नितेश कर्ण, वीरगंज, ६ भदौ/

कृषि सामग्री कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय, वीरगंजका प्रवक्ता आलोक कुमारले पर्सा जिल्लामा माग अनुसारको मल उपलब्ध गराइएको बताएका छन् ।

उनले पर्सा जिल्लाको लागि ११२३.८५ मेट्रिक टन मल माग भएकोमा भदौ ५ गतेसम्म १००९.०५ मेट्रिक टन मल उपलब्ध गराइसकेको बताएका छन् ।

कृषि ज्ञान केन्द्र, पर्साका बाली अधिकृत सुरेशप्रसाद चौरसियाले पर्सा जिल्लामा ४८ हजार ५३२ हेक्टर क्षेत्रफलमा धानखेती भएकोमा सोको लागि ८२८.३५ मेट्रिक टन मल किसानहरूलाई उपलब्ध गराइएको बताए । कृषि सामग्री कम्पनीबाट प्राप्त मलमध्ये धानखेतीको लागि किसानहरूलाई ८२८.३५ मेट्रिक टन मल वितरण गरिएको र बाँकी मल अन्य बालीको लागि राखिएको जानकारी गराए । धान रोपाइँको बेलामा साल्ट टे«डिङ कम्पनीबाट ५३८.३ मेट्रिक टन मल प्राप्त भएको र किसानहरूलाई बिक्री गरिएको उनले जानकारी गराए । बाली अधिकृत चौरसियाले खडेरीको कारण यस वर्ष पर्सा जिल्लामा धान उत्पादनमा १० देखि १५ प्रतिशत ¥हास हुने बताए ।

धान रोपाइँको बेलामा पनि खडेरी परेर एक महीना ढिलो रोपाइँ भएको र अहिले धानमा गुभो लाग्ने बेला युरिया मलको आवश्यक भएको तर मल उपलब्ध नहुँदा उत्पादनमा कमी आउने उनले बताए ।

जिल्लाका किसानहरूले सरकारले खडेरीको समयमा सिंचाइको व्यवस्थापन गर्न नसकेको र मल पनि पर्याप्त उपलब्ध नगराउँदा समस्या भोग्नुपरेको बताएका छन् । उनीहरूले खेतीमा लगानी बढेको र उत्पादन घट्नुका साथै बजार मूल्य नपाउने चिन्ताले अहिलेदेखि नै सताउन थालेको बताए । आकाशे पानीको भरमा रहेका किसानहरूसँगै नहरनजीकका किसानहरूले पनि सिंचाइ सुविधा पाउन नसकेको किसानहरूको गुनासो छ । भारतले नहरमा सम्झौता अनुसार पानी नछाड्दा नहरनजीकका किसानहरू पनि समस्यामा छन् ।

तीन तहको सरकार भएपनि कुनै पनि सरकार किसानको समस्यामा गम्भीर नभएको उनीहरूले आरोप लगाए । प्रत्येक वर्ष सिंचाइ, मल र कृषि कर्मलाई प्राथमिकतामा राख्ने सङ्घीय सरकारले आश्वासन दिंदै आएको र सोही अनुरूप प्रदेश र स्थानीय सरकार पनि रहेका कारण आफूहरू पीडित हुनुपरेको किसानहरूको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here