निजगढ नगरपालिकाको तालाबन्दी करीब १५ दिनपछि खुलेको छ । प्रमुख प्रशासकीय अधिकृतको कोठामा पालिका प्रमुखले ताला लगाएपछि प्रमुख प्रशासकीय अधिकृत पक्षधर पालिका सदस्यहरूले पालिकाका प्रमुख र उपप्रमुखको कार्यकक्षमा  तालाबन्दी गरेका थिए । आफूलाई असहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयले पुनः पालिकामा पठाएको भन्दै नगरप्रमुखले अधिकृतको हाजिर रोक्न ताला लगाएका थिए । कार्यकारी अधिकृतबारे मन्त्रालयले निर्णय सच्याएपछि ताला खुलेको हो । पालिकामा प्रशासन प्रमुख र पालिका सरकार प्रमुखबीच मनमुटाव भएको प्रायः सुनिन्छ । बितेको कार्यकालमा पनि पर्सा, बारालगायत कतिपय जिल्लाका पालिकाहरूमा यो समस्या देखिएको थियो ।

स्थानीय सरकार प्रमुख र प्रशासन प्रमुखबीच मनमुटाव रहेका पालिकाहरूको अवस्था दयनीय रह्यो । त्यस्ता पालिकाहरूका कर्मचारीले समयमा तलब पाउनसमेत सकेनन् । सामाजिक सुरक्षा भत्तFका गतिविधि र विकास निर्माण कार्यहरू प्रभावित भए । फलस्वरूप त्यसको असर स्थानीय चुनावमा देखियो ।

सरकार प्रमुख र प्रशासन प्रमुखब्चि मनमुटाव हुने विभिन्न कारणहरू छन् । मुख्य कुरा सरकार प्रमुख र प्रशासन प्रमुखका व्ैचारिक आस्था फरक पर्दा मनमुटाव हुने गरेको छ । पालिका प्रशासन प्रमुखको जिम्मेवारी पाउनका लागि अपवादबाहेक सिफारिश लगाउनै पर्ने हुन्छ । त्यसको निम्ति मन्त्रालय वा विभागमा पहुँच भएका पार्टी नेतृत्वले आफूनजीकका कर्मचारीलाई अवसर दिन खोज्छन् । पार्टी नेताले भन्दा ठूलो राजनीति कर्मचारी नेताहरूले गरिरहेका हुन्छन् । उनीहरूलाई आफू अनुकूल राख्नका लागि पनि पार्टी नेतृत्वले आस्था हेर्नुपर्ने बाध्यता छ । यसरी पदासीन प्रशासन प्रमुखले आफ्नो सिद्धान्तविपरीतका सरकार प्रमुखलाई अन्तर्मनबाट सहयोग गर्दैनन् । उता सरकार प्रमुखलाई पनि मनको बाघले खाइरहेको हुन्छ । यो अवस्थामा सानै घटनाबाट पनि मनमुटाव सिर्जना हुन्छ । मनमुटावको अर्को कारण हो– कमिशन, पालिकामा सामग्री खरीददेखि विकास निर्माणका ठेक्का पट्टामा समेत कमिशनको खेल हुन्छ । कतिपय पालिकामा त योभन्दा तल झरेर कर्मचारी नियुक्ति, सरुवा, जिम्मेवारी हेरफेर, उपभोक्ता समिति गठनलगायतका कामहरूमा पनि लेनदेन चलेको पाइएको छ । कमिशनको जति चलखेल हुन्छ, पदाधिकारीहरूबीच मनमुटाव त्यत्ति नै बढ्छ । कमिशनको भागबन्डाबाट मनमुटाव शुरू हुने हो । पालिका प्रमुख र प्रशासन प्रमुखबीच मनमुटावका अन्य सहायक कारणहरू धेरै छन् ।

भनिन्छ, ‘मन्त्री सफल हुने र असफल हुने भूमिका सचिवको हातमा हुन्छ ।’ त्यसैगरी, स्थानीय सरकार प्रमुख सफल वा असफलताको मुख्य भूमिका प्रमुख प्रशासकीय अधिकृत/ कार्यकारी अधिकृत हुन्छन् । सरुवा भइआएका कर्मचारीलाई हाजिर गराउने वा सहमति दिने अधिकार पालिका प्रमुखलाई हुन्छ । तर पालिका कर्मचारीको फाँटसमेत परिवर्तनसम्म गर्न सक्ने अधिकार पालिका प्रमुखलाई छैन । जनमत पाएर आएका सरकार प्रमुखले आफूलाई सर्वेसर्वा ठानिरहेका हुन्छन् भने पालिका हाँक्न आवश्यक नियम कानून अध्ययन गरेर बसेका प्रशासन प्रमुखले हरेक पाइलामा कानूनी अडचन देखाइदिन सक्छ । यसर्थ विभाग वा मन्त्रालयले पनि सकभर मनमुटावपूर्ण अवस्थाका पालिकाहरूमा के गर्दा जनहितमा हुन्छ, त्यसै गर्दा विवेक प्रयोग गर्न सक्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here