चिरञ्जीवी सापकोटा, ठोरी, १२ भदौ/
तीजको अवसरमा ठोरी गाउँपालिका–१ मा जारी तीज कप नकआउट फूटबल प्रतियोगिताको आइतवार सम्पन्न दुईवटा क्वार्टरफाइनल खेलमा निर्मल समाज युवा क्लब, ठोरी–४ र आयोजक निर्मल समाज क्लब, ठोरी–१ विजयी भएर सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आज भएको क्वार्टरफाइनलको पहिलो खेलमा निर्मल समाज युवा क्लबले जनकल्याण तमु समाज, माडीलाई दुईका विरुद्ध छ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्मल समाज युवा क्लबका विकाश चौधरीले चार गोल गरे भने लक्ष्मण चौधरी र विवेक चौधरीले एक/एक गोल गरेका थिए । जनकल्याण तमु समाजका बेलबहादुर गुरुङले एक गोल गरे भने अर्काे गोल निर्मल समाज युवा क्लबबाट आत्मघाती भएको थियो । यस खेलको ‘म्यान अफ दी म्याच’ चार गोल गरेका विकाश चौधरी घोषित भए ।
दोस्रो क्वार्टरफाइनल खेलमा आयोजक निर्मल समाज क्लबले हरियाली युवा क्लब, ठोरी–२ लाई दुई गोलका विरुद्ध चार गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्मल समाज क्लबका विशाल तामाङले दुई गोल गरे भने अपिल भट्टराई र सतीश थापामगरले एक/एक गोल गरेका थिए । हरियालीका सुजन तामाङले दुई गोल गरेका थिए । यस खेलको ‘म्यान अफ दी म्याच’ आयोजक टीमका विशाल तामाङ घोषित भएको आयोजक समितिका अध्यक्ष जगेन्द्र पौडेलले बताए ।
सोमवार भोलि पनि क्वार्टरफाइनलका दुई खेल हुनेछन् । पहिलो खेलमा गोल्डेन युमिनेट माडी र युनिक युनाइटेडबीच भिडन्त हुनेछ भने दोस्रो खेलमा वनशक्ति युवा क्लब, ठोरी–२ र थ्रीस्टार युवा क्लब, ठोरी–१ बीच हुने अध्यक्ष पौडेलले बताए ।