प्रस, वीरगंज, २ भदौ/
प्रतीक दैनिकको ३६औं वार्षिकोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । नेपाल पत्रकार महासङ्घ, पर्साको सभाकक्षमा वार्षिकोत्सवको अवसरमा सुबोध स्मृति पत्रकारिता पुरस्कार वितरण गरियो ।
पत्रकार गोविन्द देवकोटालाई रु ५१ हजार राशिको सुबोध सिंह स्मृति पत्रकारिता पुरस्कार कार्यक्रमका प्रमुख अतिथि प्राडा वासुदेवलाल दासले प्रदान गरे ।
यसैगरी, वार्षिकोत्सवमा संवाददाता राधेश्याम पटेललाई रु १५ हजार राशिको उत्कृष्ट संवाददाता पुरस्कार र मोहन दास तत्वालाई यस वर्षको उत्कृष्ट कर्मचारी पुरस्कार रु पाँच हजार राशिको प्रदान गरिएको थियो ।
नेपाल पत्रकार महासङ्घका प्रदेश महासचिव श्याम बन्जारा र सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले पुरस्कार वितरण गरेका थिए ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्राडा दासले पत्रकारिता तथ्यमा आधारित हुनुपर्ने र समाचारले जनताको विश्वसनीयता पाउनुपर्ने बताए । उनले यो कर्म बहुतै जोखिमपूर्ण भएको हुँदा यसको निर्वाह गर्न जिम्मेवारीपूर्वक लाग्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आफू २२ वर्षअगाडि बारा जिल्लामा कार्यरत रहँदादेखि प्रतीकले बनाएको विश्वसनीयताको चर्चा गरे । उनले त्यतिखेर कम सङ्ख्यामा पत्रिकाहरू प्रकाशन हुने र अनलाइनको जमाना नभएको बेलामा प्रतीक मानिसहरूले खोजीखोजी पढ्ने गरेको बताए । उनले अहिलेसम्म यो कार्यलाई निरन्तरता दिएकोमा प्रतीक दैनिक परिवारको प्रशंसा गरे ।
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध गुप्ताले प्रतीक दैनिकले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे । उनले पत्रकार र उद्योगीबीचको सम्बन्ध प्रगाढ होस् भन्ने विषयमा आफ्नो प्रयास रहेको बताए । राज्यलाई कर तिर्ने उद्योगी र कर छल्ने उद्योगीलाई एकै तराजुमा राखेर पत्रकारहरूले मूल्याङ्कन गर्न नहुने भन्दै उनले कर छल्ने उद्योगीविरुद्ध कलम चलाउन र करको दायरामा ल्याउन आग्रह गरे ।
वार्षिकोत्सव समारोहमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछाने, प्रदेश महासचिव बन्जारा, शाखा अध्यक्ष अनुप तिवारीले पनि प्रतीक दैनिकले आफ्नो प्रकाशन अवधिमा जनताको विश्वसनीयता जोगाइराखेको बताए । उनीहरूले सत्य, तथ्य, निष्पक्ष समाचारको लागि प्रतीक आपैंmमा उदाहरणीय रहेको चर्चा गरे ।
व्यवस्थित वीरगंज अभियानका संयोजक दिलीपराज कार्कीले युवाहरूलाई हौसला प्रदान गर्ने कार्यमा पनि प्रतीकको भूमिका प्रशंसनीय रहेको बताए । केही गरौं भनी जोशका साथ अगाडि बढ्न खोज्ने युवाहरूलाई प्रतीकले हौंस्याउँदै आएको बताए ।
प्रतीक प्रकाशन समूहकी अध्यक्ष बिन्दु शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानसम्पादक जगदीशप्रसाद शर्माले स्वागत गरेका थिए भने पुरस्कृत व्यक्ति देवकोटालगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमको सहजीकरण सम्पादक प्रताप श्रेष्ठले गरेका थिए ।
यसैबीच ३६औं वार्षिकोत्सवको अवसरमा वीरगंज महानगरपालिका–१८ भवानीपुरस्थित नेरामावि भवानीपुरमा छवटा पङ्खा प्रदान गरिएको छ । विद्यालयमा पङ्खा अभाव भएको र गर्मीमा पठनपाठनका लागि विद्यार्थीहरूलाई समस्या हुने गरेकोले छ थान पङ्खा सहयोग गरिएको प्रबन्ध सम्पादक/व्यवस्थापक विकाश शर्माले बताए ।