कास्की, ४ भदौ/रासस

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकूदका लागि प्रदेश सरकारले रु तीन करोड ४६ लाख बजेट निकासा गरेको छ ।

प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोटलगायत कामका लागि अर्थ मन्त्रालयले बजेट उपलब्ध गराएको हो । प्रदेश खेलकूद परिषद्को माग र युवा तथा खेलकूद मन्त्रालयको सिफारिश अनुसार मन्त्रालयले सो रकम निकासा गरेको प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बताए ।

खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूदको तयारीका लागि रु पाँच करोड माग गरे पनि अर्थले हालका लागि सो रकम उपलब्ध गराएको हो । राष्ट्रिय खेलकूदका लागि भनेर चालू आर्थिक वर्षको बजेट कार्यक्रममा नै प्रदेश सरकारले रु एक करोड ४० लाख विनियोजन गरेको थियो । अर्थ मन्त्रालयले बजेटमा व्यवस्था गरिएकोबाहेक थप बजेट खेलकूद मन्त्रालयलाई उपलब्ध गराएको हो ।

अर्थमन्त्री बरालले राष्ट्रको गौरवसँग जोडिएको राष्ट्रिय खेलकूदमा गण्डकीका टोलीको प्रशिक्षण, तयारी र आधारभूत आवश्यकताका लागि बजेट अभाव हुन नदिइने बताए । उनले भने–“राष्ट्रिय खेलकूदका लागि बजेट अभाव हुन दिदैनौं । अहिले निकासा गरिएभन्दा थप आवश्यक परे पुनः बजेट दिन्छौं । खेलाडीलाई आधारभूत सुविधामा बजेट अभावले कुनै पनि कमी हुन दिदैनौं ।”

असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकूदका लागि गण्डकी प्रदेश सरकारले खेलाडी प्रशिक्षण शुरू गरेको छ । प्रदेश खेलकूद परिषद्ले शुक्रवारदेखि पहिलो चरणमा १४ खेलको विशेष प्रशिक्षण शुरू गरेको छ । विशेष प्रशिक्षणबाट प्राविधिक टोलीले आवश्यक खेलाडी छनोट गर्ने परिषद्ले जनाएको छ ।

राष्ट्रिय खेलकूदमा ३६ र दुई प्रदर्शनी खेल गरी ३८ खेलमा पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सफ्ट टेनिस, टेनिस, स्क्वास, खो खो, हक्की, फेन्सिङ, स्विमिङ, ट्रायाथलन, साइक्लिङ, महिला ह्यान्डबल, महिला बास्केटबल, महिला फूटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुश्ती, सुटिङ र आर्चरी खेलको विशेष प्रशिक्षण सञ्चालन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here