नरेश यादव, पर्सागढी, २८ साउन/

किसानहरूले लगाएको धान बालीमा गबारो कीराको प्रकोप शुरू भएको छ । यो कीराले मुख्यतः धान गुब्बो (पिका) लाई नै काटन थालेको छ । जसले गर्दा धानको बोट डढेको जस्तो देखिन थालेको छ । किसानहरूले कीराको प्रकोपबाट बाली बचाउन धानबालीमा नागराज ५०५ औषधि छर्किरहेका छन् ।

पर्सागढी नगरपालिका कृषि शाखा प्रमुख राजकुमार खत्रीका अनुसार यो कीरा वयस्क अवस्थामा विभिन्न आकार प्रकारको पुतली हुन्छ, लाभ्रेहरू पिका पहेंला अथवा गुलाबी रड्ढा र शरीरमा धर्का भएका हुन्छन् । यिनीहरू बिरुवाको डाठभित्र रहन्छन् । बिरुवा कलिलो अवस्थामा भए मृत गावा देखिन्छ । बिरुवाको फूल फुल्ने अवस्थामा आक्रमण भएमा भुस मात्र भएको सेतो बाला देखिन्छ । यो कीराको प्रकोपबाट जोगिन प्रत्येक वर्ष धान काटिसकेपछि ठुटा निकाली डढाउन उनले सुझाए । यसैगरी धान खेतको आलीमा भटमास लगाउनुपर्छ यसले पनि कीरा नियन्त्रण हुने उनको भनाइ छ ।

धानमा कारटाप हाइड्रोक्लोराइड फोर जिआर अथवा फिप्रोनिल जिरो–थ्री–जिआर यी दुवै औषधिमध्ये एउटा प्रतिकठ्ठा पाँच सय ग्रामका दरले युरिया मलमा मिसाई छर्न सकिन्छ । यसको प्रयोग गर्दा खेतमा दुई तीन इन्च पानी हुनुपर्ने कृषि शाखा प्रमुखले सल्लाह दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here