प्रस, निजगढ, २० साउन/
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको लापरवाहीका कारण निजगढ नगरपालिकामा पाँच दिनदेखि समस्या जटिल बन्दै गइरहेको छ ।
मन्त्रालयले साउन ११ गते सचिवस्तरको निर्णयलाई उल्टाउँदै साउन १५ गते मन्त्रालयले सुमनकुमार कार्कीलाई पुनः प्रमुख प्रशासकीय अधिकृतमा बहाली गरेपछि नगरप्रमुख सुरथ पुरीले कार्कीलाई कुनै हालतमा हाजिरी नगराउने अडानका साथ कार्यकक्षमा तालाबन्दी गरेपछि समस्या लम्बिंदै गएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयले निजगढ नपामा कार्यरत कार्कीलाई पचरौता नगरपालिकामा र मकवानपुरको थाहा नगरपालिकामा कार्यरत हरिलाल पुरीलाई निजगढ नगरपालिकामा सरुवा गरिएको थियो ।
सोको पाँच दिन नपुग्दै प्रमुख प्रशासकीय अधिकृत पुरीलाई मन्त्रालय तानी निजगढ नपामा कार्कीलाई पुनर्बहाली गरेसँगै नेकपा एमालेबाट विजयी भएका जनप्रतिनिधिहरू नगरप्रमुख पुरी, उपप्रमुख सोममाया थिङलगायत नेता, कार्यकर्ताहरूले मन्त्रालयले समस्या खडा गरिदिएको भन्दै मन्त्रालयले नै यसको उचित निकास अविलम्ब निकालिदिनुपर्ने बताएका छन् ।
प्रमुख प्रशासकीय अधिकृतको कोठामा तालाबन्दीका कारण नेपाल सरकारको मापदण्ड अनुसार कर्मचारीहरूको दैनिक हाजिरी गर्न जडान गरिएको इलेक्ट्रोनिक्स बायोमेट्रिक यन्त्रमा हाजिरी गर्नबाट कर्मचारीहरू वञ्चित भएका छन् । अहिले पुरानै शैलीमा रजिस्टरमा हाजिरी गरिंदैछ । प्रमुख प्रशासकीय अधिकृतको कोठामा सिसिटिभीको लाइन छ, जसलाई नगरप्रमुख पुरीको निर्देशनमा अवरुद्ध पारिएको छ ।
हाम्रो मन्त्रालयसँगको असहमति हो । एक साता पनि नबित्दै प्रमुख प्रशासकीय अधिकृत फेरबदल गरिदिने कार्य अशोभनीय र प्राकृतिक नियमभित्र नपर्ने भएकाले अप्राकृतिकरूपमा पुनर्बहाली भएका कार्कीलाई कार्यालयमा हाजिरी गराउन नसकिने नगरप्रमुख पुरीले बताए ।
मन्त्रालयको यस्तो कार्यले स्थानीय तहमा उपसचिवहरूको सरुवामा राजनीतिक शक्ति, दाउपेच हुने गरेको स्पष्ट झल्किएको देखिन्छ ।
प्रमुख प्रशासकीय अधिकृत कार्कीले रवानापुर्जी नबुझ्दै हतारमा उपसचिव हरिलाल पुरी आउनुमा पनि राजनीतिक गन्ध प्रस्ट देखिएको राजनीतिककर्मीहरू बताउँछन् । मन्त्रालयबाट सरुवापुर्जी निजगढ नपामा आई नपुग्दै उपसचिव पुरीलाई हाजिरी गराइएको एक स्रोतले नाम उल्लेख नगर्ने शर्तमा दाबी गरेको छ । तर निमित्त प्रमुख एवं लेखा अधिकृत शिवप्रसाद देवकोटाले मन्त्रालयबाट पत्र आएकोले पुरीलाई हाजिरी गराइएको बताए ।
आफूलाई मन्त्रालयमा तानेको र कार्कीलाई बहाली गरी निजगढ नपामा पठाइएकोले नगरपालिकाको कामकाजका लागि आफू निजगढ आउन नमिल्ने उपसचिव पुरीले फोन सम्पर्कमा बताएका थिए ।
निजगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा कार्की पुनर्बहाली भई आइसकेकाले हाजिरी गराइ दैनिक कामकाज अघि बढाउनुपर्ने पक्षमा स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिहरूको भनाइ छ । निजगढ नपामा गठबन्धनबाट निर्वाचित भएका जनप्रतिनिधिहरूको बहुमत छ ।