इस्लामाबाद, २० भदौ/सिन्ह्वा

बितेको दुर्ई महीनामा पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी १,३१४ जनाको मृत्यु भएको छ भने १२,७०३ जना घाइते भएका छन् ।

तीन करोड ३० लाखभन्दा बढी प्रभावित भएका छन् । हरेक सातजना पाकिस्तानी नागरिकमा एकजना बाढीपहिराबाट पीडित भएका छन् । बितेको २४ घण्टामा बाढीले बगाउँँदा २४ जनाको ज्यान गएको तथा ११५ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए)ले जनाएको छ ।

देशको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । उक्त प्रान्तमा १९ जनाले ज्यान गुमाएका छन् । उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा तीनजनाको मृत्यु भएको तथा पञ्जाब प्रान्तमा एकजनाले प्राण त्यागेका र १०७ जना घाइते भएका प्राधिकरणले आइतवार राति जारी गरेको बाढीको अद्यावधिक विवरणमा जनाइएको छ । बलुचिस्तान, गिलगिट र  बाल्टिस्तान पनि बाढीको चपेटमा परेका छन् । 

खैबर पख्तुनख्वा र सिन्ध प्रान्त बाढीपहिराबाट अति प्रभावित भएका छन् । बाढीपहिराले ३,४५७ किलोमिटर सडक बगाएको, १५९ पुल भत्काएको, २० लाख एकडभन्दा बढी क्षेत्रफलमा लगाएको बाली नष्ट भएको, १९५ पसल बगाएको, नौ लाख ५९ हजार आठ सय ५८ भन्दा बढी घरमा क्षति भएको तथा सात लाखभन्दा बढी चौपाया मरेका छन् ।

हालसम्म ७१,२७५ जनालाई उद्धार गरिएको तथा पाँच लाख १३ हजार चार सय ४२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । देशमा आपतकाल घोषणा गरिएको छ । साथै सरकारले बाढीपहिरो प्रतिकार्यसम्बन्धी कामलाई संस्थागतरूपमा सम्पादन गर्न समन्वय केन्द्र स्थापना गरेको छ । बाढीले निम्त्याएको भीषण परिस्थितिको सामना गर्न तथा क्षति भएका भौतिक संरचनालाई पुनः स्थापना गर्न भरमग्दुर प्रयास भइरहेको छ । सरकारी एवं गैरसरकारी संस्थाले उक्त केन्द्रसँग समन्वय गरेर राहत तथा उद्धारका काम गरिरहेका छन् ।

बाढीबाट देशको भौतिक संरचनामा अकल्पनीय क्षति भएको छ । बाढीले निम्त्याएको विनाशसँगै १२ अर्ब ५० करोड डलरभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ । देशका ११८ जिल्ला बाढीको चपेटामा परेसँगै मुलुकको कुल जनसङ्याको करीब ३७ प्रतिशत गरीबीमा धकेलिएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here