टोकियो, जापान, २० साउन/एएनआई
जापानी प्रधानमन्त्री फुमियो किशिदा र भ्रमणरत अमेरिकी सदनका सभामुख न्यान्सी पेलोसीले अमेरिकी प्रतिनिधिमण्डलको ताइवान भ्रमणपछि बढ्दो तनावका बीच ताइवान क्षेत्रमा शान्ति र स्थिरताको महŒवमा जोड दिएकी छन् ।
“हामी ताइवान स्ट्रेटमा शान्ति र स्थिरता सुनिश्चित गर्न सँगै काम गर्नेछौं,” किशिदाले पेलोसीसँगको भेटपछि सो कुरा उल्लेख गरेको क्योडो न्यूजले जनाएको छ । “चीनको व्यवहारले यस क्षेत्र र विश्वको शान्ति र स्थायित्वमा गम्भीर असर पारेको छ र हामीले चीनलाई त्यस किसिमका अभ्यास तत्काल रोक्न आह्वान गरेका छौं,” उनले भने ।
जापान सरकारले बिहीवार आफ्नो विशेष आर्थिक क्षेत्रमा चिनियाँ सेनाले पाँचवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको घटनाप्रति निन्दा गर्दै यसलाई अत्यन्त जबरजस्ती कार्यको रूपमा चित्रण गरेको छ । सभामुख पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियामा चीनले लाइभ फायर ड्रिलहरू सञ्चालन गरिरहेको छ । चीनले हिजो मात्रै प्रक्षेपण गरेको क्षेप्यास्त्र ओकिनावाको दक्षिणी प्रान्तको हातेरुमा टापुको दक्षिणपश्चिममा रहेको क्षेत्रमा खसेको थियो ।
जापानको क्योडो न्यूजले टोकियोले बेइजिङलाई तुरुन्तै सैन्य अभ्यास बन्द गर्न भनेको विषय उल्लेख गरेको छ । “यो एउटा गम्भीर मुद्दा हो, जुन हाम्रो देशको राष्ट्रिय सुरक्षा र जनताको सुरक्षासँग सम्बन्धित छ,” रक्षामन्त्री नोबुओ किशीले बिहीवार बताए ।
फुमियो किशिदा सरकारले चिनियाँ सरकारसमक्ष कूटनीतिक विरोध जनाइसकेको छ । अगस्त ४ मा चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी जलक्षेत्रमा थुप्रै ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ, जसले ताइवानको राष्ट्रिय सुरक्षालाई खतरामा पारेको छ र यस क्षेत्रमा क्षेत्रीय तनाव पनि बढाएको छ ।
लाइभ फायर ड्रिलहरू टापुको वरिपरि रहेका विभिन्न सात क्षेत्रमा शुरू गरिएको छ । चिनियाँ पिएलएले ताइवानको जल र हवाई क्षेत्रनजीक संयुक्त लडाइँ प्रशिक्षण अभ्यास आयोजना गरेको सिन्ह्वा समाचार एजेन्सीले यसअघि नै जनाइसकेको छ । बढ्दो सैन्य गतिविधिले यस क्षेत्रको राजनीतिक र सामरिक सन्तुलनमा फेरबदल आउन सक्ने देखिन्छ । यसैबीच ताइवान सरकारले अन्तर्राष्ट्रिय समुदायलाई ताइवानमाथि चीनको सैन्य दबाबको निन्दा गर्न आग्रह गरेको छ ।
सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको जवाफमा सैन्य अभ्यासको रूपमा गरिएको जापानको विशेष आर्थिक क्षेत्रमा चीनको मिसाइल प्रक्षेपणको पनि संयुक्त राज्य अमेरिकाले निन्दा गरेको छ ।
राष्ट्रिय सुरक्षा परिषद्का रणनीतिक सञ्चार संयोजक जोन किर्बीले बिहीवार एक ब्रिफिङमा भनेका छन– “हामी यी कार्यहरूको निन्दा गर्छाैं, जुन गैरजिम्मेवार छन् । यी कार्यहरू ताइवान स्ट्रेटमा शान्ति र स्थिरता कायम गर्ने हाम्रो लामो समयदेखिको लक्ष्यसँग बाझिएको छ ।”
पेलोसीको यो भ्रमण सन् १९९७ मा न्युट गिंगरिचद्वारा ताइवानमा गरिएको भ्रमणपछि २५ वर्षको अन्तरालमा भएको हो । रासस