प्रस, वीरगंज, २५ भदौ/
निश्शुल्क भोजन खुवाउँदै आएको अन्नपूर्णा निश्शुल्क भोजन शिविरको तेस्रो वार्षिकोत्सव शनिवार सम्पन्न भएको छ ।
वीरगंज, ६ नम्बर गेट अगाडि ३ नम्बर रोडमा सञ्चालित निश्शुल्क भोजन शिविर कार्यक्रमका अध्यक्ष हरेन्द्रप्रसाद कुर्मीको अध्यक्षता एवं वीरगंज महानगरका निवर्तमान प्रमुख विजयकुमार सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा वीरगंज–६ का वडाअध्यक्ष जयप्रकाश साह विशिष्ट अतिथि थिए ।
सो अवसरमा प्रमुख अतिथि सरावगीले मानवसेवा नै सर्वोत्तम सेवा भएको चर्चा गर्दैे निश्शुल्क भोजन शिविर सेवाले नगरवासी गौरवान्वित भएको बताए । उनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समाज र मानवतालाई बुझेका योग्य एवं समाजसेवामा समर्पित उम्मेदवारहरूलाई जिताउन अपिल गरेका छन् । निश्शुल्क भोजन शिविरका लागि आफ्नो तर्फबाट सक्दो सहयोग हुने उनले प्रतिबद्धता जाहेर गरे ।
सो अवसरमा विशिष्ट अतिथि वडा अध्यक्ष साहले आफ्नो वडाको विभिन्न तीन ठाउँमा निश्शुल्क भोजन कार्यक्रम चलाएर दीन–दुःखी, असहाय, विपन्नहरूको सेवामा अतुलनीय योगदान पु¥याएको भन्दै शिविरको प्रशंसा गरे । आउने दिनमा वडा समिति र आफूले पनि व्यक्तिगतरूपमा यस्तो कार्यक्रम सञ्चालन गर्ने घोषणा गरे ।
वार्षिकोत्सव कार्यक्रममा शिविरका सहयोगी एवं पदाधिकारी सदस्यहरूलाई मुख्य अतिथि सरावगीले गमछा ओढाएर सम्मान गरेका थिए ।
वार्षिक कार्यक्रमको दिन शनिवार मात्रै करीब ३०० जनालाई निश्शुल्क भोजन गराइएको संस्थाका वरिष्ठ सदस्य हुकुम सिंहले जानकारी गराए । सो अवसरमा स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष लोकमान टिबडेवालले र सहजीकरण संस्थाका सदस्य लालबाबू सिंहले गरेका थिए ।