प्रस, वीरगंज, ५ असोज/
वीरगंज महानगरपालिका कार्यालयबाट बर्सेनि सात किलोमिटर कालोपत्र सडक निर्माण हुने गरेको छ । तर बर्सेनि बन्ने कालोपत्र सडक भने टिकाउ नहुने गरेको र एकाध वर्षमैं भत्किने गर्छ ।
महानगरले अहिले ३२ वटा वडामा कालोपत्र गर्दै आएको छ । तर अहिलेसम्म बनेका कुनै पनि कालोपत्र टिकाउ नहुँदा पनि महानगरको पुरानो स्वरूप नगरपञ्चायत, नगरपालिका, उपमहानगरपालिका र अहिले महानगरमा परिणत हुँदा पनि पुरानै शैलीमा कालोपत्रको काम भइरहेको छ । महानगरबाट गरिने कालोपत्र २० एमएमभन्दा बढी मोटो नहुने गरेको योजना शाखाका प्रमुख राजेश चौरसियाले बताए । उनले नगरप्रमुखमा राजेशमान सिंह आएपछि घण्टाघर–माईस्थान सडकखण्डको करीब पाँच सय मिटर कालोपत्र सडक विभागको मापदण्ड अनुसार बनेको र आगामी दिनमा महानगरले बनाउने कालोपत्रको मोटाइ २० एमएमभन्दा बढी नै हुने बताए । सडकको अवस्था हेरेर ३० देखि ४० एमएमसम्म कालोपत्र सडक निर्माण गरिने उनले बताए । अहिलेसम्म महानगरमा प्रिमिक्स प्रविधिबाट कालोपत्र हुने गरेको उनले बताए । आगो बालेर कालोपत्र (पिच) पकाउँदा दक्ष कामदार भएको बेला ठीक तरीकाबाट पिच पाक्ने नत्रभने कम पाक्ने, बढी पाकेर डढ्ने जस्ता कार्य हुने गरेकाले पिच सडक बिग्रने गरेको इन्जिनीयर चौरसियाले बताए । शाखा प्रमुख चौरसियाले अब भने असफाल्ट प्रविधिबाट पिच तयार गरिने र प्रयोग हुने बताए ।
यो प्रविधिमा मेशिनको प्रयोग हुने र प्राविधिकले आवश्यक मापदण्ड तय गरेर पिच पकाउने र सोही पिच सडकमा प्रयोग गरिने भएकोले कालोपत्रको गुणस्तरमा वृद्धि हुने दाबी गरे । उनले आगामी दिनमा असफाल्ट प्रविधिको प्रयोग महानगरका कालोपत्र निर्माणमा अनिवार्य गरिने र ठेकेदारसँग यो प्रविधिको यन्त्र नभएको खण्डमा महानगरले भाडामा उपलब्ध गराउने गरी सम्झौता हुने बताए ।
महानगरमा अहिलेसम्म कालोपत्र निर्माण कार्य कोटेशन र उपभोक्ता समितिबाट बढी र टेन्डरबाट थोरै मात्र हुने गरेको छ । कोटेशन र उपभोक्ता समितिमा आफ्ना मानिस, कार्यकर्ता र कमिशन दिने ठेकेदारको मात्र पहुँच हुने हुँदा महानगरले टेन्डर प्रक्रियाबाट यस प्रकारका योजनाहरू कमै मात्र गराउने गरेको छ । कमिशनबाट हुने कामहरू यस कारण अहिलेसम्म कमसल हुँदै आएको हो ।