कीभ, १२ भदौ/एपी

युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र रहेको स्थलनजीकका शहरमा रूसले व्यापक गोलाबारी गरेको छ । निपर नदीको पारिपट्टिको क्षेत्रमा रूसले रकेट र तोप आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

आणविक ऊर्जा केन्द्र आसपास भएको आक्रमणबाट केन्द्रमा क्षति हुन सक्ने र त्यसले विकिरण चुहावट निम्त्याउन सक्ने चिन्ताले उनीहरूलाई सताएको छ । रूसी सेनाले युद्ध शुरू हुनेबित्तिकै जापोरिज्जिया आणविक ऊर्जा केन्द्र नियन्त्रण लिएर नदी किनाराको क्षेत्र कब्जामा लिएको थियो । युक्रेनले निकोपोल र मार्हानेट्स शहरसहित क्षेत्रमा आफ्नो नियन्त्रण कायम गरेको छ । ती स्थान ऊर्जा केन्द्रबाट करीब १० किलोमिटर टाढा छन् ।

शनिवार राति भएको भारी गोलीबारीले निकोपोलका केही भाग बिजुलीविहीन भएका निप्रोपेट्रोभस्क क्षेत्रका गभर्नर भ्यालेन्टिन रेज्निचेन्कोले बताएका छन् । करीब ४५ हजार सर्वसाधारणको बसोवास रहेको उक्त क्षेत्रका प्रशासन प्रमुख येभेन येभतुसेन्कोका अनुसार रकेट आक्रमणले मार्हानेतका एक दर्जन घरमा क्षति पुगेको छ ।

आणविक ऊर्जा केन्द्र करीब ४० किलोमिटर परको माथिल्लो भागमा रहेको जापोरिज्जिया शहरमा पनि राति भएको आक्रमणमा परी दुईजना घाइते भएको नगर परिषद्का सदस्य अनातोली कुर्तेभले बताए ।

पूर्वी युक्रेन, जहाँ रूसी र पृथकतावादी सेनाले नियन्त्रण लिन खोजिरहेका छन्,  गोलाबारीले ठूला र रणनीतिकरूपमा महŒवपूर्ण शहर क्रामतोस्र्क र स्लोभियान्स्कमा आक्रमण भएको छ तर कोही हताहत नभएको डोनेट्स्क क्षेत्रका गभर्नर पाभ्लो किरिलेन्कोले बताएका छन् ।

डोनेट्स्क क्षेत्रको अधिकांश भाग रूसी र पृथकतावादी सेनाको कब्जामा छ । डोनेट्स्कलाई रूसले सार्वभौम राज्यको रूपमा मान्यता दिएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here