• डा शिवशङ्कर यादव

उपवासमा उपको मतलब नजीक र वासको मतलब वास बस्नु हो । कसको नजीक वास बस्नु ? देउताको, ईश्वरको, अध्यात्मको । यी दुवैमा भोको बस्नु त कहीं देखिएन । दुवै एकसाथ मिलेपछिको मतलब भोको बस्नु हुन्छ । आउनुस्, अब यही भोको बस्नु वा उपवासको विवेचना गरौं । हिन्दू मात्र होइन अन्य सभ्यतामा पनि शरीर, मन र आत्माको शुद्धिको लागि उपवास गर्ने चलन छ । इस्लाममा एक महीना रमादानको उपवास बसिन्छ भने ईसाइले पनि उपवासलाई ईश्वरको प्रार्थनासँग जोड्छ । हिन्दूको त के कुरा ? शायद हिन्दूको दिन बिराएर उपवासै उपवास हुन्छ । उपवास भनेको नखाने हो र कसैकसैले पानीसमेत पिउँदैनन्, जसलाई निर्जला उपवास भनिन्छ । कुनै कुनै उपवासमा अन्न त खाइँदैन तर फलफूल र पानी खाइन्छ । कुनै उपवासमा पानी मात्र खाइन्छ ।

आजभोलिको मेडिकल भाषामा यो उपवास तीन प्रकारका हुन्छन्ः इन्टरमिटेन्ट उपवास मतलब एक दिन उपवास बस्ने र अर्को दिन खाने । दोस्रो, खाली क्यालोरीको उपवास मतलब अन्न नखाने तर फलफूल खाने । तेस्रो, पानीसिवाय केही नखाने । तर मैले आफ्नो परम्पराको अनुसार उपवासलाई माइल्ड, मोडरेट र सिभियर अर्थात् सामान्य, मध्यम र कडा उपवासमा बाँड्न चाहन्छु । साधारणको मतलब दिनभरको उपवास । महिलाहरू आइतवार र एकादशी गर्छन् । त्यस्तै, रामनवमी, सीतानवमी, श्रीकृष्ण जन्माष्टमी आदि सबै साधारण उपवास हुन् । मध्यम उपवासको उदाहरणमा छठलाई लिन सकिन्छ, जसमा ३६ घण्टा लाग्छ । यसभन्दा बढी दिनको लागि गर्ने उपवास कडा उपवासमा आउँछ, जो योगी वा संन्यासीले सिद्धि प्राप्त गर्नका लागि गर्छन् । भनिन्छ कि मुसा र ईसाले ४० दिन तथा बुद्धले ४५ दिनसम्म उपवास गरेका थिए । यसको अलावा चिकित्सकहरूले पनि उपवास गराएर बिमारी ठीक पार्थे । आयुर्वेद उपचारमा त यो आज पनि गरिन्छ । तर एलोपैथमा पनि पुरानाहरूले गर्थे । मेडिसिनका जनक हिपोक्रेट्सले स्वयम् रोगीलाई उपवास गराउँथे र पोपको गाली खान्थे । त्यति बेला क्रिश्चियनहरूमा उपवास केवल प्रार्थनासँग जोडिएकोले सर्वसाधारणले गर्न पाउँदैनथे । यस उपवासले निको पारिएका हामी भाइबहिनी स्वयम् हौं । बाल्यकालमा सबैजनालाई टाइफाइड भयो । चिकित्सक कोही थिएन । क्लोरम्फेनिकोलको आविष्कार भएको थिएन । वीरगंजका वैद्यले बार्ली मात्र खुवाएर हामीलाई निको पारेका थिए । एन्टिबायोटिकको आविष्कारपछि मात्र यो चलन चल्यो कि ज्वरोमा पनि खाए हुन्छ । पहिलेकाले ज्वरोमा अन्न नखाने चलन नै थियो, जसलाई आजभोलि क्यालोरी फास्ट भनिन्छ । इन्टरमिटेन्ट फास्ट त्यो हो, जसमा एक दिन खाइँदैन र अर्को दिन खाइन्छ । यसको अलावा रोग निको पार्ने कल्पको पनि प्रयोग गरिन्छ, जसमा अन्न नखाई केवल दूध वा फल मात्र खाइन्छ, जस्तै दुग्ध कल्प, आम्रकल्प वा यसरी नै अन्य फलहरू । यो कल्प प्राकृतिक चिकित्सकको देखरेखमा नै गर्नुपर्छ किनभने अन्न धेरै लामो समयसम्म छोड्दा घातक हुन सक्छ । गोरखपुरको प्राकृतिक चिकित्सालयमा मलाई पाँच दिन लामो उपवासको अनुभव छ । त्यसमा मलाई भोकले च्याप्यो तर दुई दिनपछि भोक लाग्नै छोड्यो । बिहान घुम्नु, योग गर्नु र निर्बाध निद्रा लाग्ने मेरो अनुभव छ । त्यसपछि ममा आएको सक्रियताले मलाई नै अचम्ममा पा¥यो । जबकि शरीर त धेरै दुब्लाएको थियो । त्यसैले उपवासको वैज्ञानिक व्याख्यासँग म सहमत छु ।

