प्रस, वीरगंज, २३ भदौ/
सामान्य समस्याले गर्दा जिल्ला प्रशासन कार्यलय, पर्साको नवर्निमित भवनको काम अलपत्र परेको छ ।
जिल्लाभरिको समस्या समाधान गर्ने जिल्ला प्रशासन कार्यालय, पर्साले आफ्नै समस्या समाधान गर्न नसकेको कारण ठेकेदार पक्ष काम छोडी हिंडेको छ ।
चालू आर्थिक मसान्तभित्र भवन निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्ने तयारी रहेको बेला सघन शहरी भवन कार्यालय तथा जिल्ला प्रशासन कार्यलयबीच मनमुटाव हुँदा भवन अलपत्र परेको छ ।
भवन निर्माणको क्रममा डण्डी, क्रंकिटलगायत केही सामानको मूल्य थपघट भएको, सोको मूल्य भेरिएशन अर्डर जिल्ला प्रशासन कार्यालय, पर्साले स्वीकृत गर्न नचाहेपछि भवन अलपत्र परेको छ ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी उमेश ढकालसँग बुझ्दा पहिलेको प्रमुख जिल्ला अधिकारीले फाइल किन स्वीकृत नगरेको कुरा बुझ्ने अनि फाइल सदर गर्ने बताए । शहरी सघन कार्यलयका प्रमुख झपटबहादुर थापाले ठेकेदारले काम गर्ने बेला केही काम बढी काम गरेको र त्यसले गर्दा बढेको मूल्य नपाउँदा काम छोडी हिंडेको बताए ।
कवीन्द्र/नव सिर्जनशील जेभी काठमाडौंले आर्थिक वर्ष २०७७ असार ३ गते भ्याटसहित ११ करोड ६६ लाखमा ३ तल्ले फ्रेम स्ट्रचर भवन निर्माणको ठेक्का सकार गरेको थियो । ठेकेदारले अहिले गर्नुपर्ने काममध्ये आंशिक ईंटा जोडाइ, कार पोर्च, पेंटिङ, फिनिसिङ, झ्याल–ढोका, बिजुली तथा कम्पाउन्ड वालको काम बाँकी रहेको छ । समयमा भवन सञ्चालन नहुँदा सेवाग्राही मर्कामा परेका छन् । अहिले पुरानो भवनमा कर्मचारी तथा सेवाग्राही कोचिएर काम गर्न बाध्य छन ।