नितेश कर्ण, वीरगंज, ५ भदौ/
नेपालको प्रमुख प्रवेशद्वार वीरगंज–रक्सौल सडकखण्ड अन्तर्गत मितेरीपुलदेखि रजतजयन्ती चोकसम्म सडक कालोपत्र गर्ने कार्य शुरू नहुँदा यो सडकखण्डबाट यात्रा गर्नेहरूले सास्ती भोग्नुपरिरहेको छ ।
मितेरीपुलदेखि रजतजयन्ती चोकसम्म सडक कालोपत्र गर्नका लागि सडक विभागले टेन्डर गरेको थियो । तर तत्कालीन समयमा कार्य शुरू हुनुअगावै अदालतमा मुद्दा परेर रोकिएको थियो । केही महीनाअघि मात्र मुद्दाको टुङ्गो लागेपछि सडक कालोपत्र गर्ने कार्य शुरू भएको हो । सडक पुनर्निर्माणको क्रममा डेढ महीनाअघि पुरानो कालोपत्र खनेर हटाइएको थियो भने खाल्डाखुल्डीमा ग्राभेल राखेर पुरिएको थियो ।
त्रिभुवन राजपथ अन्तर्गत पर्ने यो सडकको मर्मतसम्भार कार्य लामो समयदेखि नभएको कारण सडक फुटेर खाल्डाखुल्डी परेको थियो । जसको कारण वर्षायाममा सवारीसाधन र यात्रीहरूले सास्ती खेप्दै आएका थिए । मितेरीपुलमा ३/४ फिटसम्म खाल्डो परेर दिनहुँजसो सवारी दुर्घटना भइरहन्थ्यो ।
डेढ महीनाअघि ठेकेदारले कार्य शुरू गर्दै खाल्डाखुल्डीहरू पुरे पनि सडक कालोपत्र गर्ने कार्य अगाडि नबढेपछि धूलो उडेर यात्रुहरूले सास्ती भोग्नुपरिरहेको छ ।
स्थानीय मुना हुसेनका अनुसार सडक मर्मतसम्भारको लागि ठेकेदारले सडक फोडेर ग्राभेल गर्ने कार्य शुरू गरेको थियो । तर ग्राभेल गर्नुबाहेक अन्य कार्य अघि नबढ्दा अहिले धूलोले बसी नसक्नुभएकोे छ ।
सडक मर्मत कार्य अगाडि नबढ्दा पैदल यात्रुहरूलाई त झनै समस्या छ । सवारीसाधनहरूको अत्यधिक चाप हुने यो सडकखण्डमा धूलोले हिंड्न नसक्ने अवस्था भएको छ । साना सवारीसाधनहरू अटो, ईरिक्शा, साइकल, मोटरसाइकलमा सवार यात्रीहरू पनि धूलोले आजित हुने गरेका छन् । ट्याङ्कर, टिपर, लहरी, ट्रकहरूको आवतजावत ग्राभेल सडकबाट हुँदा धूलो उडेर निकै समस्या हुने गरेको छ ।
यो सडकखण्डमा होटल व्यवसाय गर्नेहरूलाई अहिले झनै समस्या भएको छ । भन्सार क्षेत्र भएकोले सवारीसाधनका चालकहरू र भारत रक्सौलका ग्राहकहरूलाई लक्षित गरेर यो क्षेत्रमा होटल, रेस्टुराँहरू ठूलो सङ्ख्यामा खुलेका छन् । तर धूलोले गर्दा अहिले ग्राहकहरू आउन छाडेको एकजना होटल व्यवसायीले बताए ।