प्रस, परवानीपुर, २८ साउन/
बारा, विश्रामपुर गाउँपालिका–५ इटियाही अहिले तनावपूर्ण छ । कारण सोही टोलका १५ वर्षीय राजकुमार ठाकुरको बीभत्स हत्या हो । नेपाल राष्ट्रिय आधारभूत विद्यालय इटियाहीमा कक्षा ९ मा अध्ययनरत राजकुमारको गत मङ्गलवार दिउँसो हत्या गरिएको घटनाले अहिले पीडित पक्ष र हत्या गर्ने परिवारजनबीच झडप हुने अवस्था सृजना भएको छ । जसको कारण अहिले सो गाउँको सुरक्षा प्रबन्ध कडा पारिएको छ ।
इटियाहीकै प्रीतम पटेल र उत्तम पटेलकी भतिजीसँग राजकुमारको प्रेम सम्बन्ध रहेको आशङ्कामा प्रीतम र उत्तम मिलेर राजकुमारको मनसायपूर्ण हत्या गरेको रहस्य खुलेको छ । मङ्गलवार बिहान ९ बजे कोचिङ पढ्न वीरगंज–१६ नगवा आउँदा प्रीतम र उत्तमले फकाई फुलाई राजुकुमारलाई नगवा चोकमैं रहेको उत्तम टेर्लसमा लगेका थिए । सो कुरा ट्युशन सेन्टर बाहिरको सिसिटिभी फुटेजमा देखिएपछि बारा प्रहरीले दुवैलाई बुधवार नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । प्रहरीको बयानमा दुवैले राजकुमारलाई टेलर्समा लगेर हातमुक्का प्रहार गरी बेहोश बनाएको र त्यसपछि तारले घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन् ।
हत्यापछि मङ्गलवार दिउँसो बोलबमको टिसर्ट लगाएर बोरामा लाश राखेर मितेरी पुल हुँदै रक्सौल रेल्वे स्टेशनमा लगेर सुलतानगंज जाने रेलमा शव राखेर अभियुक्तहरू घर फर्केका थिए । शुक्रवार बिहान उक्त शव भारत, बिहारको भागलपुर रेल्वे स्टेशनमा भारतीय प्रहरीले बरामद गरेपछि बारा प्रहरीलाई खबर गरेको थियो ।
शवको नारायणी अस्पतालमा पोस्टमार्टमपछि दाहसंस्कारको लागि परिवारको जिम्मा लगाउने बारा प्रहरीले जनाएको छ । उक्त घटनाले पीडित परिवार शोकमा छ भने हत्या गर्ने परिवारका सदस्यहरू फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए ।