पर्सा जिल्ला खुला दिसामुक्त घोषणा भएको तीन वर्ष बित्न लागेको छ । खुला दिसामुक्त क्षेत्र घोषणाका लागि उतिखेर जति प्रयास भएका थिए, अहिले त्यत्तिकै लापरवाही गरिएको कारण पुनः पुरानो स्वरूपमा फर्किएको छ । पर्साको ग्रामीण क्षेत्रका मानिसहरू अहिले फेरि पुरानै पारामा शौचालयको प्रयोग नगरी खेत, बाँसघारी, नहर, सडकमा खुला शौच गर्न थालेका छन् । खुला दिसामुक्त अभियानताका बनेका शौचालयहरू अहिले प्रयोगविहीन भएका छन । खुला दिसामुक्त अभियानलाई सार्थकता प्रदान गर्ने क्रममा हतारहतार काम भएको अहिलेको अवस्थाले पनि पुष्टि गर्छ । नेपाल रेडक्रस, युएन हेबिटाट, खानेपानी सरसफाइ, विकास नेपाल, एनजिओसिसी, दिव्य युवा क्लब, ब्रिलियन्ट युवा क्लबलगायतका संस्थाहरू खुला दिसामुक्त अभियानमा सक्रिय थिए । २०७६ असोजमा नेपाल खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने क्रममा पर्सा जिल्ला पनि खुला दिसामुक्त क्षेत्र घोषणा भएको हो । यसो त पर्सा जिल्लालाई सन् २०१७ मा नै खुला दिसामुक्त जिल्ला घोषणा गर्नेगरी तयारी थालिएको थियो ।
तत्कालीन जिल्ला विकास समितिको अगुवाइमा पर्सा जिल्लाका ८२ वटा गाविसमा यो अभियान चालिएको थियो । तर देश सङ्घीय लोकतान्त्रिक व्यवस्थामा परिणत भएको दुई वर्षपछि मात्र पर्सालाई खुला दिसामुक्त जिल्ला घोषणा गरियो, त्यो पनि हतारमा । गरीब, दलित, विपन्न परिवारका लागि स्थानीय सरकार, दातृ संस्थाहरूको सहयोगमा निश्शुल्क रिङ, प्यानसहित शौचालय घर निर्माण गरिएको थियो । बस्नका लागि घर नभएकाहरूलाई पनि शौचालयको व्यवस्था गरिएको थियो । यो अभियानमा सक्रिय संस्थाहरूले दातृ संस्थाबाट अनुदान सहयोग पाउन्जेल यो अभियानलाई चलाए । पछि यो अभियानमा दातृ संस्थाहरूले सहयोग बन्द गरेपछि स्थानीय संस्थाहरू पनि सेलाए । अहिले खुला दिसामुक्त अभियानको जिम्मेवारी स्थानीय सरकार र प्रदेश सरकारलाई छ । प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान चलाएको छ तर प्रदेशका आठ जिल्लाको सरसफाइ अभियान अहिले कहालीलाग्दो भइसक्दा पनि मूकदर्शक मात्र भएको छ । पर्सा जिल्लाको मात्र कुरा गर्दा अहिले वीरगंज महानगर, बहुदरमाई, पर्सागढी र पोखरिया नगरपालिका तथा दशवटा गाउँपालिकाको सरसफाइको शैली पुरानै अवस्थामा छ । महानगरमा सरसफाइ अन्य पालिकाको तुलनामा केही ठीक भएपनि अन्य पालिकाहरू र खासगरी ग्रामीण क्षेत्रमा सरसफाइको अवस्था एकदमै नाजुक छ । जनप्रतिनिधिहरू आर्थिक लाभ हुने कार्यमा बढी केन्द्रित छन् । सरसफाइ जस्तो कार्यमा उनीहरूको ध्यानै छैन ।
कतिपय जनप्रतिनिधिहरू अहिले पनि खुला शौच गर्न रमाउँछन् । शौचालय घरमा निर्माण गरिएकोले घर फोहर हुने र बाहिर शौच गर्दा सफाइ हुने पुरानो मनोवृत्ति उनीहरूमा अहिले पनि हाबी छ, जसले गर्दा शौचालयको प्रयोगमा ध्यान दिइएको छैन । गाउँघरमा निर्मित शौचालयहरूको अहिले दुर्दशा छ । कतिपयले टिनको छाना घरमा प्रयोग गरेका छन् भने कतिपयले शौचालयलाई बाख्रा राख्ने गोठ बनाएका छन् त कतिपयले भण्डारकक्ष बनाएका छन् । गाउँघरमा बढेको यो विकृतिलाई न्यूनीकरण गर्न स्थानीय पालिकाबाट सम्भव छ तर स्थानीय पालिका स्वच्छता अर्थात् सरसफाइतर्फ जिम्मेवार भएको पाइएको छैन । जबसम्म स्थानीय तहका जनप्रतिनिधिहरू सरसफाइप्रति जिम्मेवार हुँदैनन्, तबसम्म परिवर्तनको आशा राख्न सकिन्न ।