• विनोद गुप्ता

आज १५ अगस्तका दिन छिमेकी मित्रराष्ट्र भारत आफ्नो ७६औं स्वतन्त्र दिवस मनाउँदै छ । सर्वप्रथम त यस अवसरमा सम्पूर्ण भारतवासीमा निरन्तर उन्नति र प्रगतिको शुभकामना दिन चाहन्छु । वीरगंज महावाणिज्य दूतावासको कार्यालयको निमन्त्रणमा आजको कार्यक्रममा सहभागी भइरहँदा अनायास केही सम्झना, केही स्मृति आँखा अगाडि खेल्न थाले । मेरो जन्म १९५५ मा भएकोले भारतको स्वतन्त्रता सङ्ग्रामको सम्झना हुने कुरै भएन तर सन् ६२ मा भारत–चीन युद्धका दौरान बुबा, काकाहरूले कान थापेर रेडियो सुन्ने गरेको र युद्धमा चीनले जित हात पारेको कुराकानी गरेको सम्झन्छु । पछिपछि अध्ययनको क्रममा नेपालका भारतमा अध्ययननरत विद्यार्थीहरूको ठूलो समूहले राजनैतिक चेतनाले ओतप्रोत भएर भारतको स्वतन्त्रता सङ्ग्राममा ठूलो योगदान दिएको र त्यही स्वतन्त्रता सङ्ग्रामबाट अनुभव बटुलेर स्व. विपी कोइरालालगायतक प्रजातान्त्रिक नेताहरूले नेपालमा समेत १०४ वर्षदेखि चलिआएको राणा शासनविरुद्ध क्रान्ति शुभारम्भ गरी २००७ सालमा नेपालमा राणा शासनको अन्त्य भएको पढेको सम्झना भएर आयो । तुलनात्मकरूपमा हेर्दा ५ वर्षकै अन्तरालमा दुवै देशले स्वतन्त्रता प्राप्त गरेका हुन् तर भारतले उपनिवेशबाट स्वतन्त्रता प्राप्त ग¥यो भने हामीले राणा शासनबाट । त्यसबेलादेखि अहिलेसम्मको अवस्था हेर्दा चीनसँग युद्धमा पराजय भोगेको भारतमा करीब ७० वर्षसम्म काङ्ग्रेसकै शासन रह्यो र यस दौरानले विश्व स्तरमा आइआइटी, चिकित्सा विज्ञान संस्थान, कृषि अनुसन्धान केन्द्रहरूदेखि परमाणविक एवं अन्तरिक्ष्F अनुसन्धान केन्द्रसम्म खोलेर हरित क्रान्ति ग¥यो । आइटीको क्षेत्रमा विश्वमैं अग्रणी स्थान हासिल गरेको छ भने मेक इन इन्डियाको नारा दिएर चन्द्रमामा अन्तरिक्षयान पठाउनुका साथै युद्धको क्षेत्रमा समेत तेजस वायुयान र ब्राम्होस मिसाइल निर्माण गर्न भ्याएर विश्वमा चौथो उदीयमान शक्तिको रूपमा स्थापित हुँदैछ । परिवहनको क्षेत्रमा सधैं नौलो कार्य गर्दै अहिले स्टिल स्त्रैmपबाट पक्की सडक निर्माण गर्न सक्षम भएको छ भने रेल परिवहनमा समेत बन्दे भारतको माध्यमबाट क्रमशः गति विस्तारको बाटोमा अग्रसर छ । अहिले भारत ५ ट्रिलियन डलरको आर्थिक अवस्थामा पुग्न प्रयासरत छ ।

भारतको यो अवस्थासँग हाम्रो तुलना गर्दा इन्जिनीयरिङ कलेज थुप्रै खुले पनि आइआइटीको समकक्षता त सपना नै छ भने नेपाल सरकार आफैले खोल्न भ्याएको त्यो पनि ७०  वर्षमा एकमात्र चिकित्सा शास्त्र अध्ययन संस्थानले जेनतेन आफ्नो गरिमा जोगाए पनि भारतको सहयोगमा  र भारतीय आयुर्विज्ञान संस्थानको भगिनी संस्थाकै रूपमा स्थापित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हालत हामी कसैबाट लुकेको छैन । प्रत्येक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज खोल्न डा गोविन्द केसीले अनेकौं पटक सत्याग्रह गरिसकेका छन् । नार्क (कृषि अनुसन्धान परिषद्) र नास्ट (नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी)मा वैज्ञानिक अनुसन्धानभन्दा प्रशासनिक कार्यकै बजेट बढी भएको सुन्दा दिक्दार लाग्नु अस्वाभाविक होइन । प्रजातन्त्रको बहालीपछि राष्ट्रिय राजमार्गको तुलनामा स्थानीय निकायबाट बढी सडक निर्माण भएको छ भने सडक परिवहन प्रणाली अझैं पनि स्तरहीन छ । वायुसेवा आम नेपालीको पहुँचभन्दा बाहिर छ । आफ्नो आन्तरिक उत्पादन गरेर आयात प्रतिस्थापन गरेर पनि धेरै हदसम्म व्यापारघाटा कम गरेर विदेशी मुद्रा सञ्चिति मनग्य राख्ने अवसर र अवस्था हुँदाहुँदै पनि यतातिर कसैको ध्यान गएको देखिंदैन ।

