- राजेश मिश्र
‘मेला देखे चले के बाटे, भैया ? एकले सोधेपछि अर्काेले जवाफ दिन्थे– ‘लइकनके उत्साह देख के बिना गइले कौनो उपाय नइखे ।’ यसरी एकले मेला जानेबारे सोधेपछि अर्कोले नगइ नहुने उत्साहसुप्त विवशता प्रकट गर्दथे । सबै उमेर समूहबीच आआफ्नो तालमेल अनुसार बच्चाहरूलाई मेलापात लिएर जाने योजना बन्थ्यो ।
वयस्कजनलाई घर तथा गोठको लिपपोतको व्यस्तता, बाल–मस्तिष्क भने नयाँ लुगा र मेला जाने उमङ्गमा केन्द्रित रहन्थ्यो । बालबालिकाहरू एकआपसमा मेला जाने चर्चा गरेर खुब रमाउँथे । को सँग जाने ? कहाँको मेला जाने ? आदि संवादले मेला जाने उत्सुकता चरममा हुन्थ्यो ।
आजको यस आलेखमा अहिले अभिभावकत्व निर्वाह गरिरहेका केही वृद्धजनसँग भएको बाल्यकालीन स्मृतिको सङ्क्षिप्त अंश प्रस्तुत छ—
हरिनारायण मिश्र, वीमनपा—२६ सुगौली बिर्ता
“बितल समयइया दिमागे में बा,
लडकपन के बात का बताइँ ?
दशहारा मेला के बचकौना उमङ्ग,
दोहरा के जिनगी में ना आइ ।”
बितेको समय अहिलेसम्म स्मृतिमा छ । बालपनको कुरा वर्णन गरेर साध्य छैन । दशहरा मेलाको त्यो उमङ्ग र सुगन्ध फर्केर जीवनमा कहिल्यै आउने छैन । त्यो बेलाको बाल्यकाल होस् वा युवाकाल, संस्कार र संस्कृतिको सीमा नाघिंदैन थियो । अग्रजजनबाट पाएको संस्कार र ज्ञान जीवनपर्यन्त अनुसरण गरिरहने छु ।
असोज महीना शुरू भएसँगै नयाँ वस्त्र र मेला हेर्न जाने खुल्दुली मनमा नउठ्ने कुरै थिएन । उतिबेला टेरलिनको कपडा प्रख्यात थियो । हजुरबुबाले वीरगंजको मुरली महाराजजीको कपडा पसलबाट कपडा खरीद गर्नुहुन्थ्यो । गाउँको मैन मियाँ दर्जीले कपडाको नाप लिइसकेपछि भोक र निद्रा हराउँथ्यो । कपडा नपाउन्जेल घरीघरी दर्जीको पसलमा जान्थें । त्यति मात्र होइन, कपडा पाइसकेपछि लगाउने र मेला जाने हतार उत्तिकै हुन्थ्यो ।
सर्वप्रथम माता भवानीको दर्शन र पूजन गरेपछि मेलामा किनमेल गर्थें । गहवामाईको मेला त गइन्थ्यो नै, विन्ध्वासिनीमाईको मेला झन् नगई सुखै थिएन । बिरन्चीबर्वामा कुटुम्बजन भएकाले त्यहाँ पनि भवानीमाईको मेला हेर्न हजुरबुबासँग गएको सम्झना छ । मेलाको लागि एक/दुई रुपियाँ नै पर्याप्त थियो । तामाको पाँच वा दश पैसाको ‘रेजकी’ (खुद्रा) खल्तीमा हालेपछि छ कि हरायो भन्दै पटकपटक खल्ती छामिन्थ्यो ।
जलेबी, खुर्मा, बदाम र गागल बालपनको प्रमुख आकर्षण थियो । मेलामा दुर्गा कवच र हनुमान चालिसा आदि सानो आकारको किताब पाइन्थ्यो । कागजको पानामा छापेको हिन्दी फिल्मी गीतको सङ्ग्रह पनि बिक्री हुन्थ्यो । गीत सङ्गीतमा रुचि हुनेहरूले फिल्मी किताब किन्थे भने मलाई धार्मिक पुुस्तक किन्न मन पथ्र्यो र किन्थें ।
महाराज यादव, वीमनपा—२८ बगही
‘बालपन के बात बहुत अनोखा होला । बिसरल बहुत कठिन बा’ (बालपनको कुरा अद्वितीय हुन्छ । बिर्सन एकदमै कठिन छ ।) बाल्यकालको कलाकृति अहिले पनि सम्झनामा छ । बाल मस्तिष्कमा कुवार (असोज) ‘दशहरा’को महीना भनेर अङ्कित थियो । मौसम परिवर्तनले दशैंको माहोल अनुभूत हुन्थ्यो । जस्तै बिहान हल्का चिसोसँगै कुहिरो, दिउँसो कडा घाम, भदैया धानको कटनी र परालको अद्वितीय सुगन्धले दशैंको माहोल अनुभूति हुन्थ्यो ।
