प्रस, वीरगंज, २९ साउन/
बारा जिल्ला, विश्रामपुर गाउँपालिका–५ इटियाहीका कक्षा ९ मा अध्ययनरत राजकुमार ठाकुरको बीभत्स हत्याको विरोधमा आइतवार वीरगंजमा प्रदर्शन गरिएको छ ।
हत्याराहरूलाई हदैसम्मको कारबाई हुनुपर्ने मागसहित स्थानीय प्रहरी र प्रशासन कार्यालयअगाडि विश्रामपुरवासीले आज बिहान प्रदर्शन गरेका हुन् ।
पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले विज्ञप्ति जारी गर्दै ठाकुरको हत्यामा संलग्न दुईजना साउन २७ गते पक्राउ परेको र उनीहरूमाथि अपहरण तथा शरीर बन्धक तथा ज्यानसम्बन्धी कसूर मुद्दामा अनुसन्धान भइरहेको बताएका छन् ।
प्रवक्ता कार्कीले विश्रामपुर गापा–५ बस्ने २८ वर्षीय उत्तम पटेल र ३० वर्षीय प्रीतम पटेललाई पक्राउ गरिएको पुष्टि गरेका छन् । उनले साउन २४ गते बिहान ९ बजे ठाकुर साइकलमा चढेर ट्युशन पढ्न जाँदै गर्दा वीरगंज महानगर–१६ नगवाबाट बेपत्ता भएको, निजका पिता मोतीलाल ठाकुरले प्रहरीमा खोजतलाशको लागि निवेदन दिएको र खोजतलाशको क्रममा पटेल दाजुभाइलाई प्रारम्भिक सोधपूछ गर्दा निजहरूले ठाकुर र आफ्नी बहिनीबीच प्रेम सम्बन्ध रहेको शङ्कामा ठाकुरलाई आफ्नो टेलरमा लगी कर्तव्य गरी मारेको स्वीकार गरेको बताए ।
उनले पटेल दाजुभाइले दिएको बयान अनुसार हत्यापछि निजको शवलाई ना.३८प ४३९५ नम्बरको मोटरसाइकलमा बोराभित्र राखेर बोलबमको लुगा लगाएर आफूहरू मोटरसाइकल चलाएर गएको र रक्सौल स्टेशननजीक मुजफ्फरपुर जाने रेलको शौचालय छेउको खाली ठाउँमा शव छाडेर आएको बताएका थिए ।
प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद सिंहको कमान्डमा गएको टोलीले भारतीय प्रहरीसँग समन्वय गरेर शनिवार शव बुझेर ल्याएको र शल्यपरीक्षणको लागि नारायणी अस्पतालमा राखिएको छ ।