• सञ्जय साह मित्र

कुनै जमानाको कुनै चर्चित हिन्दी फिलिमको एउटा संवादको जस्तै बालेन जहाँ उभिएका छन्, लाइन त्यहींबाट शुरू भएको सडक अभियानको सन्दर्भमा । अहिले देशका धेरै पालिकाले आफ्ना अनेक कर्तव्यमध्ये सडकको पनि सुरक्षा हुनुपर्छ भन्ने बुझेका छन् । सडकतिर समाजको ध्यान तानिएको छ । देशका चर्चित पालिकादेखि खासै कहिल्यै चर्चामा नआउने पालिकाहरूले पनि बालेन साहको अनुकरण गर्न खोजेको देखिएको छ । कतिपयले सोझो अनुकरण र कतिपयले सिर्जनात्मक अनुकरण गरिरहेका छन् । अहिले नगरे इतिहासले नै गर्न नसकेको भनेर कालो पोत्ने डर धेरैलाई लाग्न थालेको छ । अरूले आलोचना गर्ला कि नगर्ला तर आफैंले आफैंलाई आलोचना गर्ने मनोविज्ञान सिर्जना गर्न पुगेको बालेनको अभियानले देशमा एउटा अभियानको थालनी गरेको छ । केही आलोचना वा नकारात्मक टिप्पणी नभएका होइनन् तर आलोचनाभन्दा बढी प्रशंसा भइरहेको छ । बालेनको कामको प्रशंसाको छहारीमा स्थानीय पालिकाहरूको आलोचना वा प्रशंसा भइरहनु नौलो होइन, तर पृथक भने अवश्य छ ।

कुनै समय डा. बाबुराम भट्टराई प्रधानमन्त्रीको हैसियतमा नेपालमा बनेको गाडी चढ्दा होस् वा काठमाडौंको सडक विस्तार गर्दा हास्, तत्कालीन परिवेशमा प्रशंसा र अनुकरणको धारा बगेकै हो । कालान्तरमा फेरि जस्ताको तस्तै भए पनि काठमाडौंको फराकिलो सडक देखेर डा. भट्टराईको कर्म भनेर जसकसैले मुक्तकण्ठले अद्यापि प्रशंसा गर्ने गर्दछन् । डा. भट्टराईको जुन हैसियत थियो, त्यो बालेनको छैन तर पनि बालेन कमजोर देखिएका छैनन् । हुन त कतिपयले भनिरहेका छन् कि हिरोपन्थीजस्तो देखिने बालेनको स्टन्ट धेरै दिन टिक्नेछैन किनभने बालेनले नियम बनाएका होइनन् । हुन पनि हो, बालेनले अहिले जे गरिरहेका छन्, पहिलेका नियम–कानून परिपालन गराउन खोजिरहेका हुन् । आफू दिनरात खटेर देशको राजधानी शहरको मेयरको हैसियतले कसरी हुन्छ, अझ राम्रो बनाउन खोजिरहेका छन् । नयाँ केही नगरे पनि र नयाँ गर्ने हैसियत नभए पनि, हिरोपन्थीको आरोप लगाउनेहरूले पनि बुझेका छन् कि यदि यसैगरी महानगरवासीले साथ र सहयोग दिइरहने हो भने काठमाडौंमा धेरै नयाँ हुने सम्भावना छ । काठमाडौंमा जब धेरै नयाँ कुरा हुन थाल्छ, शक्तिशाली स्थानीय सरकारहरू सोझो वा सिर्जनात्मक अनुकरण गर्न थालिहाल्छन् । अहिलेको परिदृश्य त, बालेन साहले काठमाडौंमा केही गर्दा, अन्यत्रका नागरिकले पनि आफ्नो पालिकासित सामाजिक सञ्जालमार्फत सोही कारबाई माग्न शुरू गरिरहेका छन् ।

बालेन अभियानले सडक उपभोक्ताको मनोविज्ञानमा पनि सकारात्मक प्रभाव पारेको छ । आजभोलि सडकमा हिंड्ने पैदल यात्री वा मोटरसाइकल चालकले सडकको छेउमा उभिएर सामान बेचिरहेका, कुनै संरचना खडा गरेका तथा सडक क्षेत्रभित्र पसल थाप्नेहरूसित मुखेन्जी कुरो गर्न थालेका छन् । सवारी पार्किङ गर्दा पनि पसलेले कराउन छोडेका छन् । सडक कसको हो भन्ने कुरो सडक अतिक्रमण गर्नेले र सडकका वास्तविक उपभोक्ता दुवैले बुझ्न थालेका छन् । यदि सडकलाई अतिक्रमण गरेर पसल सञ्चालन गरेका छन् र तिनले यात्रीलाई हप्काउने काम गरिरहेका छन् भने यात्रीहरू नै एकजुट भएर प्रतिकार गर्न थालेका छन् । उस्तै परे सोझै प्रहरीलाई खबर गर्न थालेका छन् । यद्यपि यस प्रकारको गतिविधिको क्षेत्र अझै सीमित छ, व्यापक हुन बाँकी छ तर शुरूआत भइसकेको छ र अब यसले निरन्तर विस्तार पाउने निश्चित छ, किनभने काठमाडौंको डोजरले लक्ष्य पूरा गर्ने विश्वास देशलाई नै रहेको छ । बालेनको अभियानमा जुन आत्मबल छ, त्यो लरतरो देखिंदैन । यसले यो सङ्केत गरेको छ कि यस अभियानले निरन्तरता पाउनेमा शङ्का छैन । यसको अर्थ यो पनि हो कि देशको अन्य भागमा पनि आफ्नै पहलमा सडक अतिक्रमण हटाउने कामले गति पाउने निश्चित छ ।

