प्रस, वीरगंज, ३० साउन/

पर्साको जगरनाथपुर गाउँपालिकाले समयमा वृद्धभत्ता, कोरोनापीडित राहत तथा दिवा खाजाको रकम विद्यालयमा नपठाएको भन्दै स्थानीयहरूले सोमवार गापाको कार्यालयमा विरोध प्रदर्शन गरेका छन् । पर्साका अन्य पालिकाहरूले सामाजिक सुरक्षा भत्ता वितरण गरिसकेको तर जगरनाथपुर गापाले अहिलेसम्म सो भत्ता वितरण नगरेको भन्दै स्थानीय ज्येष्ठ नागरिकहरूसमेत गापा कार्यालयमा पुगेर विरोध कार्यक्रममा सहभागी भएका थिए ।

नेपाल सरकारले कोभिड प्रभावितका लागि गत वर्ष पठाएको रु ८० लाख छ हजार भत्ता गापाका कर्मचारीहरूको लापरवाहीले वितरण हुन नसकेको स्थानीय शरीफ गद्दीले बताए ।

यस सम्बन्धमा गापा अध्यक्ष श्रीकान्त यादवसँग बुझ्दा यही सबै कार्यका लागि आफू अहिले काठमाडौंमा रहेको बताए । उनले आफू हालै निर्वाचित भइआएको तर कर्मचारीहरूले गरेका गलतीको परिणाम अहिले आफूले भोग्नुपरिरहेको बताए ।

उनले यसअघिका जनप्रतिनिधिहरूको लापरवाहीपूर्ण कार्यले अहिले यो दशा आइपरेको बताए । उनले सबै कार्य मिलाएर ती भत्ता भदौ महीनामा वितरण गरिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here