प्रस, वीरगंज, १२ भदौ/

वन तथा वातावरण मन्त्री प्रदीप यादवले युवा र पाका व्यक्तिको सम्मिश्रणबाटै देश समृद्ध हुन सक्ने बताएका छन् ।

वीरगंजबाट प्रकाशित हुने मध्यनेपाल साप्ताहिकको छैटौं वार्षिकोत्सवको अवसरमा आइतवार आयोजित ‘नेतृत्वमा युवा कि पाका’ विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री यादवले सो कुरा बताएका हुन् । उनले युवा शक्तिविना समृद्धि हासिल गर्न नसकिने दाबी गर्दै पाकाको अनुभव, ज्ञान र युवाको जोशबाट देश विकास र समृद्धितर्फ अघि बढ्ने दाबी गरे । मन्त्री यादवले युवा र पाका दुवैमध्ये एकलाई पन्छाएर समृद्धि हुनै नसक्ने बताए । एउटाको ज्ञान, अनुभव र अर्काेको जोश, जाँगरको सम्मिश्रण हुने हो भने विकास र समृद्धि हुने कुरामा दुई मत नहुने उनले धारणा व्यक्त गरे ।

मध्यनेपाल साप्ताहिककी सम्पादक कविता खड्काको अध्यक्षतामा भएको  अन्तक्र्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध गुप्ता, नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहान, प्रदेश महासचिव श्याम बन्जारा, पूर्व उपप्रमुख शान्ति कार्की, नेका पर्साका श्याम पटेल, दलित महिला सङ्घ पर्साकी अध्यक्ष नीला रामलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

वार्षिकोत्सवमा नेपाल पत्रकार महासङ्घ, महोत्तरी शाखाकी अध्यक्ष सुनीता बराल, वीरगंजबाट प्रकाशित हुने भोजपुरी टाइम्सका सम्पादक अजय चौरसिया, वीउवासङ्घका अध्यक्ष गुप्ता, होटल व्यवसायी कुबेर कार्की, एनप्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठ, किरण आँखा अस्पतालका डा अमर क्याल, सतीश वर्णवाल र कमला भण्डारीलाई सम्मानित गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here