प्रस, वीरगंज, ११ भदौ/
वीरगंजमा रगतको अभाव भएपछि विभिन्न सङ्घसंस्थाहरूले रक्तदान कार्यक्रम आयोजना गरेका छन् ।
शनिवार वीरगंजका छुट्टाछुट्टै पाँच ठाउँमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । ती रक्तदान कार्यक्रममा १४ जना महिलासहित २९५ जनाले रक्तदान गरेका थिए ।
वीरगंजबाट प्रकाशित हुने मध्यनेपाल साप्ताहिक पत्रिकाले छैटौं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो भने भेट्रान्स सिटी क्लब, मञ्जुश्री फाइनान्स, एशोसिएशन अफ भेटेरिनरी प्रैक्टिसनर र वीरगंज सञ्जाल गरी पाँचवटा संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेका थिए ।
मध्यनेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा चारजना महिलासहित ५४ जनाले रक्तदान गरेका थिए भने वीरगंज सञ्जाल साप्ताहिक पत्रिकाले घण्टाघरमा आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित ५१ जनाले रक्तदान गरेका थिए ।
त्यसैगरी, भेट्रान्स सिटी क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा छजना महिलासहित १०१ जनाले रक्तदान गरेका थिए । मञ्जुश्री फाइनान्स, वीरगंज शाखाले पाँचौं वार्षिकोत्सवको अवसरमा घण्टाघरमा आयोजना गरेको रक्तदान कार्यक्रममा दुईजना महिलासहित ४३ जनाले रक्तदान गरेका थिए ।
त्यसैगरी, घडीअर्वामा एशोसिएशन अफ भेटेरिनरी प्रैक्टिश्नरले आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित ४६ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका इन्चार्ज सौरभराज पाण्डेले जानकारी गराए ।