाणवर्षा गर्न थाले । अनि त उनी भाग्न बाध्य भए । यो हेरेर पाञ्चाल र सोमक वीरहरू उनलाई चारैतिरबाट घेरी उभिए । यसै प्रकार तपाईंका छोराहरू पनि सेनाको ठूलो डफ्फाको साथ कृपाचार्यलाई चारैतिरबाट घेरामा हाली डटे । अनि दुवै दलबीचमा ठूलो संग्राम हुन थाल्यो । त्यति बेला कसैले कसैलाई चिनिरहेका थिएनन् । मोहवश पिताले पुत्रमाथि र पुत्रले पितामाथि, मित्रले मित्रकै प्राण हरण गरिरहेका थिए । मामाले भान्जामाथि र भान्जाले मामामाथि प्रहार गर्दै थिए । दुईटै पक्षका मानिसहरू स्वजनहरूमाथि नै हमला गरिरहेका थिए । रात्रिको त्यस भयङ्कर युद्धमा कुनै नियम थिएन । कुनै मर्यादा शेष थिएन ।
त्यो भय.कर युद्ध जारिरहेकै बेलामा धृष्टद्युम्नले पनि द्रोणमाथि आक्रमण गरिदिए । उनी कारम्बार धनुषको टंकार गर्दै द्रोणतिर बढ्न थाले । उनलाइ आइरहेको हेरेर पाण्डव र पाञ्चाल योद्धाहरूउनलाइ चारैतिरबाट घेरामा हालेर उभिए । उनलाइ यु प्रकारले सुरक्षित भएको हेरेर तपाइका पुत्रहरू पनि बडो सावधानीपूर्वक आचार्यको रक्षा गर्न थाले । यसै बीचमा धृष्टद्युम्नले द्रोणको छातीमा पाँचवटा वाण हानेर सिंहनाद गरे । तदन्तर द्रोणको पक्ष लिएर कर्णले दशवटा, अश्वत्थामाले पाँचवटा,स्वयं द्रोणले सातवटा, शल्यले दशवटा, दुःशासनले तीनवटा, दुर्योधनले बीसवटा र शकुनिले पाँचवटा वाण हाने धृष्टद्युम्नलाइ सिकिस्त घाइते पारि दिए । क्रमशः…।