इस्लामाबाद, १५ भदौ/रासस

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पाकिस्तानमा बाढीले इतिहासमैं सबैभन्दा नराम्ररी प्रभावित पारेको बताएका छन् ।

प्रधानमन्त्री शरीफले बाढीका कारण पाकिस्तानमा अहिले इतिहासमैं सबैभन्दा बढी क्षति पुगेको बताउँदै सहयोगका लागि सबैसँग अपील गरेका हुन् ।

उनले पाकिस्तानी नागरिकका साथै विदेशी दाता निकाय तथा देशसँग सो अपिल गरेको प्राप्त समाचारमा जनाइएको छ ।  

बाढीका कारण विस्थापित व्यक्तिको सङ्ख्या दशौं लाख भएकोले उनीहरूको उद्वार, पुनस्र्थापना र राहतका लागि ठूलो आर्थिक सहयोग आवश्यक रहेको भन्दै यसका लागि उनले आग्रह गरेका हुन् । 

यहाँका कैयौं प्रान्तमा बाढीले गरेको क्षति न्यूनीकरणका लागि सरकारले प्रयत्न गरिरहेको भएपनि सबै नागरिकलाई वास र खानपिनको उचित व्यवस्थापन गर्न सम्भव हुन सकेको छैन ।

त्यसैले उनीहरूलाई राहत र पुनस्र्थापनाका लागि ठूलो मात्रामा आर्थिक सहयोग आवश्यक परेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपील गरेका हुन् । 

पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर ११०० भन्दा बढी मानिसको मृत्यु भएको छ ।

यो बाढीमा परेर तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । यहाँ गएको हप्तादेखि अविरलरूपमा वर्षा भएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महीनामा वर्षाजन्य दुर्घटनामा परेर ती व्यक्तिको मृत्यु भएको हो । यहाँका एक हजार ६३४ जना घाइते भई अस्पतालमा रहेका छन् ।

पाकिस्तानी अधिकारीका अनुसार यहाँका बलुचिस्तान, गिलगिट बाल्टिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्त बाढी र त्यसपछि आएको पहिरोबाट बढी प्रभावित छन् ।

बाढी र पहिरोले सडक बगाएको, पशु–चौपाया बगाएको, पुल भत्काएको तथा ठूलो क्षेत्रमा लगाएको बाली पनि नष्ट गरिदिएको बताइएको छ ।

यसैबीच, सिन्ह्वा समाचार समितिले दिएको समाचार अनुसार पाकिस्तानमा भारी वर्षापछिको बाढी र वर्षासँग सम्बन्धित घटनाको कारण गएको २४ घण्टाको समयावधिमा ३६ जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन (एनडिएमए)का अधिकारीले जानकारी दिएका छन् । 

यस प्रकोपमा परी एक हजार ९४१ जना घाइते भएका पनि ती अधिकारीले थप जानकारी दिएका छन् । पाकिस्तानको पूर्वी भागमा रहेको पञ्जाब प्रान्त यस भीषण प्रकोपबाट सबभन्दा बढी प्रभावित भएको एनडिएमएले मङ्गलवार साँझ प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिएको छ ।

यस क्षेत्रमा बाढी र वर्षा सम्बन्धित घटनामा परी १९ जनाको मृत्यु हुनुको साथै एक हजार ९१९ जना घाइते भएका एनडिएमए जनाएको छ ।

त्यसपछि दोस्रो स्थानमा खैबर पाख्तुन्ख्वा प्रान्तमा नौजनाको मृत्यु भएको समाचारमा जनाइएको छ । वर्षा र बाढी प्रभावित क्षेत्रमा एक हजार ५९१ किलोमिटर सडक र ८१ पुल र तीनवटा पसल क्षतिग्रस्त भएका छन् ।

पाकिस्तानमा यस वर्षको मौसमी वर्षा शुरू भएयता एक हजार १६२ व्यक्तिको मृत्यु हुनुका साथै अन्य तीन हजार ५५४ जना घाइते भएका एनडिएमएनले थप जानकारी दिएको छ ।

एनडिएमएनका अनुसार प्रकोप शुरू भएयता एक लाख १८ हजार २४७ व्यक्तिको उद्धार गरिएको छ । हाल चार लाख ६२ हजार २३६ व्यक्ति अस्थायी शिविरमा बस्दै आएका छन् । यस प्रकोपको कारण तीन करोड ३० लाख ४६ हजार ३२९ व्यक्ति प्रभावित भएका जनाइएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य गर्न एडिएमए, अन्य सरकारी सङ्गठन, गैरसरकारी सङ्गठन र स्वयंसेवकको सहभागिता रहेको जनाइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here