• राजेश मिश्र

 ‘हँसुवा में दाँत काट दीं ना काकाजी ! धान कटनी करे जाए के बा । एक भोरे से लोहसारी में आइल बानी ।’ ‘हँसियामा धार लाइदिनुस् न काका । धान काट्न जानुछ । बिहानैदेखि लोहसारीमा आएकी छु ।’ मिस्त्रीले काम गरिरहँदा लोहसारीमा यस्ता संवाद सुन्न पाइन्छ ।

आजको आलेखमा विश्वकर्मा भगवान्को उत्पत्तिको कथा, श्रीलङ्काको पुरातात्विकस्थल सिगिरियाको अद्भुत इतिहासका साथै भगवान् विश्वकर्माको विद्याबाट पे्ररित भई निर्माण कार्यलाई निरन्तरता प्रदान गर्ने विभिन्न पारम्परिक उद्यममध्ये लोहसारको वर्तमान अवस्था बारे चर्चा गरिएको छ ।  

विश्वकर्मा भगवान्को उत्पत्ति

पौराणिक कथा अनुसार ब्रह्माण्डमा सर्वप्रथम भगवान् विष्णु प्रकट भए । भगवान् विष्णु क्षीरसागरमा आराम मुद्रामा थिए । भगवान्को नाभीबाट एउटा कमल उत्पन्न भयो । सोही कमलबाट चारमुख भएका ब्रह्मा प्रकट भए । ब्रह्माजीको पुत्रको नाम वास्तुदेव थियो । वास्तुदेव वास्तु नामकी स्त्रीबाट जन्मेका सातौं पुत्र थिए । वास्तुदेवकी पत्नीको नाम अंगिरसी थियो । अंगिरसीको गर्भबाट पुत्रको जन्म भयो, जसको नाम ऋषि विश्वकर्मा थियो । पिता वास्तुदेव जस्तै ऋषि विश्वकर्मा पनि वास्तुकलाका गुरु थिए । पिताजस्तै भगवान् विश्वकर्मा वास्तुकलाको महान् विद्वान् बने ।

विश्वकर्माले विष्णु भगवान्को सुदर्शन चक्र, भोलेनाथको त्रिशूल, कृष्णको द्वारका नगरी, पाण्डवहरूको इन्द्रप्रस्थ, पुष्पक विमान, इन्द्रको बज्र, सुनको लङ्कालगायत जगत् निर्माणको कार्यलार्ई गति प्रदान गरेको मान्यता छ । विश्वकर्माले भगवान् शिवको लागि लङ्कामा बनाएको सुनको महल, रावणले दक्षिणास्वरूप प्राप्त गरेको मान्यता छ ।

विश्वकर्मा भगवान्को पूजा

आश्विन महीनाको कृष्ण पक्षको चतुर्दशी तिथिमा विश्वकर्मा भगवान्को पूजा गरिन्छ । आजको दिन भगवान् विश्वकर्माको जन्म भएकोले पूजा गर्दा विशेष फल प्राप्त हुने लोकमान्यता छ । विश्वकर्मा भगवान्लाई जगत्को पहिलो वास्तुकार वा इन्जिनीयर भनिन्छ । यसै कारण प्राविधिक पेशाकर्मीहरूले मशिन तथा औजार विश्वकर्मा भगवान्लाई अर्पण गरी धूमधामले पूजा गर्छन् ।

गुगलमा आश्चर्यजनक पुरातात्विक स्थल खोज्दै जाँदा श्रीलङ्काको ‘सिगारिया’ बारे पढेर म स्तब्ध भएँ । यो विश्वको आठौं अजुबा पुरातात्विक स्थल हो । यसलाई राजा रावणको महलहरूमध्ये एक मानिन्छ । जङ्गलबीच ६६० फिट अग्लो चट्टानमाथिको समतल भाग यस्तो लाग्छ कि कसैले ठूलो चक्कुले काटेर समतल बनाएको हो । उक्त चट्टानको शीर्षमा अविश्वसनीय भग्नावशेषहरू छन्, जुन अत्यन्त रहस्यमय छन् ।

