प्रस, वीरगंज, २९ साउन/

मधेस प्रदेश सरकारका मुख्यमन्त्रीसहित मन्त्रीहरूले आइतवार केन्द्र सरकारविरुद्ध दुई घण्टा धर्ना दिएका छन् ।

केन्द्र सरकारलाई प्रहरी समायोजन गर्न दिएको एक साताको समयसीमा सकिएपछि आजदेखि एक सातासम्म दैनिक बिहान ११ देखि दिउँसो १ बजेसम्म धर्ना दिने हिजो पत्रकार सम्मेलनमार्फत कार्यक्रम सार्वजनिक गरिए अनुसार आजदेखि प्रदेशप्रमुख कार्यालय प्राङ्गणभित्र मुख्यमन्त्री लालबाबूराउत गद्दीको नेतृत्वमा मन्त्रीहरू धर्नामा बसेका हुन् ।

मुख्यमन्त्री गद्दीसहित भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, गृह तथा सञ्चार मन्त्री भरत साह, राज्यमन्त्री रूबी कर्ण, खानेपानी तथा ऊर्जा मन्त्री ओमप्रकाश शर्मालगायतका मन्त्री एवं प्रदेशसभा सदस्यहरू धर्नामा बसेका थिए ।

प्रहरी समायोजन गरी प्रदेश सरकार लाई हस्तान्तरण गर्न प्रधानमन्त्रीसँग भेट गरी आग्रह गरेको, आन्दोलनकै अल्टिमेटम दिएर प्रदेशप्रमुखमार्फत ज्ञापन पठाउँदासमेत ध्यान नदिएको भन्दै आजदेखि धर्ना दिइएको हो । एक सातासम्म दुई घण्टा धर्ना दिने र यो समयमा पनि प्रहरी समायोजनको माग सम्बोधन नभए दोस्रो चरणको आन्दोलन एक सातापछि घोषणा गरिने मधेस प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here