ठोरीमा नेपाल–भारत सीमावर्ती बासिन्दाबीच विगतदेखि वर्तमानसम्म जतिसुकै र जुनसुकै बहानामा विवादहरू भएपनि त्यसको चुरो भनेको पानी नै हो । ठोरी खोला सिंचाइ बाँधस्थलबाट भारततर्फ दुईवटा र नेपालको रामनगरतर्फ एउटा सिंचाइ कुलो गएको छ । यसरी कुलो बाँडफाँड गरेको भूमि नेपालभित्र पर्छ । वर्तमान दशगजाभन्दा करीब तीन सय मिटर नेपालभित्र नेपाली भूमिका रहेको उक्त स्थल भारतको हो भन्ने विगतमा भारतीय पक्षको दाबी थियो । उक्त भूमि नेपालकैे हो भन्ने नेपाली पक्षको अडान । सिंचाइको समय आएपछि दुवैतर्फका किसानहरू सिंचाइ कुलोको बाँधस्थलमा भेला हुने र आअफ्नो दाबी, तर्क पेश गर्दै झडपसमेत हुने गथ्र्यो । लामो विवादपछि त्यहाँ सीमा स्तम्भ राखियो । बाँधस्थल नेपालतर्फ नै रह्यो । वीरगंज–ठोरी हुलाकी सडक बन्ने क्रममा नेपाल साथै भारततर्फ गएका तीनवटै सिंचाइ कुलो पार गरेर सडक लानुपर्ने भयो । कुलो सबै पुरेर सडक लानुपर्छ भन्ने नेपाली किसानहरूले माग राखे भने कुलोमा ह्युमपाइप राखेर वा कल्भर्ट बनाएर मात्रै सडक छिचोल्नुपर्छ भन्ने भारतीय किसानहरूको माग रह्यो । यसैमा लफडा भएपछि पुल बन्न सकेन ।
पालिकामा नयाँ पदाधिकारीहरू आएपछि दुवै तर्फकालाई आंशिक माग छोड्न लगाउने गरी सहमतिमा ल्याउने प्रयास गरियो । भारततर्फ दुईवटा कुलोको ठाउँमा एउटा कुलो पुरेर अर्को कुलोमा ह्युमपाइप राखी सिंचाइ पानी छोड्ने, यदि भारतीय पक्षलाई थप पानी लान परे वर्तमान बाँध क्षेत्रबाहेक, ठुटेखोलामा पुल बनेको क्षेत्रबाट अर्को बाँध बनाएर सिंचाइ पानी लान पाउनेगरी दुवैतर्फका प्रतिनिधिबीच अलिखित भद्र सहमति भयो । सो सहमति अनुसार अवरुद्ध हुलाकी सडकदेखि पुलसम्मको पहुँच मार्ग सञ्चालनमा आयो । हरेक पाइलामा राजनीतिक चश्मा लगाएर हेर्ने र सोही अनुसार विश्लेषण गर्ने हाम्रो संस्कार छ । ठोरीमा पनि त्यही भयो । पालिकाका पदाधिकारीहरूमाथि पानी बेचेर खायो भन्ने आरोप लाग्यो । निवर्तमान वडाअध्यक्षको संयोजकत्वमा सङ्घर्ष समिति गठन भएको छ । नेपालबाट कुनै पनि हालतमा भारततर्फ पानी जान नदिने, पानी चाहिने नै हो भने खोलामा बगेर गएको पानी भारतीय क्षेत्रमा पुगेपछि सिंचाइ बाँध बनाएर लैजाओस् भन्ने सङ्घर्ष समितिको भनाइ छ । समितिको अडानका कारण हाल बाढीले बाँध बगाउँदा पनि भारतीय किसानले नेपाल प्रवेश गरेर बाँध मरम्मत गर्न पाएका छैनन् ।
पानी अभाव होइन । नेपालतर्फ वर्तमान कुलो संरचना अनुसार हाल उपभोग गरिरहेको २० प्रतिशतभन्दा बढी पानी ल्याउन गा¥हो छ । कुलो सुधार गर्ने र ठुटे मुहानको पानी पचास प्रतिशत मात्रै ल्याउने हो भने पनि नेपालतर्फको रामनगरदेखि बुद्धनगरसम्मलाई पर्याप्त हुन्छ । विगतमा सीमावर्ती ठूलो भूभागका भारतीय किसानहरू ठुटे मुहानकै बाँधमा आश्रित थिए । भारतीय क्षेत्रमा पुगेपछि नदी गहिरिएको कारण अल्पकालीन बजेटले सिंचाइ बाँध बनाउन उनीहरू सक्दैनन् । एक दिन यो समस्या आउँछ भन्ने थाहा पाएका भारतीयहरूले सिंचाइ बोरिङ जडान गर्ने कार्यलाई तीव्रता दिएका छन् । भारततर्फ विकल्प खडा हुँदै जाँदा र नेपालतर्फ भौतिक पूर्वाधारहरू निर्माण हुँदै गएपछि यहाँ सिंचाइ पानीको विवाद नरहला । तबसम्मका लागि दुवैतर्फकाले आपसी समझदारी, सहमतिका साथ भाइचारा र आत्मीय सम्बन्ध नबिग्रने गरी समस्या समाधान गर्नु उत्तम विकल्प देखिन्छ । यसको निम्ति दाउपेचभन्दा माथि उठ्न सक्नुपर्छ ।