सिगिरियाको शीर्षमा ईंटा र सङ्गमरमरले निर्मित थुप्रै अनौठा संरचनाहरू छन् । यसले आगन्तुकहरूलाई मात्र आश्चर्यचकित पार्दैन, अपितु पुरातत्वविद्हरू पनि पूर्णरूपमा बुझ्न सक्षम छैनन् । यी संरचनाहरू केका लागि प्रयोग गरिएको थियोे भन्दा पनि कसरी निर्माण भएको होला भन्ने रहस्य बढी आश्चर्यजनक छ । पुरातत्वविद्हरूका अनुसार सिगिरियाको निर्माणमा झन्डै ३० लाख ईंटा र थुप्रै सङ्गमरमर प्रयोग भएको थियो । तर निर्माणका ती संसाधन सिंढी नभएको सिगिरियामाथि जमीनबाट कसरी पु¥याइयो होला ? यसबारे स्वयं पुरातत्वविद्हरू आश्चर्यचकित छन् । यसबाहेक सिगिरियामाथि ९० फिट लामो, ६८ फिट चौडा र करीब ७ फिट गहिरो पानीको ट्यांकी छ ।

१५०० वर्ष पुरानो दाबी गरिएको सिगिरियाबारे २०० वर्ष अघिसम्म स्थानीयलाई पनि थाहा थिएन । पुरातत्वविद् जोनाथन फोब्र्सले सन् १८३१ मा सिगिरियाको भग्नावशेषको खोज गरेका थिए । सन् १९८० को दशकमा श्रीलङ्का सरकारले यसलाई पर्यटकीय स्थल बनाउन धातुका स्तम्भ प्रयोग गरी सिंढी निर्माण गरेको थियो । सिगिरियाको निर्माण कसले र कहिले ग¥यो भन्ने प्रश्न आजसम्म रहस्य छ ।

लोहसारको अवस्था

लोहसार घरायसी औजार उत्पादन गर्ने पारम्परिक कारखाना हो । जीवन यापनमा प्रयोग हुने विभिन्न प्रकारको औजार बनाउने सीप पुरातनकालदेखि पुस्तान्तरण हुँदै आएको छ । तर दुनियाँ प्रगतिशील हुँदै जाँदा पारम्परिक सीप र उद्यम धराशायी बन्दै गए । विश्वकर्मा भगवान्ले जगत्को निर्माण गरेझैं लोहार जातिले मानवको जीवनयापनको लागि आवश्यक फलामजन्य औजार
गर्छन् ।

उहिले प्रायःजसो गाउँमा लोहसार थियो । हलो, कोदालो, खुर्पी, हँसिया र हथौडालगायत विविध औजार निर्माणको कार्य लोहसारमा निर्भर थियो । लोहसार नै फलामजन्य घरायसी औजार उत्पादन गर्ने कारखाना थियो । पुरातनकालदेखि कृषि कार्यमा प्रयोग हुने उपकरण निर्माण गरी कृषि र घरायसी आवश्यकता पूर्ति गर्नुका साथै पेशाकर्मीहरूको रोजीरोटी पनि चल्थ्यो ।

अचेल लोहार जातिको पेशा सङ्कटमा छ । अपवादबाहेक यस पेशाबाट जीवन धान्ने अवस्था असम्भवप्रायः छ । त्यस कारण आधुनिकतासँगै सीप र पेशाको पुस्तान्तरण अवरूद्ध भएको छ । यद्यपि पारम्परिक पुस्तैनी पेशालाई आधुनिक उद्यमशीलतामा परिणत गरी अग्रगति प्रदान गर्ने शिक्षित युवा पुस्ता छैन भन्ने होइन । तर यो सङ्ख्या अति न्यून छ । खासगरी ग्रामीण भेगमा घरायसी औजार उत्पादन तथा मरम्मत गर्ने लोहसारको सङख्या घट्दो भए पनि अस्तित्वमा भने छ ।

