• डा शिवशङ्कर यादव

कान शरीरको त्यो संवेदनशील अङ्ग हो, जसले सुन्ने र सन्तुलन बनाइराख्ने दुवै काम गर्छ ।

बनावट : कानको तीन भाग हुन्छ– बाहिरी कान, मध्यकान र भित्री कान ।

बाहिरी कानः यसको दुई भाग हुन्छ– औरिकिल वा पाइना र बाहिरी सुन्ने नली । औरिकिल वा पाइना कानको सबैभन्दा बाहिरी हिस्सा हो, जसमा केही रिज वा खाल्टो परेको हुन्छ, जसले आवाजलाई समात्ने काम गर्छ । यसको बीचमा एउटा छिद्र हुन्छ, जसलाई कोन्का भनिन्छ, जुन वास्तवमा सुन्ने नलीको बाहिर खुल्ने मुख हो । कान छालाले ढाकिएको हुन्छ, जसमा थुप्रै सिवेसियस र स्वेदग्रन्थि तथा रौं हुन्छन् । रौंले हावामा भएका धूलकणलाई भित्र नलीमा जानबाट रोक्छ । पाइनाको काम आवाजलाई समातेर भित्र पठाउने र आवाजको दिशा पत्ता लगाउने हो । हात्ती आदि जनावरले आवाजको दिशामा कान चलाउन सक्छन् तर मानिसले सक्दैन किनभने चलाउने मांसपेशी विकसित भएको छैन ।

बाहिरी सुन्ने नली : आकारमा ५५ मिमी र अलि बाङ्गो हुन्छ । यसको बाहिरी एकतिहाइ भाग कार्टिलेज र बाँकी भाग हाडले बनेको हुन्छ । बाहिरी कार्टिलेजले बनेको भाग छालाले ढाकिएको हुन्छ, जसमा थुप्रै सिवेसियस र स्वेदग्रन्थि हुन्छन् र दुवैको श्राव मिलेर खैरो रङ्गको पदार्थ, जसलाई वाक्स भनिन्छ, बनाउँछ, जुन बेलाबेला सफा गर्नुपर्छ । यसको अतिरिक्त यहाँ कडा–कडा रौं हुन्छ, जसले बाहिरी धूलकणलाई भित्र जान दिंदैन । भित्री भागमा पनि छाला र माथि अलिकति रौं हुन्छन्, तर यहाँको छालामा केवल सिवेसियस ग्रन्थि मात्र हुन्छ ।

मध्यकानः यसमा कानका सानासाना हाडसहित एउटा सानो चेम्बर हुन्छ, जसलाई टिम्पेनिक कैभिटी भनिन्छ । यसमा दुईवटा सानासाना मांसपेशी पनि हुन्छन् र सुन्ने नलीको निरन्तरता त हुन्छ नै । टिम्पेनिक कैभिटी अरू केही होइन, कानको माथिको खोपडीमा प्राकृतिकरूपले एउटा भासिएको ठाउँ हो, जसमा कानका हाड फिट भएका हुन्छन् । यो भाग एउटा झिल्लीले ढाकिएको हुन्छ, जसलाई टिम्पेनिक मेम्ब्रेन भनिन्छ र जसले मध्यकानलाई बाहिरी कानबाट छुट्याउँछ । अर्थात् यो झिल्ली बाहिरी र मध्यकानको बीचमा हुन्छ । हेर्दा यो एउटा छाता वा च्याउको आकारको हुन्छ । यसको तीन तह हुन्छ– बाहिरी छालाको, बीचको तन्तु भएको र भित्री सबैभन्दा तलको तह म्युकस हुन्छ । तीनवटा हाडको नाम क्रमशः मैलियस, इनकस र स्टेपिज हो । मैलियस मतलब हतौडी, इनकस मतलब अचानो र स्टेपिजको मतलब रकाब हुन्छ । रकाब घुडसवारले खुट्टा राख्ने संरचनालाई भनिन्छ । मैलियसको एक भाग इनकसको मुखनजीक र अर्को भाग टिम्पेनिक मेम्ब्रेनको बीचमा जोडिएको हुन्छ । यिनको काम कम आवाजको तीव्रता बढाउनु र ठूलो आवाजको तीव्रता घटाउनु हो । स्टेपिज शरीरको सबैभन्दा सानो हाड हो । यो रकाब जस्तै हल्लन्छ, मानौं आवाजरूपी घुडसवारले खुट्टा राखेको छ र यो हल्लिरहेको छ । कानको हाडमा दुईवटा साना मांसपेशी हुन्छन्– टेन्सर टिम्पेनाई र स्टेपिडियस । यिनको काम टिम्पेनिक मेम्ब्रेनलाई त्यसरी नै तानिरहनु हो, जसरी ढोलक वा तबलामा काठ फसाइएको हुन्छ । यस्तो किन हुन्छ ? हामी सबैलाई थाहै छ, तबलाको छाला कसिए मात्र उचित धुन पैदा हुन्छ वा सितारको तार झङ्कृत हुन्छ । ढिला भयो भने आवज पैदा हुँदैन । आवाजको त्यही सिद्धान्त यहाँ पनि लागू हुन्छ । यस अतिरिक्त आवश्यकताभन्दा बढी आवाज पस्यो भने टिम्पेनिक मेम्ब्रेन च्यातिन पनि सक्छ । यसलाई कसरी बचाउने ? यसको लागि यी दुई मांसपेशी ४० वा ८० सेकेन्डको अन्तरालमा एक पछि अर्को यसरी खुम्चिन्छन् कि मैलियसभित्र र स्टेपिज बाहिरतिर यसरी चल्न थाल्छ कि कानको सबै हाड कडा भएर आवाजको तीव्रता घटाइदिन्छन् । यसले गर्दा टिम्पेनिक मेम्ब्रेनको साथै भित्री अङ्गको पनि बचावट हुन्छ ।

