• उमाशङ्कर द्विवेदी

यता द्रोणाचार्यले पनि क्रोधले मुर्मुरिएर पाण्डव सेनाहरूको संहार गर्न थाले । उनको मारबाट पीडित भएर पाञ्चाल वीरहरू अर्जुन र भीमको सामु नै भाग्न थाले । अर्जुन दक्षिणतर्फ छेवैमैं थिए तथा भीमसेन उत्तरतर्फ थिए । दुवैले आचार्य द्रोणमाथि बडो भारी बाणवर्षा गर्न थाले । यो हेरेर सृञ्जय, पाञ्चाल, मत्स्य र सोमक आदि क्षत्रियहरू ती दुवैको सहायता गर्नको लागि आइपुगे । यसै प्रकार तपाईंका पुत्रका महारथी योद्धाहरू पनि सेनाको ठूलो डफ्फाका साथ द्रोणाचार्यको रथ सामु आइपुगे । कौरव सेनामाथि पुनः अर्जुनको मार पर्न थाल्यो । एक त अँध्यारोको कारणले केही पनि देखिइरहेको थिएन, अर्को निद्राको कारण सम्पूर्ण सेना व्याकुल थियो, यस कारणले तपाईंको सेनाको भयङ्कर संहार भइरहेको थियो । धेरैजसो राजाले त आफ्नो वाहन त्यहीं छाडेर भयभीत भएर चारैतिर भागे ।

अर्कोतिर सात्यकिले देखे कि सोमदत्त आफ्नो महान् धनुषको टङ्कार गरिरहेका थिए । सात्यकिले आफ्नो सारथिसित भने– सूत, मलाई सोमदत्तको नजीक लग । आफ्नो बलवान् शत्रु सोमदत्तलाई मारेर मात्र अब म युद्धमा पुनः फर्कनेछु । यो सुनेर सारथिले घोडाहरूलाई सोमदत्ततिर हाँकेर सात्यकिलाई सोमदत्त भएको ठाउँमा पु¥याइदियो । उनी  सात्यकिलाई आफूतिर आइरहेको हेरेर सोमदत्तले उनको सामना गर्नको निम्ति अगि बढे । उनले सात्यकिको छाती ताकी साठीवटा बाण हानेर उनलाई घाइते पारे । प्रत्युत्तरमा सात्यकिले पनि तीक्ष्ण बाण हानेर सोमदत्तलाई पनि घाइते पारिदिए । दुवै एकअर्काको बाणबाट क्षतविक्षत भएर रगताम्ये हुन पुगे । यत्तिकैमा सोमदत्तले अद्र्धचन्द्रकार बाण हानेर सात्यकिको महान् धनुषलाई काटिदिए । फेरि उनीमाथि पच्चीसवटा बाण हानेर शीघ्रतापूर्वक दशवटा बाण अझै हाने । तबसम्म सात्यकिले अर्को धनुष लिएर तुरुन्तै पाँचवटा बाण सोमदत्तमाथि हानेर उनलाई झनै व्याकुल पारिदिए । अनि उनी मुस्काउँदै एउटा भल्ल हानेर सोमदत्तको सुनको ध्वजालाई काटिदिए । अनि सोमदत्तले पुनः सात्यकिमाथि पच्चीसवटा बाण हाने । यसबाट क्रोधित भएर सात्यकिले एउटा क्षुरप्र हानेर सोमदत्तको धनुषलाई काटिदिए । महारथी सोमदत्तले पनि तत्काल अर्को धनुष लिएर सायकहरूको वर्षा गरेर सात्यकिलाई ढाकिदिए । अनि सात्यकिको तर्फबाट भीमसेनले पनि सोमदत्तमाथि दशवटा बाण प्रहार गरे । सोमदत्तले पनि भीमसेनमाथि अनेकौं बाण हानेर उनलाई घाइते पारिदिए । यसपछि भीमसेनले सोमदत्तको छाती ताकी एउटा परिघ प्रहार गरे तर सोमदत्तले हाँस्दै त्यस परिघलाई दुई टुक्रा पारिदिए । तदन्तर सात्यकिले चारवटा बाण हानेर सोमदत्तको रथमा जोतिएका चारवटै घोडाहरूलाई मारिदिए । अनि एउटा भल्ल हानेर उनको सारथिको टाउकोलाई छिनालिदिए । यसपश्चात् सात्यकिले प्रज्वलित अग्निको समान एउटा भयङ्कर बाण हाने, त्यो बाण सोमदत्तको छातीभित्र छि¥यो र सोमदत्त रथबाट लडेर मरे ।

सोमदत्तलाई मरेको हेरेर कौरव महारथीहरूले बाणको ओइरो लगाउँदै सात्यकिमाथि जाइलागे । यो हेरेर राजा युधिष्ठिर तथा अन्य पाण्डव प्रभद्रक वीरहरूको साथ बडो ठूलो डफ्फा सेना लिई द्रोणाचार्यको सैन्यति बढेर आए । उनीहरूले आचार्यले हेर्दाहेर्दै सायकको मारबाट तपाईंको सेनालाई धपाइदिए । यो हेरेर आचार्य क्रोधले आँखा रातोरातो पार्दै युधिष्ठिरमाथि जाइलागे र उनको छाती ताकी सातवटा बाण हाने । युधिष्ठिरले पनि पाँचवटा बाण हानेर आचार्यलाई घाइते पारे । यसपछि आचार्यले युधिष्ठिरको ध्वजा र धनुषलाई काटिदिए । युधिष्ठिरले तत्काल अर्को धनुष लिई घोडा, सारथि, ध्वजा एवं रथसहित आचार्य द्रोणमाथि लगातार एक हजारवटा बाणको वर्षा गरे । उनको बाणको आघातबाट केही घडीसम्म आचार्य मूर्छितावस्थामा रथको पछिल्लो भागमा बसिरहे, होश खुलेपछि बडो क्रोधित भएर उनले युधिष्ठिरमाथि वायव्यास्त्रको प्रयोग गरे तर धर्मराज युधिष्ठिर यसबाट कति पनि विचलित भएनन् । उनले आफ्नो अस्त्रबाट आचार्यको अस्त्रलाई शान्त पारिदिए तथा उनको धनुषलाई पनि काटिदिए । द्रोणले अर्को धनुष उचाले तर युधिष्ठिरले एउटा तीक्ष्ण भल्ल हानेर त्यसलाई पनि काटिदिए ।

यसबीचमा भगवान् श्रीकृष्णले युधिष्ठिरसित भने– महाबाहो, म तपाईंसित जुन कुरा भन्न गइरहेको छु, त्यो सुन्नुहोस् । द्रोणाचार्यसित तपाईं युद्ध नगर्नुहोस् । उनी युद्धमा सदैव तपाईंलाई समात्ने उद्योग गर्छन्, अतः उनीसित युद्ध गर्नुलाई म उचित मान्दिनँ । जो उनको नाश गर्नको लागि मात्र उत्पन्न भएका छन्, ती धृष्टद्युम्नले नै उनको वध गर्नेछन् । तपाईं गुरुसित युद्ध गर्न छाडेर राजा दुर्योधनसित युद्ध गर्नुहोस् । राजाले राजासित नै युद्ध गर्न उचित हुनेछ । अतः तपाईं हात्ती, घोडा र रथसेना लिएर त्यहीं जानुहोस् ।

क्रमशः …

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here