पारम्परिक सीपलाई निरन्तरता दिन स्थानीय तह जिम्मेवार बन्नुपर्दछ । यसका साथै सहुलियत दरमा ऋण प्रवाह गर्न सके घरेलु उद्योगको रूपमा विकसित गर्न सकिन्छ । युवा पुस्तालाई आकर्षित गर्नुका साथै रोजगार सृजना गर्न सकिन्छ । यसका लागि सामाजिक मनोविज्ञान परिवर्तन हुन जरूरी छ । पढेलेखेको युवाले यो काम वा त्यो काम भन्दै हेला गर्ने मनोविज्ञानले पनि यस पेशामा युवा आकर्षण घट्दो छ । बरु पढेलेखेको युवाले अरूको बन्धनमा रहेर जागीर गर्नुभन्दा वंशानुगत पेशा आधुनिकीकरण गर्न सके गरिमामय रोजगार बन्न सक्छ । अर्काको देशमा दुःख गरेर कमाएको धनभन्दा स्थानीय स्तरमा श्रम गर्न सरकारले पनि प्रोत्साहन दिनु उत्तिकै आवश्यक छ ।

वंशानुगत पेशालाई निरन्तरता दिइरहेका पर्सागढी नगरपालिका–४ सबैयाटाँडी निवासी ३५ वर्र्षीय श्याम विश्वकर्मासँग भएको कुराकानीको सङ्क्षिप्त अंश प्रस्तुत छ :–

पर्सागढी नपा–४ सबैयामा मेरो घर छ । अहिले हामी कुराकानी गरिरहेको मेरो लोहसारी यसै नपाको वडा नं ३ बिरुवागुठी हो । यो झुपडी नै मेरो कारखाना हो । लोहसारीको भरमा जीविकोपार्जन गर्दै आएको छु । तर यसबाट हुने कमाइले परिवार पाल्न धेरै कठिन छ । सातजनाको परिवारमा म एक्लो मात्र यस पेशालाई निरन्तरता दिइरहेको छु ।

मपछि शायद मेरो परिवारमा यो पेशा नाशिएर जान्छ । किनभने श्रम बढी र आम्दानी थोरै हुने भएकोले छोरा, भतिजाहरूलाई यस पेशामा आकर्षण छैन । लोहसारीको कमाइले पारिवारिक खर्चको न्यून अंश मात्र पूर्ति हुँदो रहेछ । बाल्यकालदेखि यसै पेशामा आबद्ध रहेकोले म यो पेशाबाहेक अर्को काम गर्न जान्दिनँ ।

पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको यो पेशा हजुरबुबा स्वर्गीय बहादुर मिस्त्रीबाट बुबा स्वर्गीय गोपाल मिस्त्री तथा बुबाबाट मैले सिकेको हुँ । मेरो बुबालाई (हाँस्दै) ‘चाउर मिस्त्री’को नामले छरछिमेक गाउँका मानिसहरू चिन्थे । मलाई जानकारीमा बुबाले धान कुट्ने मिलमा जाँदा चामल खुब खानुहुन्थ्यो । त्यसै कारण चाउर मिस्त्री भन्दै चारैतिर उहाँलाई यही नामले मानिसहरू बोलाउन थाले ।

बुबाले लोहसारीमा काम गरिरहँदा म पनि केही न केही गरिरहन्थें । उमेर बढ्दै जाँदा बुबाको निर्देशन अनुसार भाथी र घन चलाउँथे । बुबालाई काममा सघाए बापत बरफ, चिनियाँ बदाम वा चकलेट आदि खान पाइन्थ्यो । बिस्तारै रमाउँदै काम गर्न थालें । बुबाको अनुपस्थितिमा हँसियामा दाँत काट्ने (धार लाउने) काम गर्दथें । यसैगरी लोहसारीमा हुने सबै काम सिकें ।  

हँसिया, खुर्पी, कोदालो, बन्चरो आदि बनाउने देखि धार लगाउने र हँसियामा दाँत काट्ने काममा सीमित छुु । सीप छ तर रोजगार बढाउन पूँजी छैन ।

बर्वाटाँडी, बगडेरवा र बिरुवागुठी गरी झन्डै पच्चीसजना किसानको वार्षिक ज्यालादारीमा काम गर्दछु । ज्यालाको रूपमा काम अनुसार वर्षको पच्चीसदेखि पचास किलो धान/गँहु पाउँछु । वर्षभरि काम गरेपछि तोकिएको धान एकपटक पाउने हो । यसबाहेक थोरबहुत नगद त हुन्छ तर त्यो भगवान् भरोसे छ । कहिले काहीं दुई/चार पैसा नगद आम्दनी भए तापनि प्रायःजसो रित्तो हात घर फर्कनुको विकल्प हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here