भारत ठूलो छ, बजार ठूलो छ भनेर दायित्व पन्छ्याउनुभन्दा कमसेकम खाद्यान्न, फलाम, सिमेन्ट, चिनी, दूग्धजन्य उत्पादनको क्षेत्रलाई एक–एक क्षेत्र छनोट गरेको भए पनि बितेको तीस वर्षमा दुई चारवटा त उपलब्धि प्राप्त हुने नै थियो । तर यसतर्फ प्रयास नै भएको देखिंदैन । ७० वर्षको इतिहासमा न पञ्चायत, न प्रजातन्त्रकालमैं, एउटा पनि रासायनिक मलखाद कारखाना स्थापना गर्न सकेको छ । आखिर किन यस्तो भिन्नता ?

भारतको आधुनिककालको इतिहास केलाउँदा भारतीय प्रधानमन्त्रीहरू स्व. जवारहलाल नेहरू, लालबहादुर शास्त्री, इन्दिरा गाँधी, राजीव गाँधी, अटलबिहारी वाजपेयी, इन्द्रकुमार गुजराल, पिभी नरसिम्हा राव, चन्द्रशेखरदेखि अहिलेसम्मका नरेन्द्र मोदीसम्म आइपुग्दा एउटा कुरामा के समानता पाइन्छ भने उनीहरू सबैले आआफ्नो दललाई चुनाव जिताउन सबै हतकण्डा नेपालझैं प्रयोग गरे पनि चुनाव जितेपछि भने देशको विकासमा समर्पित रहन कुनै कसर बाँकी राखेनन् । उनीहरूसँग दूरदृष्टि थियो एउटा सपना थियो जसलाई पूरा गर्न लागिरहे । यसैको फलस्वरूप भारत आन्तरिक अवस्था र अन्तर्राष्ट्रिय अवस्थासमेत प्रतिकूल हुँदा पनि पाकिस्तानसँग दुई–दुईपटक युद्धमा होमिएर आजको यो सम्माजनक स्थान प्राप्त गर्न सफल भएको छ । यता हाम्रो इतिहास हेर्दा समकक्षी भारतीय नेताहरू जस्तै सपना बोकेर आएका योद्धाहरूले २००७ सालमा क्रान्ति गरे पनि सत्तामा पुग्न आठ वर्ष कुर्नुप¥यो अर्थात् २०१५ सालमा मात्र आम निर्वाचन सम्पन्न भयो र त्यो पनि दुई वर्षभित्र नै समाप्त भयो । २०१७–२०४६ सम्मको पञ्चायतको इतिहास हेर्दा केही उद्योग स्थापना र पूर्वाधार जस्तै– सडक, अस्पताल, विश्वविद्यालयको स्थापना भएको हो । तर जनचाहना अनुरूप नभएकोले नै २०४६ सालको आन्दोलनमा जनताले काङ्ग्रेसलाई साथ दिएको हो । तर प्रजातन्त्र स्थापना भएदेखि आजसम्म नमालुम कुन रोगले नेपाली राजनीतिलाई छोएको छ कि हाम्रा नेताहरूलाई सत्ता जोगाउन धौधौ परिरहेको हुन्छ, जसले गर्दा उनीहरू देश विकासबारे सोच्नै पाउँदैनन् वा दूरदृष्टि वा भिजन नै नभएकोले उन्नत नेपालको सपना नै देख्न सक्दैनन्, भन्न कठिन छ । कठिन भए पनि अब प्रजातन्त्र स्थापनाको तीस वर्षपछि उद्योग, शिक्षा, चिकित्सा सेवा, कृषि, सिंचाइ र प्रौद्योगिकीको अवस्था हेर्दा सत्य यही हो जस्तो लाग्छ ।

भनिन्छ, सन् १९७० मा नेपाल र चीनको प्रतिव्यक्ति आय २५० अमेरिकी डलर थियो । आज चीन कहाँ छ र हामी कहाँ छौं ? खैर, सन्दर्भ भारतीय स्वतन्त्रता दिवसको हो र यस अवसरमा मित्रराष्ट्र भारतसँगै कमोबेस स्वतन्त्र भएको हाम्रो देशको के अवस्था छ भन्ने तुलना गर्नेतर्फ लागियो । अब पुनः मूल सन्दर्भतिर फर्किदै मित्रराष्ट्र भारतको जनता र सरकारलाई अमृत महोत्सव वर्ष समापन गरी ७६औं स्वतन्त्रता दिवस मनाइराख्दा आफ्नो तर्फबाट उन्नति एवं प्रगतिको लागि फेरि एकपटक शुभकामना व्यक्त गर्दै अन्त्यमा हाम्रो देश हाँक्ने नेताहरूले भारतको यस उपलब्धिबाट केही सिको लिन सके हाम्रFे पनि कल्याण हुने अपेक्षा गर्न सकिन्छ ।

1 COMMENT

  1. तुलनात्मक सन्दर्भ सहित सम्पादकीयले मनलाई छोयेको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here