प्रस, वीरगंज, २५ साउन/

जिल्ला प्रहरी कार्यालय, बाराले महागढीमाई नगरपालिकाका दुईवटा वटामा सञ्चालित १७ वटा अवैध घरेलु मदिराभट्टीमा छापामारी गरेको छ ।

बुधवार प्रहरीले दिउँसो साढे चार घण्टा लामो छापामारी गरी महागढीमाई नपा–३ र १० मा सञ्चालित १७ वटा अवैध मदिराभट्टीबाट १० हजार लिटर तयारी र ८० हजार लिटर कच्चा मदिरा बरामद गरी नष्ट गरेको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए । उनले सूचनाको आधारमा छापामारी गरिएको र ४५ जना प्रहरीको टोली परिचालित गरिएको बताए ।

अवैधरूपमा सञ्चालित घरेलु मदिरा उत्पादनकर्ताहरूले पक्की भूमिगत मदिरा सञ्चय गर्ने टङ्कीहरू बनाएका र ती टङ्कीहरूमा रहेका मदिरा पनि नष्ट गरिएको बताए ।

प्रहरीले मदिरा उत्पादनमा प्रयोग हुने मेशिन, भाँडाकुँडाहरू नियन्त्रणमा लिएको जानकारी गराएको छ । बारा जिल्लामा  यति ठूलो परिमाणमा घरेलु मदिरा नष्ट भएको पहिलो घटना भएको बताइन्छ ।

भारतको बिहारमा मदिरा निषेधित भएपछि सीमावर्ती नेपालबाट मदिराको अवैध कारोबार बढेको हो । सोही क्रममा महागढीमाई नपामा अवैध मदिराभट्टीहरूमा ठूला परिमाणमा घरेलु मदिराको उत्पादन शुरू भएको र यहाँ उत्पादित घरेलु मदिरा सीमापारि भारतका विभिन्न स्थानमा पठाउने गरिएको स्थानीयहरूले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here