प्रस, वीरगंज, ३१ साउन/
मधेस प्रदेश सरकारले आइतवारदेखि शुरू गरेको सङ्घीय सरकारविरुद्धको आन्दोलन मङ्गलवारदेखि स्थगित गरेको छ ।
प्रहरी समायोजनको माग गर्दै आइतवारदेखि पहिलो चरणमा बिहान ११ देखि दिउँसो १ बजेसम्म दुई घण्टा धर्ना दिने कार्यक्रम एक सातासम्म चलाउने प्रदेश सरकारले पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो तर सोमवारसम्म धर्ना कार्यक्रम चल्यो र मङ्गलवार स्थगित भयो । स्थगित हुनुको कारण प्रधानमन्त्रीको आश्वासन हो । मुख्यमन्त्री लालबाबूराउत गद्दीले प्रहरी समायोजनको विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रधानमन्त्रीको आश्वासन आएपछि धर्ना कार्यक्रम स्थगित गरिएको बताए ।
धर्नास्थलमा पुगेर प्रदेशप्रमुख हरिशङ्कर मिश्रले प्रधानमन्त्री देउवाले दिएको आश्वासन मुख्यमन्त्रीलाई जानकारी गराएका थिए । उनले केन्द्र सरकार प्रहरी समायोजनमा गम्भीर र सकारात्मक रहेको र घोषित मङ्सिर ४ गतेको निर्वाचनपछि पूरा गर्ने आश्वासन दिएको जानकारी गराएका थिए । सोपछि घोषित आन्दोलन आजदेखि स्थगित भएको मुख्यमन्त्रीले जानकारी गराए ।