• उमाशङ्कर द्विवेदी

त्यति बेला सहदेव मृत्युको निकट पुगिसकेका थिए, कर्णले चाहेको भए उनलाइ मार्न सक्थे तर कुन्तीसित गरेको वाचालाई सम्झेर कर्णले सहदेवको वध गरेनन् । सहदेव निन्याउरो मुख लगाए । उनी कर्णको बाणबाट पीडित त छँदै थिए, कर्णको वाग्बाणबाट पनि सहदेव निकै व्यथित थिए । त्यसैले उनलाई जीवनबाट वैराग्यझैं भइसकेको थियो । उनी बडो तीव्रताको साथ गएर पाञ्चाल राजकुमार जनमेजयको रथमाथि बसे ।

यसै प्रकार द्रोणको मुकाबिला गर्नको निम्ति राजा विराट पनि आफ्नो सेनाको साथ आउन लागेका थिए, उनलाई बीचमैं रोकेर मद्रराज शल्यले बाणवर्षा गरेर उनलाई आच्छुआच्छु पारिदिए । उनले बडो फुर्तीका साथ राजा विराटमाथि एक सयवटा बाण हाने । यो हेरेर राजा विराटले पनि पहिले नौवटा, फेरि त्रिहत्तरीवटा, त्यसपछि एक सयवटा बाण हानेर राजा शल्यलाई घाइते पारिदिए । अनि मद्रराजले राजा विराटको रथको चारवटै घोडालाई मारेर दुईटा बाण हानी सारथि र ध्वजालाई पनि काटिदिए । अनि राजा विराट रथबाट हाम्फालेर धनुष तानी बाणवर्षा गर्न थाले । आफ्ना भाइलाई रथहीन भएको हेरेर शतानीक अर्को रथ लिएर उनको सहायताको लागि आइपुगे । उनलाई आफूतिर आइरहेको हेरेर मद्रराजले अनेकौं बाण हानी शतानीकलाई यमलोक पठाइदिए ।

आफ्नो वीर बन्धुलाई मरेको हेरेर महारथि विराट तत्काल नै उनको रथमा बसे तथा क्रोधले आँखा रातो पार्दै यति बाण हाने कि मद्रराजको रथ छोपियो । अनि मद्रराजले राजा विराटको छातीलाई ताकेर बडो भयङ्कर बाण हाने । उनी त्यस आघातलाई सम्हाल्न सकेनन्, मूर्छित भएर रथको बैठकमा गई खसे । यो हेरेर उनको सारथिले उनलाई रणभूमिबाट टाढा लगे । यता शल्यले सैकडौं बाण हानेर राजा विराटको सेनाको संहार गर्न थाले । यस कारण त्यो वाहिनी त्यस रात्रिकालमा भाग्न थाल्यो । सेनालाई रणभूमिबाट भाग्न लागेको हेरेर श्रीकृष्ण र अर्जुन मद्रराज शल्य रहेको ठाउँतिर हिंडे तर राक्षस अलम्बुष त्यहाँ आइपुगेर उनीहरूलाई बाटैमा रोकिदियो । यो हेरेर अर्जुनले चारवटा तीखो बाण हानेर राक्षस अलम्बुषलाई घाइते पारिदिए । यसबाट भयभीत भएर राक्षस अलम्बुष त्यहाँबाट भाग्यो । राक्षस अलम्बुषलाई परास्त भएको हेरेर अर्जुन तत्काल आचार्य द्रोणको छेउमा पुगेर पैदल, घोडचढी, तथा हात्तीसवारमाथि बाण समूहको वृष्टि गर्न थाले । उनको मारबाट कौरवसेना आँधीमा उखेलिएका वृक्षझैं धराशयी हुन थाल्यो । महाराज, अर्जुनले यस प्रकारले संहार गर्न थालेपछि तपाईंको पुत्रको सेनामा भागदौड मच्चियो ।

एकातिरबाट नकुलपुत्र शतानीक आफ्नो शराग्निबाट कौरवसेनालाई भष्म गर्दै आइरहेका थिए, उनलाई तपाईंको पुत्र चित्रसेनले रोके । शतानीकले चित्रसेनमाथि पाँचवटा बाण हाने । चित्रसेनले पनि शतानीकमाथि दशवटा बाण हानेर पालो फर्काए । अनि नकुलपुत्रले चित्रसेनको छातीमा अत्यन्त तीक्ष्ण बाण हानेर उनको कवचलाई च्यातिदिए । फेरि अनेकौं तीक्ष्ण बाण हानेर उनको रथको ध्वजा र धनुषलाई काटिदिए । चित्रसेनले हातमा अर्को धनुष उचालेर शतानीकमाथि नौवटा बाण हाने । महाबली शतानीकले पनि उनको चारवटै घोडा र सारथिलाई मारिदिए । फेरि एउटा अद्र्धचन्द्राकार बाण हानेर उनको रत्नमण्डित धनुषलाई पनि काटिदिए । धनुष काटियो, घोडा र सारथि मारिए, यसबाट रथहीन भएका चित्रसेन तत्काल भागेर कृतवर्माको रथमा गई बसे ।

सञ्जय भन्छन्– द्रोणाचार्यको मुकाबिला गर्नको लागि राजा दु्रपद आफ्नो सेनाको साथ अगि बढ्दै आइरहेका थिए । त्यति बेला वृषसेन सयकडौं बाणको वर्षा गर्दै उनको सामु आए । यो हेरेर दु्रपदले कर्णनन्दनको भुजा र छातीमा साठीवटा बाण हाने । यसबाट अत्यन्त क्रोधित भएका वृषसेनले रथमाथि बसेका राजा दु्रपदको छातीमा अनेकौं तीक्ष्ण बाण हाने । यस प्रकार दुवैले एकअर्काको शरीरलाई घाइते पारिदिए, दुवैका अङ्गहरूमा अनेकौं बाण रोपिएका देखिन्थे । दुवै रगताम्य थिए । यसैबीचमा राजा दु्रपदले एउटा भल्ल हानेर वृषसेनको धनुषलाई काटिदिए । वृषसेन तत्काल अर्को धनुष हातमा लिएर दु्रपदतिर लक्ष्य गरेर एउटा भल्ल हाने । त्यो भल्ल दु्रपदको छातीलाई छेडेर पृथ्वीभित्र छि¥यो र राजा दु्रपद मूर्छित भए । यो हेरेर सारथिले आफ्नो कर्तव्यको विचार गरेर उनलाई तत्कालै त्यहाँबाट टाढा लग्यो । अनि त त्यस भयङ्कर रात्रिमा दु्रपदको सेना रणभूमिबाट भाग्यो । वृषसेनको त्रासको कारणले सोमक क्षत्रिय पनि त्यहाँ टिक्न सकेनन् । प्रतापी वृषसेन सोमकहरूका अनेकौं शूरवीर महारथीहरूलाई परास्त गरी तत्काल राजा युधिष्ठिरको छेउमा पुगे । क्रमश …

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here