ओमप्रकाश चौधरी, सेढवा, ३ भदौ/
लामो समयदेखि वर्षा नभएकोले ग्रामीण भेगमा खडेरी पर्न थालेको छ । यस क्षेत्रका किसानहरूको वर्षेबाली खडेरीका कारण नष्ट हुन थालेको छ । खेतमा सिंचाइको अभावले खेत चारदेखि छ इन्च गहिरोसम्म चिरा परेका किसानहरूले बताए ।
रोपाइँ भएको एकदेखि डेढ महीना बितिसक्दा पनि आकाशे सिंचाइ नभएको र सिंचाइका अन्य वैकल्पिक व्यवस्था पनि न्यून किसानको पहुँचमा रहेकाले अधिकांश किसानको धानबाली नष्ट हुने क्रममा रहेको छ । बालीको वृद्धि तथा विकासका लागि सिंचाइ गरी दोस्रोपटक रासायनिक मल युरिया, जाइम, जिङ्कलगायतका सामग्री मिसाएर छर्ने गरिन्छ । तर वर्षा नभएको पीडासँगै किसानहरूले युरिया मलको अभाव पनि झेलिरहेका छन् ।
जीराभवानी गाउँपालिका–१ जगतियामा शुक्रवार मल आउँदा किसानहरूको ठूलो भीड देखियो । माग अनुसारको मल नआएको तर किसानहरूको भीड अत्यधिक भएकोले थोरैले मात्र मल पाउन सके । गर्मीमा मलको लागि किसानहरूको भीड बढेपछि उनीहरू आफैं लाइन लाग्नुको साटो जुत्ता, चप्पल राखेर लाइन बनाएका थिए ।
ठोरी गापाको विजयबस्ती, गोपीबस्ती, सुवर्णपुरलगायतका क्षेत्रमा लगाइएको हर्दिनाथ तथा हाइब्रिडलगायत प्रजातिका धानबालीमा बाला निस्किने समयमा सिंचाइको अभावमा बाली नष्ट हुने अवस्थामा पुगेको किसानहरूले बताए । सिंचाइको अर्को साधन कुलोमा पानी कम रहेकोले धानमा उत्पादनमा ¥हास आउने अनुमान गरिएको छ । भूमिगत सिंचाइ अन्तर्गत दमकलबाट सिंचाइ गर्दा पेट्रोलियम पदार्थको मूल्य आकाशिएको कारण किसानहरू थप मर्कामा परेका छन् ।
अहिले पर्साको ग्रामीण क्षेत्रका पेट्रोल पम्पहरूमा डिजेल अभाव छ । अभाव हुनुको कारण भारततर्फ तस्करी भने होइन । अहिले भारतमा नेपालमा भन्दा पेट्रोलियम पदार्थ सस्तो छ । केही महीनाअघि नेपालमा पेट्रोलियम पदार्थ सस्तो हुँदा भारततर्फ तस्करी हुने गरेको थियो । त्यही कारण पम्पहरूले मागभन्दा बढी डिजेल सञ्चय गर्थे तर अहिले तस्करी बन्द भएकोले उनीहरूले डिजेल कम ल्याउने गरेका कारण डिजेल अभाव भएको हो । वैकल्पिक सिंचाइ गर्ने किसानहरूले महँगो मूल्यमा पनि डिजेल पाउन सकेका छैनन् ।