बुद्धको ४५ दिनको उपवासको प्रतिबद्धता र साहस देखेर बुद्धका गुरु आत्तिए र भने– मसँग यति मात्र दिनु र भन्नु पर्ने थियो । तिमीले भन्छौ कि केही पनि पाइनँ । अतः अब तिमी अर्को गुरु खोज । अर्को गुरु रे ? बुद्ध हिंडे त्यहाँबाट । साथमा उनका चार/पाँच जना साथी पनि उनैसँग लागे तर बीच बाटोमा नै बुद्धलाई छाडेर हिंडे किनकि यसले आफू पनि मर्ने र हामीलाई पनि मार्छ भन्ने लागेर । ज्ञानप्राप्तिपछि बुद्धले उनै भागेका साथीहरूलाई सारनाथमा आफ्नो पहिलो प्रवचन दिएका थिए । भनिन्छ कि शक्तिहीन बुद्धले गयाको फल्गु नदी जसमा पानी नै हुँदैन त्यसलाई पनि पार गर्न सकेनन् र बोधिवृक्षमा गएर बेहोश भई लडे । सुजाता आइन्, खीर खुवाइन् र तत्काल बुद्धले ज्ञान प्राप्त गरे । के ज्ञान यति सजिलो छ कि खीर खानासाथ प्राप्त भयो ? के ज्ञान यति कठिन छ कि उपवास नगरी प्राप्त हँुदैन ? ज्ञान यति सस्तो छैन कि खीर खाएर प्राप्त होस् वा कसैले लामो उपवास गरेर प्राप्त होस् । तर दुवैको संयोगको वैज्ञानिकता अवश्य छ होला र हुनुपर्छ जसको ज्ञान सम्भवतः बुद्धको गुरुमा थिएन । यसको अलावा पनि कतिपय अरू कुरा पनि हुन सक्छन्, जसलाई स्वयम् बुद्धले आर्य सत्य आदिको रूपमा बताएका छन् । जुन यस लेखको विषय होइन । हुनत बुद्धले भनेका छन् कि ज्ञान प्राप्त गर्नको लागि शरीरलाई दुःख दिन जरुरी छैन । तर मेरो विचारमा उनको लामो उपवासको नै फल थियो कि उनको ज्ञानप्राप्ति जसको उचित व्यवस्थापन उनको गुरुले गर्न सकेनन् । खीरले त्यो व्यवस्थापन गरिदियो । तर बुद्धले पनि बुझ्न सकेनन् शरीरको जटिल प्रक्रिया किनभने उनी कुनै शरीरक्रिया वैज्ञानिक त थिएनन् । उनलाई लाग्यो कि त्यति तप बेकारको थियो । तर मेरो विचारमा त्यसो होइन । त्यस तपश्चर्याको गहिरो अर्थ छ, जसको वैज्ञानिक खोज गरे जापानको वैज्ञानिकले र सन् २०१६ को नोबेल पुरस्कार पाए । यसरी यस गहन विषयको वर्णन गर्दै जाँदा सबै कुरा खुलस्त हुँदै जान्छ । तर मलाई अचम्म त यसमा लाग्छ कि यस बहुमूल्य कुरासँग हाम्रा पुर्खा कसरी परिचित भए ? र आफ्नो सभ्यताको सर्वसाधारणसमेतमा प्रवेश गराए ? एक अनपढ महिला जो यस बहुमूल्य विज्ञानसँग सर्वथा अपरिचित भएपनि व्रत गरी उपवासको फाइदा उठाइरहेकी छन् । अरू उपवास नगरे पनि नूनको उपवास त अवश्य गर्नुपर्छ । यो धेरै फाइदाजनक छ । त्यो कसरी ? अब यो जानौं ।

उपवासको १२ घण्टासम्ममा ग्लुकोज समाप्त हुन्छ । फैट किटोन बन्छ र त्यसले ऊर्जा दिन थाल्छ । न्युट्रिशनको कमीमा शरीरका अन्य अवयवमा क्षति पुन्छ तर आश्चर्यजनकरूपमा दिमागको अझ बढी सशक्तीकरण हुन्छ । दिमागले निर्बाधरूपले किटोनबाट ऊर्जा प्राप्त गरिरहेको हुन्छ । दिमागबाट बन्ने सबै हार्मोन र कैटेकोलामाइन विचित्ररूपले बढेको बढ्यै हुन्छ । यस्तो लाग्छ कि दिमाग शरीरको बाँकी भागबाट भिन्न एक अलग अस्तित्व हो । जहाँ बाँकी भाग कमजोर