बालुचिस्तान, ३० साउन/एएनआई
पाकिस्तानको बालुचिस्तानमा वर्षाजन्य घटनामा परी थप आठजनाको मृत्यु भएको छ । योसँगै पछिल्लो प्राकृतिक प्रकोपमा परी पाकिस्तानमा मृत्यु भएकाहरूको सङ्ख्या १९६ पुगेको छ । मृत्यु भएकामध्ये ९६ जना पुरुष रहेका छन भने ४५ जना महिला छन् । त्यसैगरी, ५५ जना बालबालिकाको मृत्यु भएको जनाइएको छ ।
वर्षाका कारण बालुचिस्तानका धेरै ठाउँमा आएको बाढी पहिरोले मानवीय र भौतिक क्षति गरेको छ । बाढी पहिरोका कारण पछिल्लो तीन दिनमा ८१ जना घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् ।
प्राकृतिक प्रकोपमा परी एक लाख सात हजार ३७७ पशु चौपायाहरू पनि मरेको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ । बलुचिस्तानको बोलान, क्वेटा, झोव, डाक्की, खुज्डर, कोलु, केच, मस्तुङ, हर्नाइ, क्विला साइफुल्लाह र सिब्बीमा बाढी पहिरोले मानवीय क्षति गरेको हो ।
बाढी पहिरोले सडक यातायात सेवा, विद्युत्, सञ्चारलगायतका सेवा पनि प्रभावित भएका छन् । ती सेवा सुचारु गर्नका लागि प्रयास भइरहेको अधिकारीहरूको भनाइ छ ।
बाढी पहिरोले मानिसहरू बस्ने घरहरूमा पनि ठूलो क्षति पु¥याएकाले क्षतिग्रस्त घरका बासिन्दा विस्थापित भएका छन् ।
उनीहरूलाई अस्थायी शिविरमा राखिएको छ । स्थानीय एक अधिकारीका अनुसार क्विला साइफल्लाहमा मात्रै झन्डै १२० घर क्षतिग्रस्त भएको पाइएको छ । त्यसैगरी, अन्य ठाउँमा अरू २०० घर क्षतिग्रस्त भएको अधिकारीहरूले जनाएका छन् ।
भीषण वर्षामा परी सुडानमा ५२ जनाको मृत्यु
खार्तुम/सिन्ह्वा
सुडानमा भीषण वर्षा भएको छ । वर्षाको कारण आइतवार रातिसम्म कम्तीमा पनि ५२ जनाको ज्यान गएको बताइएको छ । यहाँको उत्तरी कोरदोफान राज्यमा बाढीको बढी असर देखिएको छ । सो राज्यमा मात्र १९ जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन् ।
यहाँको रक्षा मन्त्रालयले दिएको जनकारी अनुसार उत्तरी र मध्य सुडानमा व्यापक वर्षा भएको छ । यहाँका २१९ हेक्टर क्षेत्रफल कृषियोग्य जमीनमा क्षति पुगेको छ । यस क्षेत्रका पाँच हजारभन्दा बढी घरमा क्षति पुगेको छ ।
सरकारले यहाँ प्रहरी, सेना तथा अन्य उद्धारकर्मीहरू परिचालन गरेको छ । दुर्ई दिनदेखि वर्षा जारी रहेकाले थप सतर्कता अपनाउन भनिएको छ । यहाँ गएको जून महीनादेखि नै वर्षा भइरहेको र मानवीय क्षति पुगेको छ । रासस