प्रस, वीरगंज, ३ भदौ/
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको चहलपहल पर्सामा पनि शुरू भएको छ । पर्साको चारवटै क्षेत्रमा आकाङ्क्षीहरूको सरगर्मी बढेको सामाजिक सञ्जालमा देख्न सकिन्छ ।
चुनावमा सत्ता गठबन्धन र प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूले प्रतिस्पर्धा गर्ने सम्भावना रहेको फेसबूकमार्फत जानकारी गराइरहेका छन् भने केही नेता केन्द्रीय समितिको निर्णय पर्खेर बसेका छन् ।
सत्ता गठबन्धनले कुन पार्टीका कुन उम्मेदवारले कुन क्षेत्रमा चुनाव लडनेबारे अहिलेसम्म टुङ्गो लगाउन सकेको छैन भने प्रतिपक्षमा रहेको एमालेले आन्तरिकरूपमा करीब ५० प्रतिशत टिकट वितरण गरिसकेको बताइन्छ ।
पर्सामा चारवटा प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्र छ भने आठवटा प्रदेश सांसदहरूको क्षेत्र छ । पर्सामा प्रतिनिधिसभा सदस्यतर्फ क्षेत्र नं १ मा जसपाका प्रदीप यादव, काङ्ग्रेसका अनिल रूँगटा, अजयकुमार द्विवेदी, एमालेका बसरूद्दीन अन्सारी, क्षेत्र नं २ मा काङ्ग्रेसका अजय चौरसिया, राजेन्द्रबहादुर अमात्य, लोसपाका विमल श्रीवास्तवलगायतको चर्चा छ ।
त्यसैगरी पर्सा क्षेत्र नं ३ मा एमालेका राजकुमार गुप्ता, काङ्ग्रेसका सुरेन्द्र चौधरी, जसपाका मोहनलाल चौधरी, पूर्वसांसद हरिनारायण रौनियारकी छोरी डा. मधु रौनियार, नेपाल सुशासन पार्टीबाट राजकुमार यादवलगायतको चर्चा छ भने क्षेत्र नं ४ मा काङ्ग्रेसका रमेश रिजाल, एमालेका जालिम मियाँ, जयप्रकाश थारू, उर्मिला अर्याल, टेकबहादुर शाक्यलगायतले चुनाव लड्ने चर्चा छ ।
त्यसैगरी, प्रदेश सांसदतर्फ क्षेत्र नं १ को (क, ख) मा जसपाका नेता एवं मुख्यमन्त्री लालबाबूराउत गद्दी, जन्नत अन्सारी, काङ्ग्रेसका अरविन्द गुप्ता, विजय सर्राफ, सुधीर पटेल, लोसपाका ओमप्रकाश सर्राफ, एमालेका शम्भु गुप्ता, सुन्दर कुर्मी, विचारी यादवलगायतको चर्चा छ भने क्षेत्र नं २ को (क, ख)मा लोसपाका रमेश कुर्मी, जसपाका रामनरेश यादव, काङ्ग्रेसका राजेश्वर साह तेली, श्याम पटेल, नितेन्द्र साह तेली, रामरूप कुर्मीलगायतको चर्चा छ । एमालेका उम्मेदवारहरूको अहिले टुङ्गो लागेको छैन ।
त्यसैगरी, क्षेत्र नं ३ को प्रदेशसभा निर्वाचन क्षेत्र (क, ख) मा लोसपाका प्रह्लाद गिरी, काङ्ग्रेसका जनार्दन सिंह क्षत्री, जसपाका मन्जुर अन्सारी, स्वतन्त्रबाट रामबाबू यादव, प्रमोद जैसवाललगायतको चर्चा छ भने क्षेत्र नं ४ को प्रदेशसभा क्षेत्र (क, ख) मा जसपाका सिंहासनसाह कलवार, एमालेका ठाकुरप्रसाद न्यौपाने, बलिरामसाह तेली, टेकबहादुर शाक्य, काङ्ग्रेसका शङ्कर चौधरी, माओवादीका महमद सल्लाउद्दीन अन्सारीलगायतको चर्चा छ ।