प्रस, परवानीपुर, १५ भदौ/
वीरगंजमा मिटरब्याजी पीडितहरूले पत्रकार सम्मेलन गरेका छन् । बारा र रौतहटका तीन परिवारले नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा पत्रकार सम्मेलन गर्दै मिटरब्याजी आरोपीहरूलाई कारबाईको मागसमेत गरेका छन् ।
बारा, कलैया उपमहानगरपालिका–२ का युगलकिशोर यादव, महागढीमाई नगरपालिका–७ का किशोरीप्रसाद यादव र रौतहटको मौलापुर नपा–८ सोनरनियाका दयाशङ्करप्रसाद यादवका परिवारले पत्रकार सम्मेलन गर्दै विभिन्न व्यक्तिमाथि मिटरब्याजीको आरोप लगाउँदै कारबाईको माग गरेका हुन् ।
आरोपीहरूमा बाराको आदर्शकोतवाल गापा–३ बस्ने अनिलकुमार प्रियदर्शी र उनकी पत्नी रम्भा यादव, रूबी कुमारी, सिम्रौनगढ नपा–८ का रामदिनेशप्रसाद यादव, कलैया उपमनपा–८ खपरताता बस्ने सुनीलकुमार ठाकुरलगायतलाई मिटरब्याजको कसूरमा पीडितहरूले आवश्यक कारबाईको लागि माग गरेका हुन् ।
रौतहट, मौलापुर नपा–८ सोनरनियाका दयाशङ्करप्रसाद यादव तीन महीनादेखि गौर कारागारमा छन् । चेक बाउन्स मुद्दामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजको आदेश अनुसार उनीमाथि जरिवाना र थुनामा राख्ने आदेश भएको हो । दयाशङ्करले २०७६ भदौमा १४ लाख कर्जा लिएको र अहिलेसम्म ४४ लाख रुपैयाँ दिइसके तापनि रु ३९ लाख लेनदेनको मुद्दा अदालतमा चलिरहेको छ ।
अनिल प्रियदर्शी, रामदिनेश यादव र रूबी कुमारीले पटक–पटक गरी ४९ लाख बराबरका आठवटा चेक लिइसकेको र ऋणी छोरो दयाशङ्करले दिएको रकमको भरपाईसमेत नगरेका कारण आफ्नो छोरो कानूनको नजरमा दोषी देखिएको र छोरो जेलमा गएको आमा सुनैना देवीले पत्रकार सम्मेलनमा बताइन् । १४ लाखको कर्जामा सयकडा ८ रुपैयाँको दरले मासिक ब्याज जोड्ने काम भएको पीडित परिवारजनको आरोप छ । १४ लाख कर्जा भुक्तानीको लागि सोनरनियाकै १२ कट्ठा जग्गा बिक्री गर्नुपरेको र दुई बिघा जग्गा धितो राखेर कर्जा फिर्ता गरिएको उक्त परिवारको भनाइ छ ।
त्यसैगरी, महागढीमाई नपाका किशोरीप्रसाद यादव पेशाले शिक्ष्Fक हुन् । उनी अहिले जीतपुरसिमरा उपमहानगरपालिकाको बकुलिया माविका प्रधानाध्यापक हुन् ।
पत्रकार सम्मेलनमा उनका भतिजा ओमनारायण यादवका अनुसार ठूलो बुबाले अनिल प्रियदर्शी, रम्भा यादवसँग ७५ लाख कर्जा लिएकोमा अहिलेसम्म तीन वर्षको अवधिमा पाँच करोड नगद दिइसकेको र तीन कट्ठा वीरगंजकै मूल्यवान् जग्गा पनि दिइसकेको बताए ।
कलैया उपमनपा–२ का युगलकिशोरको परिवारले रु २७ लाखको कर्जामा ८१ लाख बराबरको कागज गरेको देखिएको छ । धाक, धम्की र परिबन्धमा पारी दोब्बर–तेब्बर रकमको कागज गराइ कर्जा दिने व्यक्ति अनिल प्रियदर्शी, रामदिनेश यादव र सुनीलकुमार ठाकुरले पटक–पटक गरी नगद र बैंकमार्पmत ८१ लाख लिइसकेको र अहिले पनि ८१ लाख मूल्य बराबरको मुद्दा बारा जिल्ला अदालत र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा खेप्नुपरेको अस्टे«लियामा रहेका युगलकिशोर बताउँछन् । चेक बाउन्सकै मुद्दामा एक वर्षअघि आफू करीब एक महीना थुनामा पनि बसेको युगलकिशोर बताउँछन् । मिटरब्याजकै कारण उनको कलैया उपमनपा–१६ उत्तर झिटकैयामा रहेको ४९ कट्ठा खेत र वडा नं २ मा रहेको साढे आठ धुर घडेरीमा अढाई तले घर पनि बैंकले लिलाम गरेर कब्जामा लिएको बताए ।
युगलकिशोरले व्यवसायको क्रममा एनआइसी एशिया बैंकबाट ऋण लिएका थिए र उनको जग्गाको प्रथम रोक्का बैंकले गरेको थियो भने दोस्रो रोक्का अनिल प्रियदर्शीले गराइदिंदा उक्त जग्गा समयमा बेच्न खोज्दा पनि बिक्री भएन । जसले गर्दा जग्गा बैंकको लिलामीमा चढ्यो र उक्त परिवार अहिले कङ्गाल भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
पत्रकार सम्मेलनमा अनिल प्रियदर्शी नेरा आधारभूत विद्यालय, नौतनको प्रधानाध्यापक भएका कारण कागजी कारोबारमा आपूm संलग्न नभई नातागोता तथा अन्य साथीभाइलाई यस गतिविधिमा संलग्न गराएर यस्तो धन्दा चलाइरहेका बारेमा पनि स्थानीय प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् । नेपाल सरकारले मिटरब्याजको घटनालाई सूक्ष्म किसिमले छानबीन गर्न जिल्ला प्रहरी र प्रशासन कार्यालयमार्पmत उजूरी लिइरहेको छ । जस अन्तर्गत बारामा ४५ वटा र पर्सामा ८३ वटा उजूरी परेको बुझिएको छ ।
यस घटनामा आरोपित बनेका अनिल प्रियदर्शीसँग कुराकानी गर्दा उनले दयाशङ्करप्रसाद यादवसँग रु आठ लाखको लेनदेन रहेको र बाँकी कसले कोसँग रकम लिएको र के आरोप लगाएको त्यसबारेमा आपूmलाई जानकारी नभएको बताएका छन् ।