बाल्यकालमा अन्य कुराभन्दा बढी आकर्षण भनेकै नयाँ लुगा लगाउने र मेला जाने उत्सुकता थियो । सुती वा टेरलिनको सर्ट तथा पाइजामा वा पटापटी कपडाको सुरूवाल नै त्यति बेलाको प्रमुख फैसन थियो ।
मेरा गाउँको सबैभन्दा नजीक जगरनाथपुरमा दशमीको दिन मेला लाग्थ्यो । बुबासँग जगरनाथपुरको मेला गएको मलाई सम्झना छ । उमेर बढ्दै जाँदा बारा जिल्लाको बेलहिया प्रस्टोका मेला जान पाइन्थ्यो । त्यहाँ संसारीमाईको मेला नवमीको दिन लाग्थ्यो । पहिलो प्राथमिकता माताको पूजा र त्यसपछि मेला घुमघाम गरिन्थ्यो । मेलामा निकै भीडभाड हुन्थ्यो । त्यति बेलाको प्रमुख मिठाई जलेबी थियो । यसको अलावा बदाम, गागल र बाँसुरी किन्नु अनिवार्य हुन्थ्यो । एक रुपियाँ नै मेलाको लागि पर्याप्त थियो ।
त्यतिबेला बगहीदेखि वीरगंज निकै टाढा लाग्थ्यो । किनभने कच्ची सडक र सवारीको समस्या थियो । आज पनि दूरी त्यतिकै छ, तर सवारी र सडकको सुविधाले अहिले बगहीदेखि वीरगंज नजीक प्रतीत हुन्छ । उहिले बगही पञ्चायत पछि गाविस र अहिले वीरगंज महानगरमा गाभिएको छ ।
अभिभावकको अनुमतिविना मेलाको कुरा त के, कतै जाने हिम्मत हुँदैन थियो । अभिभावकको अनुमति अनिवार्य थियो । उमेर बढेपछि वीरगंज, गहवामाईको मेला भर्न आएको सम्झना छ । पुरनियाहरूको काँधमा चढेर मेला गएको त्यो क्षण फर्केर आउँदैन ।
गौरीशङ्करप्रसाद कानू, कालिकामाई गापा—२ भेडिहारी
‘बचपन में कुवार (असोज) महीना चढते मन गद्गद् हो जाए । गाँव में चर्चा होखे कि आज से कुवार चढ गइल, आज से मेला हेतना दिन बा ।’
(बाल्यकालमा असोज महीना लाग्दै मन गद्गद् हुन्थ्यो । गाउँमा चर्चा चल्थ्यो कि आजदेखि असोज महीना लाग्यो, आजदेखि मेला यति दिन छ ।) असोज महीनालाई भोजपुरीमा ‘कुवार’ भनिन्छ ।
असोज महीना लागेपछि व्यस्तता बढ्थ्यो । किनभने वर्षात्मा टुटेफुटेको घर–गोठको मरम्मत सम्भार गर्नु अनिवार्य आवश्यकता थियो । मेरो गाउँको सबैभन्दा नजीक बिरन्चीबर्वामा भवानीमाईको पूजाआजाका साथै भव्य मेला लाग्थ्यो, जुन अहिलेसम्म निरन्तर छ । माता भवानीको दर्शन गरिसकेपछि साँझसम्म मेला घुमघाम गरिन्थ्यो । उहिले भेडिहारी र बिरन्चीबर्वा फरक–फरक पञ्चायत भए पनि अहिले एउटै पालिकामा पर्छ । अहिले भेडिहारी, गदियानी, बिरन्चीबर्वा, हरिहरपुर, मुडली र सेमरालाई समेटेर कालिकामाई गाउँपालिका बनेको छ ।
असोज महीना लागेपछि मन प्रफुल्ल हुन्थ्यो । आमासँग हारगुहार गरेपछि मेला खर्च नपाउने कुरै थिएन । आधा वा एक सेर अन्न बेचेपछि मेला जाने पैसा टन्न हुन्थ्यो । आठ आना वा एक रुपियाँमा मन पर्ने सबैथोक खान वा किन्न पर्याप्त हुन्थ्यो । बिरन्चीबर्वामा लगभग तीन/चार दिन मेला लाग्थ्यो । मेरो गाउँदेखि बिरन्चीबर्वाको दूरी झन्डै एक कोस पर्ने हुनाले प्रतिदिन मेला जान्थे । ठेलमठेल भीड हुन्थ्यो । दिउँसो २ बजेदेखि अँध्यारो हुन्जेल भीड कम हुँदैनथ्यो ।
खानेकुरा जलेबी र बदाम तथा खेलौनामा तडबडवा, बाँसुरी र ‘फुलौना’ (बैलुन) नै प्रमुख आकर्षण थियो । यति किनमेल गरिसकेपछि मन प्रसन्न हुन्थ्यो ।