भित्री कानमा दुई संरचना कोक्लिया र सेमिसर्कुलर कैनाल हुन्छन् । कोक्लियाबाट सुन्ने र सेमिसर्कुलर कैनालबाट सन्तुलन बनाउने काम हुन्छ । सेमिसर्कुलर कैनाललाई भेस्टिब्युलर अपरेटस पनि भनिन्छ । कोक्लिया एउटा घोंगी आकारको संरचना हो, जसको भित्र इन्डोलिम्फ र बाहिर पेरिलिम्फ भन्ने द्रव भरिएको हुन्छ । यी द्रव स्लाइन पानीजस्तो हुन्छ । यो किनभने आवाज हावाभन्दा पानीमा बढी गतिले हिंड्छ । हावामा आवाजको गति ४४३ मिटर प्रतिसेकेन्ड र पानीमा १४५० मिटर प्रतिसेकेन्ड हुन्छ । यसको मध्यभागलाई मोड्युलस भनिन्छ र भित्र कैनाल हुन्छ । यसै कैनालभित्र आर्गन अफ कोर्टाई हुन्छ, जसमा थुप्रै साना प्रोजेक्शन हुन्छन्, जसलाई हेयर सेल्स भनिन्छ । बाहिरी र भित्री दुई प्रकारका हेयर सेल्स हुन्छन् । वास्तवमा यी आवाज समात्ने रिसेप्टर हुन् । बाहिरी हेयर सेल्स १२००० र भित्री हेयर सेल्सको सङ्ख्या ३५०० हुन्छ । बाहिरी हेयर सेल आवाजलाई एमप्लिफाइ गर्छ र भित्री हेयर सेलले विद्युतीय संवेगमा बदलेर कोक्लियर नर्भमा प्रवाहित गरिदिन्छ । कोक्लियर नर्भमा ३०००० हजार नर्भ फाइबर हुन्छन्, जुन आवाजको सन्देश लग्ने प्राइमरी बाटो हो । यो ब्रेनको मेड्युला ओब्लङ्गाटा, मिडब्रेन र थैल्मिक क्षेत्र हुँदै टेम्पोरल लोवको औडिटरी कार्टेक्स नामक सेन्टरमा, जहाँ २०० देखि ३०० न्युरोन हुन्छन्, पुगेर विद्युतीय सिग्नलको इन्टरप्रेटेशन भई हामी आवाज सुन्न सक्ने हुन्छौं । टेम्पोरल कार्टेक्समा पनि सुन्ने क्षेत्रलाई एरिया ४१, एरिया ४२ र वर्निक्स एरिया भनेर छुट्याइएको छ । बार्थोलिमियस युस्टेचियसले कोक्लियाको खोज सन् १५५२ मा गरे । यो १२ गुणा ५ मिमी आकारको हुन्छ ।

