प्रस, परवानीपुर, ४ भदौ/
मोफसलकै सबैभन्दा पुरानो अस्पताल भनेर चिनिने नारायणी अस्पताल वीरगंजमा सरकारको उदासीनताका कारण न्यूरो र मूत्ररोग विशेषज्ञ डाक्टरहरूको अभाव हुँदै आएको छ ।
मध्य तराईको पर्सा, बारा, रौतहट, सर्लाही र बिहार राज्यका बिरामीहरू उपचारको लागि आउने नारायणी अस्पतालमा विगत लामो समयदेखि न्यूरो सर्जन, मूत्ररोग विशेषज्ञ (युरोलोजिस्ट) चिकित्सकको दरबन्दी भए तापनि नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले चिकित्सक नपठाउँदा वीरगंजको सरकारी अस्पतालमा न्यूरो र युरोलोजिस्टको अभाव खड्किएको हो ।
बिरामीको चाप अत्यधिक भए तापनि सम्बन्धित विभागका डाक्टर नहुँदा नारायणीमा आउने न्यूरो र युरोलोजिस्टका बिरामीहरू अन्य निजी अस्पतालमा जान बाध्य छन् ।
सरकारी अस्पतालमा पर्याप्त मात्रामा चिकित्सक नपठाउँदा सरकारी अस्पतालको आम्दानी कमी हुन्छ भने निजी अस्पतालहरू मालामाल भइरहेको अवस्था रहेको नारायणी अस्प्तालका कर्मचारीहरूले बताएका छन् । पछिल्लो समयमा मधेस प्रदेशको विभिन्न जिल्लामा सवारी दुर्घटना हुँदा न्यूरो उपचारको लागि बिरामीहरू वीरगंजको निजी न्यूरो अस्पताल तथा मूत्ररोगसम्बन्धी समस्या लिएर चितवन र काठमाडौंसम्म धाउने गरेका छन् ।
यसरी यस भेगको जनताले उपचारमा सहज पहुँच नपाएको र यो दुईटा विभागको उपचारको लागि वीरगंजभन्दा बाहरको अस्पतालमा लाखौं खर्च गर्नुपरेको बताएका छन् ।
यस विषयमा नारायणी अस्प्ताल वीरगंजका प्रवक्ता डा उदयनारायण सिंहसँग बुझ्दा उनले नारायणी अस्पताल मधेस प्रदेशकै नमूना अस्पताल हो । दरबन्दी हुँदा पनि चिकित्सक नियुक्त गर्न नसक्नु र चिकित्सक नपठाउनु दुःखद कुरा भएको बताए ।
यस विषयमा अस्पताल प्रशासनले स्वास्थ्य विभागमा पटकपटक ताकेता गर्दा पनि नारायणी अस्पतालको माग सुनुवाई नभएको बतायो ।