हुन्छ र दिमाग मजबूत हुन्छ । तर वास्तवमा बाँकी भाग दुब्लो भएपनि उपवास तोडेपछि सक्रियता बढ्छ । पाठकवृन्द, प्रत्येक मानिसको दिमागको ‘साउन्डनेस व्रेन’ले स्राव गरेको हार्मोन र कैटोकोलामाइनको स्तरमा हुन्छ । यसै अनुसार कोही केनेडी वा राजेन्द्रप्रसाद हुन्छन् । यसै अनुसार कोही बोपदेव र पछि स्तर बढेपछि व्याकरणको प्रकाण्ड विद्वान् बोपदेव बन्छन् । यसै स्रावले मूर्ख कालीदास र कालीको वरदानपछि यही स्राव बढेपछि महाकवि कालीदास बन्छन् । बुद्धलाई ज्ञान प्राप्त यिनै स्राव बढेर भएको नहोला भन्न गा¥हो भएपनि केवल खीरले उनले ज्ञान प्राप्त गरेको कुरा बेमतलबको हो । अब शरीरका अन्य अवयवमा भएको परिणाम पनि हेरौं ः न्युट्रिशन नमिलेको कारणले शरीरको कमजोर र बूढो कोशिकाहरू टुट्न थाल्छन् । न्युट्रिशन नमिलेको कारण स्वस्थ कोशिकाले अब त्यही कमजोर र बूढो कोशिकाको टुटेका भागलाई खान शुरू गर्छ र त्यसको ठाउँमा ताजा र नयाँ कोशको निर्माण हुन्छ । यसरी आफ्नै शरीरको कोशलाई आफ्नै शरीरको कोशिकाले खाने प्रक्रियालाई अटोफैजी वा स्वपक्ष सफाइ भनिन्छ । सफाइ यस कारण कि बूढो र कमजोर कोशको के काम ? यो क्रिया कोशको लाइसोसोम नामक हिस्साले गर्छ, जसको पत्ता जापानी वैज्ञानिक ओसिनोरी ओसिमुले लगाएका थिए र सन् २०१६ को नोबेल पुरस्कार पाए । लाइसोसोम कोशभित्रको एक रचना हो, जसको सर्वप्रथम बेल्जियमका क्रिश्चियन डी डुबेले पत्ता लगाएर सन् १९७४ को नोबेल पुरस्कार पाइसकेका थिए । प्रत्येक कोशमा ५० देखि १००० को सङ्ख्यामा हुन्छन् । यही लाइसोसोममा कसरी अटोफैजी हुन्छ, त्यसैको पत्ता ओसिनिरी ओसिमुले लगाएका थिए । उनी जापानको फुकुआकामा जन्मे, टोकियो विश्वविद्यालयमा अध्ययन गरे, केही दिन अमेरिका गए र फर्केर यसको पत्ता लगाए । निर्जला उपवासमा शरीरको कोशबाहिर रहेको पानी कोशको भित्र जान्छ किनकि भित्र पानीको आवश्यकता बढी हुन्छ र बाहिरको भाग खाली हुन्छ किनभने पानी कोशको जीवनको लागि पहिले जरुरी हुन्छ । बाहिरी भागको मतलब इसिएफ त्यसरी नै खाली हुन्छ, जसरी एक वा दुई दिन मोटर नचलाए घरको पानीटङ्की खाली हुन्छ । त्यसपछि मोटर चलाएर ख्याल गर्नुस्, टङ्कीको फेदको फोहोरसमेत पानी पहिले नलमा आउँछ  । त्यसको केहीबेरपछि नै सफा पानी नलमा आउँछ । अतः टङ्की एक प्रकारले बढी सफा हुन्छ । ठीक त्यस्तै निर्जला उपवासमा कोषको बाहिरको भाग टङ्की जस्तै सफा हुन पुग्छ । तर सावधान । हरेक कुराको मात्रा हुन्छ । निर्जला उपवास २४ देखी ४८ घण्टाभन्दा बढी गर्न सकिंदैन । गरियो भने मिर्गौलामा असर मात्रै पार्दैन फेल पनि हुन सक्छ । लामो उपवासमा एसिटोनले गर्दा सास बेस्सरी गन्हाउँछ, जसलाई च्युङ्गम चपाएर ठीक गर्न सकिन्छ । पाँच दिनसम्मको उपवासको सिफारिश म गर्न सक्छु तर हाम्रो संस्कृतिमा प्रचलित उपवास नै शरीरको लागि उपयोगी छ भने शरीरलाई बढी पीडा किन दिने ? अटोफैजी नित्य शरीरमा भइरहने प्रक्रिया हो । व्यायाम र उपवासले त्यस प्रक्रियालाई बढाउँछ र नयाँ कोश निर्माणमा सहयोगी हुन्छ । इति ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here