हरेक असल कामका अनेक व्यवधान हुने गर्दछन् । यसमा कुनै शङ्का छैन कि कुनै पनि काम निर्वाध सम्पन्न हुन निकै मुश्किल हुन्छ । अझ सडक अतिक्रमण गरेर रोजीरोटी चलाइरहेका, निजी उपभोगमा ल्याएका, उपभोगमा एकाधिकार कायम राखेका तथा सडकबाट अन्य फाइदा लिइरहेकाहरूले अनेक जालझेल गरी व्यवधान खडा गर्न पुग्छन् । अझ हाम्रो समाजमा त कतिपयले के बुझेका छन् भने विरोधीको काम सोझै विरोध गर्नु हो । राम्रो गरोस् तैपनि विरोध, नराम्रो गरोस् तैपनि विरोध । विरोध नगरी धर्म निर्वाह हुँदैन । तर यस्ता विरोधीहरूले के बिर्सेका हुन्छन् भने राम्रो कामको प्रशंसा पनि गर्नुपर्दछ । राम्रो कामको प्रशंसा नगर्ने र सम्भव भएसम्म राम्रो कामको पनि विरोध गर्नेहरूले केवल विरोधका लागि विरोध गरेका हुन्छन् र यस्ताको विरोधको वास्ता गरिनुहुन्न । यदि सधैंका लागि र सबैको लागि राम्रो काम गर्ने क्रममा बाधा, अडचन, व्यवधान तथा विरोध आउँछ भने यसरी अवरोध गर्ने वा गर्न चाहनेलाई पनि समाजले चिनिरहेको हुन्छ । गत स्थानीय तहको निर्वाचनमा केही हदसम्म यसको प्रभाव देखिएको छ । नकारात्मक टिप्पणी गर्ने तर आफूले समाजको कुनै क्षेत्रमा पनि सकारात्मक काम गर्न नसक्नेलाई धेरै हदसम्म समाजले पाखा लगाएकै हो । तर कसैले जतिसुकै राम्रो काम गरेको दाबी गरोस्, जनताले बोलीमा होइन व्यवहारमा विश्वास गरेको छन् । आफैंलाई ठूलो ठान्ने मपाईंका धनीलाई आफ्नो भोटले ल्याकतहीन बनाएका छन् । सम्भवतः जनतालाई यही अर्थमा जनार्दन भनिएको हो र जनार्दनले सामाजिक सञ्जालमार्फत आफ्नो अभिव्यक्ति प्रस्तुत गर्दा थोरै भए पनि कदर हुन थालेको छ । अझ बढी हुनेमा बालेन साहको अभियानले भूमिका खेल्नेमा विश्वास गर्न थालिएको छ ।

बालेन साहले अहिले यस्तो परिस्थितिको निर्माण गरिदिएका छन् कि कुनै पनि नगरले नियम–कानून बनाएर वा पहिले नै प्रचलनमा रहेको नियम कानूनको परिधिमा रहेर सडक अतिक्रमण हटाउने कामलाई अगाडि बढाउँछन् भने धेरै ठूलो समस्या आउँदैन । समस्या समाधान गर्ने निकायको पनि मनोबल बढेको छ । सहयोग गर्ने निकायमा पनि उच्च मनोबल रहेको छ । विरोध गर्नेहरूको मनोबल कमजोर भएको छ । यो सर्वथा उचित समय हो तर कतिपयले के भनेका छन् भने मङ्सिरको दोस्रो हप्तादेखि सडकको अतिक्रमण हटाउने अभियान अझ तीव्र हुनेछ । अहिले सडक अतिक्रमण गरेर बस्नेहरूलाई हटाउने हो भने तिनले स्थानीय सरकारको प्रमुख रहेको दललाई भोट दिंदैनन्, तिनका आफन्तहरूले पनि दिंदैनन् । यसले गर्दा सम्बन्धित सरकार प्रमुखको पार्टीले कम भोट पाउने हुन्छ । यसबाट सम्बन्धित पार्टीको उम्मेदवार पराजित हुने सम्भावना रहन्छ । वर्तमान समयमा यो ठूलो रिस्क हो । अहिले ठूलो रिस्क मोल्न कमजोर मनोविज्ञान भएकाहरू तयार छैनन् । काम गर्ने रहर छ, काम गर्ने जोश पनि छ तर दलीय संरचना भएको र चुनाव नजीकै आइसकेको हुनाले एउटा तगारो लागेको छ । तगारोलाई तत्काल नहटाउने दबाब पनि छ र अर्को पक्ष यो पनि हो कि अहिले नै हतार किन ? केही समय पर्खंदैमा समय बितिहाल्दैन र यसै वर्ष यस अभियानलाई निरन्तरता दिन सकिन्छ । यसको अन्तरमा यो पनि लुकेको छ कि जब चारैतिर काम हुन थाल्छ तब जनमत बलियो हुन्छ र अतिक्रमण गर्ने पनि यसका लागि तयार हुन्छ र धेरै विरोधको सामना गर्नुपर्दैन अर्थात् विरोध गर्नेले पनि यो बुझ्ने समय पाउँछ कि विरोध गर्दा समाजमा बदनामी हुन्छ र अन्य झमेलामा पनि पर्न सकिन्छ । त्यो कसरी भने कतिपय पालिकाले यस कामको लागि बजेट विनियोजन गरेका छैनन् र जब सडक अतिक्रमण हटाउन मिति तोकेर सूचना जारी हुन्छ, त्यस मितिभित्र अतिक्रमणकारी स्वयंले हटाउँदैन भने पालिका स्वयंले हटाउँछ र लागेको खर्च सम्बन्धित अतिक्रमणकारीले नै बेहोर्नुपर्छ, सामान पनि जफत हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here