आवाज तीन प्रकारका हुन्छन्–

इन्फ्रासोनिकः यो २० हट्र्जभन्दा सानो हुन्छ, जसलाई हाम्रो कानले सुन्न सक्दैन तर कुकुरले सुन्न सक्छ ।

सोनिकः आवाजको जुन वेभलाई हाम्रो कानले सुन्न सक्छ, त्यसलाई सोनिक साउन्ड भनिन्छ । यसको वेभको रेन्ज २० देखि २०००० हट्र्ज हुन्छ अर्थात् हामी यस रेन्जको आवाज मात्र सुन्न सक्छौं ।

अल्ट्रासोनिकः यस्तो आवाजलाई पनि हामी सुन्न सक्दैनौं किनभने यसको वेभ वा फ्रिक्वेन्सी २० किमी हट्र्जभन्दा बढी हुन्छ । हामीले नसुने पनि धेरै जनावर यसलाई सुन्न सक्छन् । हात्तीले यस माध्यमबाट र यहाँसम्म कि इन्फ्रासोनिक आवाजबाट २०० मिल टाढा भएको बथानसँग संवाद गर्छ । अल्ट्रासाउन्डको एउटा गुण यो हुन्छ कि जब यो कुनै वस्तुसँग ठोकिन्छ, तब प्रतिध्वनि भई फर्केपछि चमेरो वा अन्य जनावरले शत्रुको पहिचान गर्छन् । चमेरो, डल्फिन, भ्यागुताहरूले पनि यसको प्रयोग गर्छन् । कुकुरले ५० किलो हट्र्जको आवाज, बFँदरले ९१ किलो हट्र्ज, गाईले १६ देखि ४०००० हट्र्जको आवाज सुन्न सक्छन् । बिरालोले सुन्न त सक्छ तर संवाद गर्न सक्दैन । यसको गुण चित्र बनाउनु पनि हो, जसको उपयोग गरेर मेडिकल समस्या वा गर्भावस्थामा बच्चाको अवस्था प्रत्यक्ष देखेर पत्ता लगाउन सकिन्छ । यसको अलावा अल्ट्रासाउन्डको प्रयोग पानीको वस्तु वा शत्रुजहाज पत्ता लगाउन पनि गरिन्छ ।

यसरी जब आवाज काननजीक आउँछ, तब पाइनाले यसलाई बाहिरी कानमा पठाउँछ । यो आवाज जब टिम्पेनिक मेम्ब्रेनमा पुग्छ, तब उसको पिच वा फ्रिक्वेन्सी अनुसार मेम्ब्रेन थर्थराउँछ । बढी भए कम र कम भए बढी बनाएर कोक्लियाको द्रवमा पु¥याइदिन्छ, जहाँ यसको गति अरू तीव्र बन्छ । अनि कोक्लियाको द्रवमा कम्पन पैदा हुन्छ । त्यहाँ भएका हेयर सेल्सले त्यसलाई समात्छन्, जुन वास्तवमा नर्भ रिसेप्टर हुन्, जसले ध्वनि तरङ्गलाई विद्युतीय तरङ्गमा बदलेर कोक्लियर नर्भमा पु¥याउँछ, जुन मेड्युला ओब्लाङ्गाटा, मिडब्रेन र थैल्मिक क्षेत्र टेम्पोरल लोबको एरिया ४१, ४२ र वर्निक्स एरियामा पुगेर प्रोसेसिङ हुन्छ र इन्टरप्रेट भई हामी त्यसलाई सुन्ने गर्छौं । पुरुषको आवाज २० देखि १५५ हट्र्ज र महिलाको १६५ देखि २५५ हट्र्जसम्म हुन्छ । हामी प्रायः १८० मिटर दूरीसम्मको आवाज स्पष्ट सुन्न सक्छौं । बढी होहल्ला, बुढेसकाल, रेडिएशन, किमोथेरापीले औडिटरी नर्भलाई नष्ट गर्छ, जसले गर्दा आधुनिक हियरिङ एड प्रयोग गर्नुपर्छ । तर जन्मजात बहिरोमा हियरिङ एडले काम गर्दैन ।

यस प्रणालीको सम्पूर्ण अनुसन्धान गरेबापत जर्ज भोन वेकेसीले सन् १९६१ मा नोबेल पुरस्कार पाए । उनी हङ्गेरीको बुडापेस्टमा ३ जून १८९९ मा पैदा भई अन्ततः अमेरिकाको नागरिक बनी त्यहीं हवाईमा १३ जून १९७२ मा बिते । अस्तु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here