कुमार रूपाखेती, अमेरिका/

भर्जिनिया र मेरिल्यान्डमा बस्ने नेपालीहरूले यही असोज ९ गते तद्नुसार २५ सेप्टेम्बर २०२२ आइतवारका दिन भर्जिनियाको मानाससस्थित बुलपार्कमा रमाइलो तरीकाले दशैं, तिहार फेस्टिभलको आयोजना गरेको थियो । कार्यक्रमको सुरुआत नेपाली राष्ट्रिय गीत ‘सयौं थुँगा फूलका हामी’बाट शुरू गरिएको थियो भने दोस्रोमा अमेरिकी राष्ट्रिय गान बजाइएको थियो । यहाँको कार्यक्रम प्रस्तुतीकरण अत्यन्तै रोचक र आकर्षक थियो । गणेश नाच, भैरव नाच, कुमारी नाच, अष्टमातृका नृत्यपछि पुराना र आधुनिक नेपाली गीत र धुन बजाइएको थियो । दशैं आयो र लौ तिहार आयो, झिलिमिली गीतमा दर्शकहरूसमेत नाचेका थिए । कार्यक्रममा चैनटिलिटी, भर्जिनिया, मेरिल्यान्ड र अन्य स्थानका नेपाली कलाकारहरूले भाग लिएका थिए । आधुनिक बाजागाजासहितको उक्त कार्यक्रम हेर्न सयौं नेपालीबाहेक अमेरिकी, इटालेली, कोलम्बियाली, भारतीय आदि यहाँ बसोबास गर्नेहरूको ठूलो उपस्थिति थियो । अष्टमातृका नृत्यमा वीरगंज–४ बिर्ताकी रञ्जीता श्रेष्ठको नृत्य अब्बल थियो ।

कार्यक्रममा नेपालीहरूले करीब–करीब एक सयवटा स्टल लगाएका थिए । स्टलहरूमा लत्ताकपडा, जुत्ता, कफी, जुस, मःमःबाहेक नेपाली परिकार सेलरोटी, टिम्मुर हालेको गोलभेंडाको अचार, आलुमूलाको अचार, लप्सीको अचार र तिलौराहरू समावेश थिए । सेल मीठो थियो र राम्रो बिक्री भएको देखियो । स्टल लगाएर मालसामानको व्यापारीको रूपमा कुम्हालटोलका प्रकाश सिंह ठकुरी, नीता सिंह र प्रणिका सिंहहरू भेटिए । कार्यक्रममा करीब हजारको हाराहारीमा नेपाालीहरू उपस्थित थिए । निश्शुल्क आयोजना गरिएको उक्त कार्यक्रम बिहान ११ देखि साँझ ५ बजेसम्म चलेको थियो ।

सोही स्थलमा बेलुकी ६ः०० बजेदेखि नेपालबाट आएका कलाकारहरू निमा रूम्बा र नेपालकै १९७४ एडी ब्यान्डले तहल्कापूर्ण कार्यक्रम गरेर माहोल नेपालीमय बनाएका थिए । तर निमा रूम्बाहरूको कार्यक्रममा टिकट लिनुपर्ने । टिकट दर ३५ अमेरिकी डलर थियो । टिकटमा चिठा पनि राखिएको थियो र बडादशैं भएकोले पहिलो पुरस्कार ५० किलोको खसी थियो । उक्त कार्यक्रम साँझ ६ देखि राति ९ बजेसम्म तीन घण्टा चल्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here