प्रस, वीरगंज, १८ भदौ/
सानो पाइलाले सञ्चालन गरेको भरपेट भोजनालयले स्थापनाको एक वर्ष मनाएको छ । ५० रुपैयाँमा भरपेट भोजन उपलब्ध गराउने उद्देश्यले सानो पाइलाले गत वर्ष साउन ३१ गते भरपेट भोजनालय वीरगंजको मुर्लीमा सञ्चालनमा ल्याएको थियो ।
कार्यक्रममा संविधानसभा सदस्य अनिल रूँगटा, वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, वीरगंज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, नेपाली काङ्ग्रेसका नेता प्रकाश उपाध्याय, सामाजिक अभियन्ता ओमप्रकाश सर्राफ, भरपेट भोजनालयका नियमित ग्राहक श्रवण ब्याहुत कलवारलगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा संविधानसभा सदस्य रूँगटाले भरपेटजस्ता जनमुखी कार्यहरूको प्रोत्साहन आजको प्रमुख आवश्यकता भएको बताए । उनले भोजनालयबाट समुदायले प्रत्यक्ष लाभ लिएको चर्चा गर्दै यस्तो पुनीत कार्यमा सबैको साझा सहयोगका लागि अपीलसमेत गरे ।
उपप्रमुख आलमले भोजनालय सञ्चालनार्थ महानगर र आफ्नो व्यक्तिगत हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । दैनिक ज्यालादारी गर्ने वर्गलाई भोजनालयले प्रत्यक्ष लाभ पु¥याएको चर्चा गर्दै उनले यसको व्यवस्थापना सम्हालिरहेको सानो पाइला समूहप्रति विशेष आभार प्रकट गरे ।
वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष अग्रवालले निजी क्षेत्रसँग हातेमालो गरेर यसको विस्तार र निरन्तरताका लागि पहल गर्नुपर्नेमा जोड दिए । वर्षको रु २० लाख घाटा भएर पनि सञ्चालन भइरहेको भोजनालयबाट लाभान्वित हुनेहरूको सङ्ख्या धेरै भएको उल्लेख गर्दै उनले यसको प्रोत्साहनमा सहयोगका लागि आह्वान गरे ।