पुल–ए–आलम, ५ भदौ/सिन्ह्वा

अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा शनिवार आएको बाढीमा परी कम्तीमा १० जनाको ज्यान जानुको साथै सयौं घर ध्वस्त भएका सरकारी समाचार संस्था बख्तरले आइतवार जनाएको छ ।

भारी वर्षापछि आएको बाढीको कारण शनिवार दिउँसो लोगार प्रान्तको खुशी जिल्लाका धेरै गाउँका दशजनाको मृत्यु भएको छ र सयौं घर बगाएको वा नराम्ररी क्षति पुगेको समाचार बख्तरले जानकारी दिएको छ ।

बाढीले खुशी जिल्ला आसपासका सयौं हेक्टर खेतबारी नष्ट गरेको छ ।  विगत केही महीनामा युद्धग्रस्त यस देशका ३४ प्रान्तमध्ये दश प्रान्तमा अविरल वर्षा र बाढीका कारण दुई सयभन्दा बढी व्यक्तिको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । पाकिस्तानमा वर्षा र बाढीबाट ३६ को मृत्यु

इस्लामाबाद/सिन्ह्वा

पाकिस्तानमा २४ घण्टा यता भएको निरन्तर वर्षा र त्यसका कारण आएको बाढीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ ।

यहाँका उद्धार अधिकारीहरूले दिएको जानकारी अनुसार पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । यो प्रान्तमा मात्र १८ जनाको मृत्यु भएको छ भने अन्य सयभन्दा बढी घाइते छन् ।

त्यसैगरी पाकिस्तानको उत्तरपश्चिमी खैबर पाक्थुन्क्वामा पनि बाढीको प्रकोप बढेको छ । सो प्रान्तमा गएको २४ घण्टा यता बाढीमा परेर कम्तीमा ११ जनाले ज्यान गुमाएका छन् ।

उक्त दुई प्रान्तमा वर्षा जारी रहेकोले बाढीको प्रकोप थप बढ्न सक्ने भन्दै सतर्क रहन सरकारले सूचना जारी गरेको छ ।

यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले क्षतिको विवरण आउन बाँकी रहेको बताएको छ । उक्त निकायले गएको २४ घण्टामा पाकिस्तानका कैयौं क्षेत्रमा बाढी र वर्षा आएको भन्दै शनिवार बिहानैदेखि आइतवार बिहनासम्म अविरल पानी परेकोले अरू पनि क्षति भएको अनुमान गरिएको छ ।

विवरण आउन बाँकी रहेको सो निकायले जनाएको छ । पछिल्लो वर्षा र बाढीले २० हजारभन्दा बढी घर भत्केका छन् । यस वर्षामा मात्र सात सयभन्दा बढीको ज्यान गएको छ र हजारौं व्यक्ति घरबारविहीन भएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here